४७ वर्षअघि नेपाल छोडेका बलबहादुर भण्डारी सोमबार नेपाल आइपुगेका छन्। ८ वर्षको उमेरमा बर्दियाको सीतापुरबाट भारत गएका बलबहादुरले ४७ वर्षको अन्तरालमा नेपाली धर्तीमा पाइला टेकेका हुन्।
बाल्यकालमा छोडेको आफ्नो जन्मभूमि नेपाल फर्कन पाउँदा निकै खुसी मुद्रामाा देखिए। लामो वर्षको अन्तराल पछि नेपाल फर्कन पाउँदा खुसी लागेको उनले सुनाए। चार वर्षअघि सन् २०१७ अप्रिल २६ मा आफ्नो सामुद्रिक जलक्षेत्रभित्र अबैध रुपमा प्रवेश गरेको भन्दै पाकिस्तानी नेभीले बलबहादुरलाई थुनामा राखेको थियो।
भारतको गुजरात क्षेत्रमा माछा मार्दै जाँदा सामुद्रिक जलक्षेत्र सीमा (लाइन अफ कन्ट्रोल) नाघेर थाहै नपाई अर्को भूभागमा पुगेपछि भारतीय र पाकिस्तानी सेनाले एकअर्का देशका नागरिकलाई थुनामा राख्दै आएका छन्। त्यसबेला एक दर्जन भारतीय मछुवारको टोलीसँगै उनी पनि कराँची जेलमा (डिस्टिक प्रिजन एन्ड करेक्सनल फ्यासिलटी) थुनिएका थिए।
बलबहादुर नेपालका नागरिक भएपनि उनीसँग परिचय खुलाउने कुनै पनि नेपाली कागजात थिएन। त्यसकारणले पनि उनी थुनामुक्त हुन निकै समय लाग्यो। उनलाई आफ्नो, एक जना भाइ र बुवाको नाम बाहेक आफू जन्मेको स्थान मात्रै थाहा थियो। त्यसकै आधारमा इस्लामाबादस्थित नेपाली दूतावासले बलबहादुरलाई घर फर्काउने पहल गरेको थियो। मंगलबार उनी भाइ गुमानसिंह भण्डारीसँगै आफ्नो जन्मथलो फर्केका छन्।
प्रकाशित: १६ भाद्र २०७८ ०७:१९ बुधबार




-600x400.jpg)
