२८ भाद्र २०८३ आइतबार
image/svg+xml
प्रविधि

एआई विकासमा ‘ब्रेक’ लगाउन तीन टेक दिग्गज सहमत

एआई विकासको गति केही सुस्त बनाउन एन्थ्रोपिकका सिइओ डारियो अमोदेई, ओपनएआईका सिइओ साम अल्टम्यान र एक्सएआईका मालिक एलन मस्क सहमत भएका छन्।

अमोदेईले एआईको विकास निकै तीव्र गतिमा भइरहेकाले सुरक्षा उपाय बनाउन पनि समय दिनुपर्ने बताएका हुन्। अहिलेको गति नरोकिए ६ देखि १२ महिनाभित्र एआई एजेन्टको समूहले ‘सम्पूर्ण इन्टरनेट कब्जा गर्न’ सक्ने उनले चेतावनी दिएका छन्।

उनका अनुसार एआईलाई केही समय सुस्त बनाएर सुरक्षा र नियन्त्रणका उपाय विकास गर्न सके गम्भीर जोखिम कम गर्न सकिन्छ। ‘यदि विकासलाई केही सुस्त बनाएर हामीले सुरक्षा र एआईलाई नियन्त्रण गर्ने उपाय अघि बढाउन एक-दुई वर्ष थप समय पायौं भने गम्भीर जोखिम कम गर्न सकिन्छ,’ अमोदेईले भनेका छन्।

उनले एआई कम्पनीहरूले आफ्नो सुरक्षा प्रणालीको निगरानीका लागि स्वतन्त्र मूल्यांकनकर्तालाई कम्पनीभित्रै काम गर्ने कर्मचारीसरह पहुँच दिनुपर्ने प्रस्ताव गरेका छन्। एन्थ्रोपिकले यस्तो व्यवस्था लागू गर्ने तयारी गरिरहेको उनले बताएका छन्।

अमोदेईको प्रस्ताव सार्वजनिक भएपछि मस्कले एक्समा ‘डारियो सही छन्’ भन्दै समर्थन जनाएका हुन्।

अल्टम्यानले पनि अमोदेईको प्रस्तावमध्ये स्वतन्त्र मूल्यांकनकर्तालाई कम्पनीभित्र पहुँच दिने व्यवस्था लागू गर्ने बताएका छन्। उनले एआई विकाससँगै सुरक्षा र नियन्त्रणका उपायमा पनि ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

एआईले आफैं निर्णय गर्न सक्ने र मानव नियन्त्रणभन्दा बाहिर जान सक्ने सम्भावनाबारे चिन्ता बढिरहेका बेला तीन प्रमुख एआई कम्पनीका नेतृत्वबाट विकासको गति सुस्त बनाउन यस्तो समर्थन आएको हो। एआई कम्पनीका कर्मचारी र सुरक्षा अनुसन्धानकर्ताले पनि पछिल्लो समय तीव्र विकासभन्दा सुरक्षा र नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन्।

यसैबिच, अल्टम्यानले सुरक्षा चिन्ताका कारण ओपनएआई सन् २०२६ मा सार्वजनिक कम्पनी नबन्ने बताएका छन्।

फर्च्युनसँगको अन्तर्वार्तामा उनले एआईको सुरक्षा र विकासका विषयमा उद्योग तथा सरकारबिच सहकार्य आवश्यक रहेको बताएका हुन्। एजेन्सीको सहयोगमा

प्रकाशित: २८ भाद्र २०८३ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App