३० आश्विन २०७८ शनिबार
भिडियो

चर्चामा एउटा आशिक

पछिल्लो समय निकै चर्चामा रहेको नाम हो आशिक झा। हुन त आशिकले न कुनै राष्ट्रिय प्रतियोगिता जितेका हुन्। न त राष्ट्रका लागि पदक नै। न त उनी कलाकार हुन्, न त एक्कासी उदाएका नेता नै।  

चिकित्सा शिक्षा आयोगले गत बिहीबार सार्वजनिक गरेको एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजामा शीर्षस्थानमा नाम निकाल्न सफल भएका हुन् आशिक। शीर्षस्थानमा नाम निकालेसंगै आशिक अहिले चर्चामा छन्।

दुई सय पूर्णाकंको एमबीबीएस प्रवेश परीक्षामा आशिकले एक सय ८६ अंक प्राप्त गरेका छन्। बाह्य रुपमा हेर्दा आशिक चर्चित हुनुको कारण यति मात्रै हो।  

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा हुनु र नतिजा प्रकाशन हुनु विगतमा झै यस वर्ष पनि नियमित प्रक्रिया नै हो। तर यो वर्ष आशिकको यति धेरै चार्चा हुनु कारण के हो त? उनी भन्छन्, 'मेरो ब्याकग्राउड', अर्थात् उनको पृष्ठभूमि।

सधै आफ्नो परिश्रममा विश्वास राख्ने र पढाइलाई गम्भिरता पूर्व लिने आशिकका लागि पछिल्लो सफलता सामान्य जस्तै थियो। धनुषा जिल्लाको सबैला नगरपालिका गेरुवाही खरिहानी गाउँमा जन्मिएका उनी निम्नवर्गीय परिवारबाट आएका हुन्। सरकारी विद्यालयका अस्थायी शिक्षक उनका बुबाले केही वर्ष अगाडि जागिरबाट हात धुनु पर्‍याे। अहिले बुवाले किसानी गर्छन् भने आमा गृहिणी हुन्। दुई दाजुभाइ भएका आशिक घरका छोरा हुन्।

सुरुवाती शिक्षादेखि नै सरकारी विद्यालयमा अध्ययन गरेका आशिकले पछिल्लो समय काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा विज्ञान विषय लिएर कक्षा ११ र १२ पढे। गत वर्षको परीक्षामा ३ दशमलव ७३ जीपीए ल्याएर उनले कक्षा १२ उत्तीर्ण गरे। यसअघि आशिकले जनकपुरको श्री माध्यमिक विद्यालयबाट २०७४ सालको परीक्षामा ३ दशमलव ७ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेका थिए। उनको चर्चा भित्रको रहस्य नै यही तथ्य भित्र लुकेको छ।  

उनी भन्छन्, ‘सरकारी विद्यार्थीले गर्न नसक्ने भनिएको कुरा प्रमाणीत गरे। अहिलेसम्मकै सर्वोत्कृष्ट नम्बर ल्याए। यहि कुरा हो म चर्चित भएको कारण।’

माध्यामिकसम्मको शिक्षा जनपुरमा पूरा गरेका आशिक उच्च शिक्षाका लागि काठमाडौंको सेन्ट जेभियर्स कलेजमा नाम निकालेका थिए तर भर्ना भएर पढ्न भने पाएनन्। परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनको जेभियर्स कलेज पढ्ने सपना अधुरै रह्यो। गन्तव्य जाने बाटो बद्लियो होला तर गन्तब्य भने बद्लिएन।

आफूसँग भएको सीमित स्रोतसाधनलाई अधिकतम प्रयोग गर्दै गन्तब्यको बाटोमा निरन्तर पाइला चालिरहे आशिकले। कडा परिश्रम र लगनशिलताका कारण उनले सफलताको बाटोमा सुनौलो ढोका उघारेका छन्, धनलाई विद्याले पराजित गर्दै। सफलताको श्रय उनी आफ्ना शिक्षक, बुबाआमा र आफूसँगै बस्ने दाजुलाई दिन दिन्छन्।  

बिहीबार राति सार्वजनिक भएको नतिजाले उनको धैर्यताको सीमा नाघेको थियो। ‘रातभर निन्द्रा लागेन। बुबाआमालाई फोन गरे, मैले पढेको इस्यूच्यूटबाट पनि फोन आयो, उनले भने, अनि बधाई तथा शुभकामनाको दिनेहरुको ओइरो लाग्न थाल्यो। जुन आजसम्म पनि कायमै छ।’  

आफूसँगै पढ्ने साथीभाइदेखि नचिनेका मान्छे र नेता सांसदसम्मले शुभकामना, बधाईका साथै भविष्यमा सहयोग गर्नेसम्मको आश्वासन दिए।

