राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । बुधबार नागरिक न्युजको फ्रन्टलाइनमा बोल्दै उनले राजनीतिक संकट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताएका हुन्।
‘‘राजनीतिक दृष्टिकोणबाट वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार, अस्थितरता, अराजकता र धर्म परिवर्तनजस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ’, उनले भने, ‘राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।’
अध्यक्ष थापाले नेपाल कम्युनिस्ट पार्टीलाई देशमा शान्ति, समृद्धि र स्थिरता कायम गर्नको लागि दिएको दुई तिहाईको मतलाई धोका दिएको अरोप लगाएका छन् । ‘अनैतिक र अपवित्र गठनबन्धन गरेर सांसद किनबेच गरेर अस्थितरता, अराजकता भ्रष्टाचार र कुसासनको नयाँ शृङ्गला सुरु गर्नुभन्दा ताजा जनादेशमा जानु नै राजनीतिक दृष्टिकोणबाट उपयुक्त हुन्छ’, उनले भने ।
प्रकाशित: २९ पुस २०७७ १३:३९ बुधबार