६ कार्तिक २०७८ शनिबार
भिडियो

काठमाडौँको कथा, सिसडोलको व्यथा

त्यति बेला भानुभक्तले सुन्दर काठमाडौँलाई देखेर लेखेका थिए ‘अलकापुरी कान्तिपुरी नगरी’ । भानुभक्त यति बेला काठमाडौँ छिरेको भए लेख्थे होला ‘फोहोरपुरी कान्तिपुरी नगरी’। किनकी अहिले राजधानीको यततत्र केही देखिन्छ त, त्यो हो फोहोर। सहरका खाली कुनामा सौन्र्दय झल्कनुपर्ने होे । तर त्यहाँ त केवल, केवल फोहोरका डंगुर मात्र देखिन्छ।  

फोहोर व्यवस्थापन गर्ने ठाउँको राम्रो विकल्प नहुँदा दशकौंदेखि राजधनी फोहोरको समस्या व्यहोर्न बाध्य छ। सुरुमा मुलपानी त्यसपछि सिसडोलमा फ्याकिँदै आएको फोहोर स्थानीयका अवरोधका कराण रोकिन पुगेका छन्। बर्षातको हिलोमा थुप्रिएको फोहोर सुन्दर नगर दुर्गन्धित नगरमा परिणत हुँदैछ।  

१६ वर्षदेखि सिसडोलबासी फोहोरको कहर सहन बाध्य छन् भने उनीहरूको जीवन र उक्त ठाउँको पर्यावरण ‘नर्क’ बन्दै छ। त्यहाँका फाँटहरूमा हावा बयली खेलिरहेको हुनुपर्ने हो। विडम्बना रातदिन फोहोरका गाडीको लावालस्कर मात्रै देखिन्छ। भुसुना र झिँगाको भुनभुनाहट सुनिन्छ। नाकै पोल्ने दुर्गन्ध र अमिलो रागले सासै फेर्न मुश्किल हुन्छ। सिसडोल, कागती गाउँ, कोल्पु बजार, सिम्खडा गाउँ, घर्ती गाउँ र वरपरका गाउँका बासिन्दाको नाकमा गन्ध सिवाय केही पर्दैन। प्राकृतिक सुवास कस्तो हुन्छ, उनीहरूले भुलिसके।

मानिस होस् या भौतिक पुर्वाधार आफ्नो क्षमताभन्दा बढी कर्तव्य बहन गर्न सक्दैन तर सिसडोल ल्याण्ड फिल्ड साइटले ३ वर्षसम्मको फोहर व्यवस्थापनको क्षमताको भारी १६ वर्षसम्म बोकाइएको छ। अस्थाई रुपमा बन्चरेडाँडाको विकल्प भनी विक्रम संवत् २०६२ जेठ २२ गतेबाट परीक्षणका रूपमा ल्यान्डफिल साइट बनाइएको सिसडोललाई काठमाडौँले फोहोरको डोल बनाइदियो।

४ सय रोपनी क्षेत्रफलको यो स्थानमा निर्माण ताका २ लाख ५० हजार मेट्रिक टन फोहर व्यवस्थापन गरिने लक्ष्य रािखएको थियो तर अहिले सामान्य अवस्थामा काठमाडौँ उपत्यकाबाट दैनिक करिब १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ। काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार सबैभन्दा धेरै काठमाडौँ महानगरपालिकाबाट ५१६ र ललितपुर महानगरबाट १३० मेट्रिक टन फोहोर उत्सर्जन हुन्छ। उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुरबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पुर्याइन्छ। यसबाहेक सगरमाथाको ४ टन फोहोरसमेत ल्यान्डफिल साइटमा नै व्यवस्थापन गरिन्छ।

धादिङ र नुवाकोट जिल्लाको सीमानाका रुपमा रहेको छ बन्चरेडाँडो। यही डाँडाको १ हजार ७ सय ९२ रोपनी क्षेत्रफल बराबरको जमिन अधिग्रहण गरेर फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रमार्फत् संरचना निर्माण सुरु गरिएको थियो। आर्थिक वर्ष २०५२/५३ बाट सुरु गरिएको निर्माण कार्य ३ वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि अपेक्षाकृत रुपमा काम हुन सकेन।

बन्चरेडाँडामा निर्माणमा भएको ढिलासुस्ती, परिवर्तित राज्य संरचनाका कारण प्राविधिक सहयोग केन्द्रको क्षेत्राधिकारमा भएको कटौती, सिसडोलको व्यवस्थापकीय क्षमतामा भएको क्षय लगायतका कारणले बन्चरेडाँडामा पूर्वाधार निर्माणका लागि नयाँ निर्णय गरियो। तत्पश्चात तीन वर्षको अवधिमा दीर्घकालिन ल्यान्डफिल साइट बन्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन सुरुवात गर्ने लक्ष्य थियो। तर, लक्षित समयको १३ वर्षपछि अर्थात् अहिले २०७८ सालसम्म पनि बन्चरेडाँडाको पूर्वाधार बनेको छैन।

पछिल्लो समय विक्रम सम्वत् २०७५ पुष ३ गतेको मन्त्रिपरिषद्को निर्णयले बन्चरेडाँडामा पूर्वाधार निर्माणको जिम्मा शहरी विकास मन्त्रालयलाई सुम्पियो । पूर्वाधार निर्माणको जिम्मा पाएसँगै मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागमार्फत अहिले पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिदै छ । यसको विकल्पका रुपमा अघि सारिएको सिसडोल देखि करिब २ किलोमिटर दुरीमा रहेको बन्चरेडाँडामा फोहर व्यवस्थापनकालागि पुर्वाधारको काम अझै निर्माणधिन अवस्थामा छ।  

काठमाडौंको फोहोर व्यवस्थापनबारे राजधानीका अधिकांश जनतालाई यथार्थ थाहा छैन। एक दिन काठमाडौंमा फोहोर उठेन भने छ्या भनेर नाक खुम्च्याउनेको संख्या हजारमा होइन लाखमा हुन्छ। त्यही फोहोरको दुर्गन्धमा एक दशकभन्दा बढी समय बिताएका कोल्पुका स्थानीयले भने दुर्गन्ध भयो भन्न जाने ठाउँ अझै भेट्टाएका छैनन्। दुगन्धसँगै चिल र गिद्धले दिएको दुख, बाली लगाउँदा बोट अग्लो हुने तर दाना नलाग्ने, सिसडोलको पानी खाँदा गाईगोरु मर्ने, लुतो र खटेर आउने, मिर्गौला र अर्बुदका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ।

निश्चित रूपमा देशको राजधानी सफा होस् भन्ने हामी सबैको चाहना हो। तर राजधानी सफा राख्ने नाममा सिसडोलका जनताले भोकेको समस्या प्रति सरकारले नजरअन्दाज गर्न मिल्दैन।

प्रकाशित: १५ आश्विन २०७८ १७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App