१२ आश्विन २०८३ सोमबार
image/svg+xml
अर्थ

१३ सय मेगावाट विद्युत् पूर्वाधारमा क्षति

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र  चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। संरचनामा पुगेको क्षतिका कारण केही स्थानमा विद्युत् आपूर्ति सेवा अवरुद्ध भएको छ।

त्यस्तै केही विद्युत्गृहको उत्पादन प्रभावित भएको छ। लगातार चार दिनसम्म भएको वर्षा र बाढीपहिरोले पोखरा, बुटवल, हेटौंडा र काठमाडौं उपत्यकामा विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विभिन्न प्रसारण लाइन, उत्पादन र लोड अवरोधका कारण करिब १ हजार ३०३ मेगावाट विद्युत् प्रणालीमा असर पुगेको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्म टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ।

त्यस्तै कुश्मा–नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत समस्या आएको छ। यसबाट कालीगण्डकी करिडोर प्रसारण लाइनमा जोडिएका करिब ३५८ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।

बाढीपहिरोको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, मोदीलगायत जलविद्युत् आयोजनाको उत्पादन सुरक्षाका दृष्टिले बन्द गरिएको छ।

बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति र क्षतिग्रस्त संरचना मर्मतका लागि प्राविधिकसहितको मर्मत टोली परिचालन गरिएको छ।

मन्त्रालयले सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण÷वितरण संरचनामार्फत विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

मन्त्रालयका अनुसार बाढीपहिरो र अवरुद्ध सडकका कारण केही क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ। सडक तथा पहुँचमार्ग खुल्नासाथ थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको कार्य तीव्र बनाइने छ।

प्राकृतिक विपद्का कारण प्रभावित विद्युत् आपूर्ति यथाशीघ्र गर्न नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ। पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा आइतबार विद्युत् प्रणालीमा अवरोध देखिएको छ।  

सबैभन्दा धेरै प्रभाव गण्डकी क्षेत्रमा

कुश्मा–नयाँ बुटवल २२० केभी प्रसारण लाइनमा समस्या आएपछि करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ। रौघाट–दाना लाइन १ र २ मा भएको अवरोधबाट करिब १५५ मेगावाट प्रभावित भएको छ।

बाढीले कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायत जलविद्युत् आयोजनाको उत्पादन तथा आपूर्ति प्रभावित भएको छ।

पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्र ४०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमतामा असर परेको छ। वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमा क्षति पुग्दा ३५८ मेगावाट बढी विद्युत् उत्पादन ठप्प भएको छ।

म्याग्दी र पर्वत जोड्ने दाना–कुश्मा खण्डमा क्षति पुगेपछि सो करिडोरमा जोडिएका १२ वटा जलविद्युत् आयोजनाको विद्युत् प्रवाह रोकिएको हो। राष्ट्रिय प्रसारण प्रणालीबाट एकै पटक ठुलो परिमाणमा विद्युत् बाहिरिँदा व्यवस्थापनमा चुनौती थपिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीपहिरोका कारण ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनासहित निजी क्षेत्रका अन्य ठुला तथा साना आयोजनाबाट विद्युत् उत्पादन रोकिएको छ। उत्पादन बन्द भएका जलविद्युत् आयोजनाहरूमा ७१ मेगावाट निलगिरी–२, ४८.५ मेगावाट माथिल्लो राहुघाट, ४२ मेगावाट मिस्त्री खोला, ४० मेगावाट राहुघाट, ३८ मेगावाटको निलगिरी–१, ३५.५ मेगावाटको राहुघाट मंगले, २२.५ मेगावाटको माथिल्लो ठुलोखोला, २१.३ मेगावाटको ठुलोखोला, १४ मेगावाटको घारखोला, १३.६ मेगावाटको थापाखोला, ६ मेगावाटको रेलेखोला र ५ मेगावाटको घलेम्दी छन्।

यसैगरी राहुघाट क्षेत्रको नयाँ बुटवल–कुस्मा २२० केभी लाइनमा आएको फाल्टका कारण करिब ११० मेगावाट विद्युत् प्रभावित भएको छ। चापर–पथलैया १३२ केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह नहुँदा कावासोती सबस्टेसनमा कटौती गरिएको छ।

हेटौंडा क्षेत्रमा पनि बाढीले विद्युत् प्रणालीमा असर गरेको छ। माण्डु हाइड्रोपावरको ६६ केभी प्रसारण लाइनमा समस्या भएपछि करिब ३२ मेगावाट विद्युत् प्रभावित भएको प्राधिकरणले जनाएको छ।

त्यस्तै कावासोती–भारतपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा सिभिटी जलेपछि विद्युत् आपूर्तिमा समस्या भएको छ। सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगन्ज, परवानीपुर तथा वीरगन्जका उद्योगमा करिब ८० मेगावाट र काम्ने सबस्टेसन तथा उद्योगमा  करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति तथा क्षतिग्रस्त संरचना मर्मतका लागि प्राविधिकसहित मर्मत टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए।

प्रकाशित: १२ आश्विन २०८३ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App