७ वैशाख २०८१ शुक्रबार
भिडियो

मेलम्ची कहरः निन्द्रा लाग्दैन तिम्बुवासीलाई

असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र त्यसपछि मेलम्ची खोलामा आएको अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुग्यो। बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा क्षेत्र सडक सञ्जाल अवरुद्व भएका छन्। हेलम्बु गाउँपालिकाका नागरिक सडक सञ्जाल र सञ्चारमाध्यमको पहुँचबाट टाढा हुनु परेको छ। बाढीले हेलम्बु गाउँपालिका जोड्ने सडक खण्डका पाँच वटा पक्की पुल बगाएको छ। अहिले हेलम्बुका गाउँहरुमा खाद्यान्न ढुवानीमा कठिनाई भइरहेको छ।  

बाढी–पहिरोबाट विस्थापित  परिवारहरू अहिले त्रिपाल टाँगेर बसिरहेका छन् । कतिपय सामुदायिक भवन, विद्यालयको भवन र कतिपय आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।  

साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस यतिबेला बिचल्लीमा परेका छन् । खोलामा लेदो आइरहेकोले ठूलो पानी परेपछि फेरि बाढी आउने सम्भावना रहेको स्थानीय बताउँछन्।  

यस्ता छन् समस्या  

हेलम्बु गाउँपालिका–१  तिम्बुकी आशा गुरुङ लामा बाढीले करोडौंको सम्पत्ति बगएपछि यतिबेला चिन्तामा छिन् ।  

‘अब कहाँ जाने कहाँ बस्ने कुनै ठेगान छैन । ज्यान त बज्यो तर अब जीवन कसरी चलाउने भन्ने चिन्ता छ’, उनले भनिन् ।  

बाढीले घरसहित भएको जेथो बगाएपछि गुरुङलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले सताएको छ ।  

‘बाल बच्चा सानै छन् । श्रीमानको जागिर छैन’, उनी भन्छिन्,‘अहिले दुःख गरेर सम्पत्ति जोडेका थियौं । अहिले एक टुक्रा बचेन । कसरी बाँच्ने होला ? राति निन्द्रा लाग्दैन् ।’

अहिले केहि संघसस्थाले दिएको राहत सामग्रीले केही सहज भएको गुरुङ बताउँछिन् ।  

अहिले तिम्बुमा तत्कालका लागि जोखिम टरेपनि बाढीको झन  उच्च जोखिम रहेको अर्का स्थानीय छेङ्जाङ्मो ह्यल्मो बताउँछन्।  

‘पानी नपर्दा बस्न सकिन्छ, पानी परेपछि खोलाको आवाजले बस्न सकिँदैन’, उनले भने, ‘राती सुत्ने अवस्था छैन । बेलुका अर्काे ठाउँमा गएर सुत्नु पर्ने बाध्यता छ।’  

तिम्बुमा बाढीले घर नबगाएपनि बस्नलाई जोखिम बढेकोले त्यस क्षेत्रका बस्ती झन जोखिम बढेको उनको भनाइ छ ।  

बाढीले तिम्बुका १ सय ६ घर पूर्ण रुपमा बगाएको छ । त्यस्तै ४ सय घर बाढी पहिरोबाट प्रभावित भएका छन् ।  

खाद्य संकटको सम्भवना  

पुल बगाएपछि आवत–अवात ठप्प बनेको छ । वैकल्पिक खच्ची सडक पहिरोको निकै जोखिम छ । हेलम्बु जोड्ने मेलम्ची खोलाको पुल बगाएपछि दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको  भएको स्थानीय शाङ्गे शेर्पा बताउँछन् ।  

‘खाद्यान्न मात्रै होइन औषधि तथा स्वास्थ्य सामग्रीको पनि अभाव भएको छ’, उनले भने ।  

लगातार वर्षाका कारण वैकल्पिक कच्ची सडकमा पनि ठाउँठाउँमा पहिरो जाने र खाल्डो–हिलो धेरै भएकोले तिम्बुमा राहत सामग्री पुर्याउन समेत निकै संघर्ष गर्नु परेको उनले बताए।