उत्साहले भरिएको मलिन अनुहार। मलिन अनुहारभित्रको मन्द मुस्कान। मन्द मस्कानले गहुँगोरो त्यो उनको वर्णलाई चमकता प्रदान गरेको थियो। मायालाग्दो मधेसी लवजमा उनी भन्छन्, ‘दाई मेरो बारेमा त अफवा पनि फैलाइयो।’ कसरी भन्ने शब्द भुईमा खस्न नपाउँदै उनी थप्छन्, ‘मिडियालाई त भ्यूज चाहिने रै छ। मैले बोलेका कुरालाई तोडमोड गरेर अतिरन्जित शैलीमा प्रकाशन गरियो।’ कुन कुरामा यस्तो गरे भन्दा उनले खुलेर बोल्न चाहेनन्।  

पछिल्लो समय सामाजिक सञ्जालमा झुम्मी रहने युवा पुस्तामाझ उनी एक्लो वृहस्पति बनेका छन्। १२ कक्षाको पढाई सकेर एमबीबीएसमा जोडिन लागेका १७ वर्ष पार गरेका आशिकले अहिलेसम्म फेसबुक अकाउन्ट खोलेका छैनन्। दाजुसँग कीर्तिपुरमा बस्दै आएका दुई भाइसँग सगोलको श्याम/स्वेत (ब्ल्याक एण्ड ह्वाइट) फोन छ। आधुनिक चिकित्साशास्त्र अध्ययन गर्नअघि बढेका आशिकलाई आधाभूत आवश्यकता बाहेक अन्य कुरामा ध्यान नै दिएनन्।  

विद्यालय र समाजले विद्यार्थीको शिक्षाको अभिवृद्धिमा केही प्रभाव पार्ने भएपनि विद्यार्थी स्वयम् त्यसको पूर्ण जिम्मेवार हुने कुरामा उनी विश्वास राख्दछन्। पढाईमा दिने समयभन्दा शैलीलाई विशेष ध्यान दिएकै कारण अहिलेको सफलतामा पुगेको उनको भनाइ छ। उनी भन्छन्, ‘तपाईँ दैनिक कति घण्टा पढ्नु हुन्छ त्यसले कुनै फरक पर्दैन, पढेको कुरालाई रिभिजन कसरी गर्नुहुन्छ, त्यसले फरक पार्दछ।’ पढ्ने र स्मरण गर्ने शैली सबैको फरक हुने भएकाले आफ्नो प्रकृति अनुसार अध्ययन गर्न उनी सुझाउँछन्।  

‘मैले कहिल्यै पनि रटेर पढिनँ’, विगतको अनुभव सुनाउँदै आशिक भन्छन्, ‘स्कुलदेखि नै कुनै पनि विषय बुझेर अनि बुझेको कुरा लेखेर अध्ययन गर्ने बानीले मलाई सफल हुन सहयोग गर्‍याे। कक्षा नियमित जान्थें। शिक्षकले पढाएको विषयलाई फेरि आफैंले बुझेर पढ्थें। पढाइलाई सहयोग गर्ने विज्ञानका किताब बढी पढ्ने मेरो बानीले धेरै सहयोग गर्‍याे।’  

आशिकले अब सरकारी छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस पढ्ने छन्। आफू डाक्टर बनेपछि स्वास्थ्य सेवातर्फ थप अनुसन्धान गरी नयाँ आयाम ल्याउने लक्ष्य रहेको उनले सुनाए। पढाइको सिलसिलामा भविष्यमा विदेश गए पनि आफ्नै देशमा कर्म गर्ने उनको इच्छा छ। ‘विश्वले स्वास्थ्य सेवातर्फ धेरै ठूलो फड्को मारिसकेको छ’, उनले भने, ‘मैले पनि आफ्नो देशका लागि नयाँ अन्वेषण गरी स्वास्थ्य सेवा सबैको पहुँचमा सहज रुपले पुर्‍याउनेतर्फ काम गर्ने लक्ष्य लिएको छु।’

वाककलामा निपुण छैनन् उनी। शब्दलाई खेलाएर बोल्न जान्दैनन् उनी। सोझो शैलीमा मनमा आएका शब्दलाई जस्ताको त्यस्तै मन्द मुस्कानका साथ पोख्खाइ दिन्छन् उनी। उनले विद्यार्थीको धर्म अङ्गालेका छन्। त्योसँगै गरिबीलाई नजिकबाट नियालेका छन् उनले। विगत र वर्तमानको पृष्ठभूमिमा संघर्ष गर्दै सुनौलो भविष्यका लागि रेखाङ्कन गरेको कार्यदिशा पछ्याई रहेका छन् आशिक।  

फक्रँदै गरेको उमेर। बाल्यकालले नछोडेको त्यो मायालु अनुहार। घुम्ति र चट्टानलाई चिर्दै सफलतामा परिणत हुँदै गरेको वर्तमान। सपना साकार हुँदै गरेको सुन्दर भविष्य। किशाेरावस्थालाई इतिहासमा थाति राख्दै भविष्य निर्माणमा लागेका छन् आशिक झा।

भिडियाेकाे लागि यहाँ जानुहाेस्ः

प्रकाशित: २५ श्रावण २०७८ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App