१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

पोखरामा पर्यटकलाई हैरानी दिने ८ जना पक्राउ

पर्यटकलाई हैरानी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।आफ्नो तरिकाले हिँडिरहेका पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने तथा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराको बिरौटा र हल्लनचोकबाट पक्राउ गरेको हो।

आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुहरूलाई आफूले भनेको होटेल जानै पर्ने भन्दै अनावश्यक रूपमा हैरान पारेकाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रकुमार पासवानले जानकारी दिए।

उनका अनुसार बिरौटाबाट ५ जना र हल्लनचोकबाट ३ जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई बिरौटा र हल्लनचोकबाट गएको सिआरभी टोलीले मंगलबार गए राती २२ः४५ बजे पक्राउ गरेको थियो।

‘आकर्षक र सस्तो होटेल मिलाइदिने भन्दै गाडी रोक्ने, बार्गेनिङ गर्ने, पीछा गर्नेजस्ता कार्य गरी पर्यटक तथा यात्रुहरूलाई अनावश्यक रूपमा हैरानी दिएकाले पक्राउ गरिएको हो’, उनले भने।

यसअघि पनि यी लगायतका ठाउँहरूमा पर्यटकलाई हैरान पारिँदै आएको थियो। खास गरेर लेकसाईडका केही ठुला होटलहरुबाट कमिसन खाएर उनीहरूले पृथ्वी राजमार्गबाट पोखरा भित्रिने नाका गगनगौंडा, पृथ्वीचोक तथा सिद्धार्थ राजमार्गबाट पोखरा भित्रिने नाका छोरेपाटन, बिरौटालगायतका ठाउँहरूमा बसेर पर्यटक चढेको गाडीलाई अनावश्यक रूपमा स्कर्टिङ गर्ने, गाडीबाट झर्न नदिने, गाडी आफूले भनेकोबाहेक अन्य होटेलतर्फ जान नदिनेलगायतका कार्य गर्दै आएको आरोप लाग्दै आएको थियो।

यो कार्य अझै पनि नरोकिएको स्थानीय व्यवसायी बताउँछन्। यस्तो कार्यको होटेल संघ पोखरा र पृथ्वी होटेल व्यवसायी समितिले विरोध गर्दै आएको छ।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पर्यटकलाई अनावश्यक रूपमा हैरान गर्नेलाई कारबाही गर्नुपर्ने बताउँछन्। जुनसुकै बहानामा पर्यटकलाई दुःख दिने, हैरानी गर्नेलाई कारबाही हुनुपर्छ,उनले भने,‘केही गलत व्यक्तिका कारण पर्यटनको राजधानी पोखराको बेइज्जत गर्न पाइँदैन। त्यस्तालाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरी पर्यटकलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न र सुरक्षित रूपमा बस्ने, खाने वातावरण बनाउनुपर्छ।’

पृथ्वी होटेल व्यवसायी समिति कास्कीका पूर्व अध्यक्ष तथा होटेल व्यवसायी महासंघ नेपालका गण्डकी प्रदेश सचिव बालकृष्ण निउरेले पनि पर्यटकलाई हैरानी गर्नेलाई पक्राउ गरेकोप्रति खुशी व्यक्त गरे। उनले भने,‘हामीले पहिलेदेखि नै भन्दै आएका थियौं, यस्ता व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गरिनुपर्छ र पर्यटकलाई पोखरा सुरक्षित रहेको महशुस गराउनुपर्छ।’ 

उनले अहिले पनि पृथ्वीचोक, गगनगौंडा क्षेत्रमा पर्यटकलाई छेक्ने, स्कर्टिङ गर्ने कार्य नरोकिएको बताए। पर्यटकलाई जबरजस्ती तान्ने, स्कर्टिङ गरेर लैजाने कार्य गलत हो,उनले थपे,‘पर्यटकलाई स्तरिय सेवा, सुविधा दिएर आकर्षित गर्ने हो, यस विपरित गर्ने जोकसैलाई कारबाही हुनुपर्छ भन्नेमा हामी छौं।’

प्रकाशित: १३ श्रावण २०८३ १४:३२ बुधबार