भर्खर मनसुन सुरु भएको बताउँदै तेम्बाथाङ्ग एकीकृत नमूना वस्ती विकास केन्द्रका अध्यक्ष समेत रहेका शेर्पाले भने, ‘अब झन बाढी–पहिराको जोखिम धेरै छ । त्यसैले जनजीवनमा सहजता ल्याउन वैकल्पिक खच्ची सडक मर्मतमा पनि स्थानीय सरकारले ध्यान दिनु पर्छ ।’

त्यस्तै अहिले हेलम्बुको जनजीवन कस्टकर बन्दै गएको अर्का स्थानीय बासिन्दा पेमाटाँसी शेर्पा बताउँछन्।  

‘अहिले चनौटेको रातो पुल मात्रै जोगिएको छ । यो पुल पनि बगाए, सामान ढुवानीको लागि  हेलिकप्टर एक मात्र विकल्प हुनेछ’, उनले भने।  

‘यो पुललाई स्थानीय सरकार तथा सरोकारवालाले समयमै ध्यान नदिए बाढीले पुललाई बगाउने खतरा छ। बाढीले यो पुल बगायो भने हेलम्बुमा भोकमरी लाग्ने खतरा बढेको छ’, उनले भने ।  

के भन्छन् जनप्रतिनिधि ?  

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार तत्कालका लागि विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ ।  

लगातारका वर्षाका कारण वैकल्पिक कच्ची सडक पनि अवरुद्व भएपछि दैनिक उपभोग्य वस्तु ढुवानीमा निकै समस्या भएको उनले बताए।  

‘बाढीले पुल–पुलेसाहरु सबै बगाएको छ। हेलम्बुगाउँपालिका जोड्ने पाँच वटा पक्का पुल बगाएको छ। झोलुङ्गे पुलहरु पनि बगाएको छ’, उनले भने, ‘ यी क्षेत्रमा आवत–जावात ठप्प भएको अवस्था छ। त्यसकारण खाद्यान्न ढुवानी गर्न पनि समस्या भइरहेको छ।’  

बाढीले मानवीय क्षतिसँगै भौतिक संरचनासँगै निकै ठूलो क्षति र्पुयाएको उनले बताए। हेलम्बु जोड्ने सडक खण्डमा तत्कालका लागि बेलिब्रिजको हाल्ने तयारी गरिहेको उनले बताए।  

‘सबै पक्क पुलहरु बगाएकोले तत्कालको लागि बेलिब्रिजको ठूलो खाँचो छ’, उनले भने, ‘बेलिब्रिज हाल्न पनि सजिलो छ। अहिले बेलिब्रिजको लागि डिजाइन तयारी गरिँदैछ। छिटो भन्दा छिटो हेलम्बुको जनजीवनलाई सहजता ल्याउने कोसिस गरिहेका छौं।’

त्यस्तै हेलिकप्टरमार्फत खाद्यन्न सामग्री ढुवानी गरिहेको उनले बताए।

‘हेलम्बु जोड्ने चनौटेको एक मात्र पुल जोगियो। अहिले नदी कटान रोक्न जाली ग्याबिन हाल्ने काम भइरहेको छ’, अध्यक्ष शेर्पाले नागिरक न्यूजसँग भने।  

त्यस्तै विस्थापित परिवारलाई तत्कालका लागि सुरक्षित स्थानमा त्रिपाल टाँगेर राखिएको समेत उनले बताए। क्षति भएकालाई दिर्घाकालिन रुपमा सुरक्षित वास स्थानको व्यवस्था गर्न पनि स्थानीय सरकारले तयारी गरेको उनले बताए। त्यस्तै अहिले हेलम्बुका बाढी प्रवावित क्षेत्रहरुमा विभिन्न संघसंस्थाले पनि राहत सामग्रीहरु वितरण गरिहेको उनको भनाइ छ।  

प्रकाशित: १५ असार २०७८ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App