नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको ४ हजार ९९९ रुपैयाँको एफटीटीएच इन्टरनेट प्याकेजको स्वीकृति तथा सञ्चालनबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले तथ्यभन्दा फरक ढंगले समाचार प्रकाशित तथा प्रसारित भइरहेको भन्दै प्याकेजबारे भ्रममा नपर्न सरोकारवालालाई आग्रह गरेको छ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार जारी गरेको प्रेस विज्ञप्तिलाई आधार बनाएर भ्रमपूर्ण समाचार सम्प्रेषण भएको उल्लेख छ। उक्त विज्ञप्तिमा इन्टरनेट सेवा प्रदायकले अनुमति पत्रका सर्तविपरीत काम गरेको विषय उठाइएको थियो।
नेपाल टेलिकमले विगतदेखि नै सञ्चालन गर्ने विभिन्न प्याकेजको स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार असार ३० गते अफरका रूपमा सञ्चालनमा ल्याइएको ३० एमबीपीएसको प्याकेजबारे पनि प्राधिकरणलाई जानकारी गराइसकिएको छ।
उक्त प्याकेज यसअघि विद्यार्थी अफरका रूपमा समेत प्राधिकरणलाई जानकारी गराएर सञ्चालनमा ल्याइएको कम्पनीले स्पष्ट पारेको छ।
नेपाल टेलिकमले आफ्नो सेवा तथा प्याकेजसम्बन्धी विषयमा तथ्यमा आधारित जानकारी लिनसमेत आग्रह गरेको छ।
प्रकाशित: २ कार्तिक २०८३ ०६:१३ आइतबार





