१६ चैत्र २०८० शुक्रबार
भिडियो

मन्त्रीले मात्रै घुस नखाने हो भने भ्रष्टाचार नियन्त्रण हुन्छः रामकुमारी झाँक्री (भिडियाे)

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले मन्त्रीबाटै रकम लेनदेन हुँदा भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएकी छिन्।

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेतृ झाँक्रीले मन्त्रीले घुस खान छोडे भ्रष्टाचार नियन्त्रण हुने बताइन्। ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नारा पनि कार्यान्वयन नभएको उनको निष्कर्ष छ। 

‘मन्त्रीले मात्रै उठाएको पैसा खाएन भने धेरै चिज मिलिहाल्छ’, उनले भनिन्, ‘यो त म भन्छु, मलाई कहाँ लगेर झुण्ड्याउने हो झुण्ड्याउनु। भित्तामा प्रधानमन्त्रीको स्लोगन राखेर म भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेर तीन लाइन लेखिएको छ। त्यो कार्यान्वयन गर्नुस्।’

नेतृ झाक्रीले भ्रष्टाचार मात्रै नियन्त्रण भएमा देशको व्यवस्था ट्रयाकमा आउने र विकास तथा समृद्धि हासिल हुनसक्ने बताइन्। साथै अर्काेपटक चुनावमा नेकपाका नेता कार्यकर्ताले उम्मेदवारी दिएर घर बसे हुने उनको भनाई छ। ‘तर, खोई आज मन्त्रीले पैसा उठाउन छोडेको छ? सरुवामा ५ हजार बुझेर हिँडेका छन्। आयोजनाको कुरै छोड्नुस्’, उनले आक्रोश पोखिन्। 

नेतृ झाक्रीले मन्त्रीले घुस नखाए त्यसको असर तलसम्म पर्ने भन्दै कामहरु पनि गुणस्तरीय हुनेतर्फ जोड दिइन्। ‘मन्त्रीले घुस खाएन भने सचिवले, कर्मचारीले घुस खान्छ? अनि विलौलियाहरु घुसको झोला बोकेर जान्छ?’ उनले प्रश्न गरिन्, ‘सबैले खान्छन र मात्रा कति हो भन्ने मलाई थाहा भएन। तर आम रुपमा मन्त्रीले घुस खान्छन्। यो रहेसम्म काम हुँदैन।’ 

उनले कर्मचारी सरुवामा पनि मन्त्रीले पैसा लिने गरेको बताइन्। ‘यो आयोजनाबाट त्यो आयोजनामा लाँदा १ करोड लिने र कर्मचारी सरुवा गर्ने, अनि कसरी काम हुन्छ, यहीँ होइन समस्या। भौतिक पूर्वाधारको कुरा गर्दा’, उनले भनिन्। 

‘वर्षाैसम्म एउटा आयोजनामा बसेर काम नगरेको आयोजना प्रमुख त्यस्तै महत्वपूर्ण ३ अर्बको परियोजनामा फेरि किन जान्छ? उसको ट्रयाक रेकर्ड हेर्नुपर्दैन, दण्डसजाय गर्नुपर्दैन?’ उनले प्रश्न गरिन्। 

उनले काम नगर्ने ठेकेदार, कर्मचारीलाई नै पुरस्कृत गर्ने गरेकोमा असन्तुष्टि जनाइन्। ‘काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने काम कहाँ पुग्यो?’ उनले प्रश्न गरिन।

न्यायलयमा पनि विचौलिया हाबी भएको नेतृ झाक्रीको भनाई छ। विचौलियाले राज्यसंयन्त्र कब्जा गर्दै लगेको उनको ठहर छ। 

नेतृ झाक्रीले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताइन्। ‘नियमित तालिकामा ८० प्रतिशत काम गरेको छ। तर जनअपेक्षा अनुसार केही गरेको छैन’, उनले भनिन्। 

आफू मन्त्री बन्नका लागि सरकारको आलोचना नगरेको उनको भनाई छ। पार्टी र सरकारका कामकारवाहीमा प्रतिपक्षी भूमिकामा देखिने झाक्रीले भनिन्, ‘मन्त्रीमा मेरो दाबी छैन। अहिलेको अवस्था हेर्दा राजनीति नै छोडौं कि जस्तो लाग्छ।’

उनले नेकपालाई सरकारले चलाइरहेको टिप्पणी गरिन्। ‘पार्टी सिस्टममा छैन। सरकारले पार्टी चलाएको छ। पार्टीले सरकार चलाएकै छैन। मन्त्रीको छनोट पनि उपयुक्त भएन’, उनले भनिन्, ‘पार्टी ठिक ठाउँमा नभएसम्म केही ठिक हुन्छ। मुलुकलाई ट्रयाकमा हिँडाउने सामथ्र्य नेकपाले राख्छ। तर पार्टी सिस्टममा हिँड्नुपर्यो।’

उनले सत्ता र शक्तिका नाममा सरकारी सम्पत्ति दुरुपयोग भइरहेको र संस्थाहरुमा राजनीतिकरण हुँदा व्यवसायिकता हराउँदै गएकोमा चिन्ता समेत व्यक्त गरिन्।

प्रकाशित: ८ आश्विन २०७६ १५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App