विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबास्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगिता (कोडभोर ७.०) मा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्।
इन्डोनेसियाको राजधानी जाकार्तामा यही जेठ २ र ३ गते सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने ६ विद्यार्थी टोली पुरस्कार जित्न र तीन टोली ३० उत्कृष्टभित्र पर्न सफल भएका हुन्। संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापनजस्ता विषयमा नवीनतम् अवधारणा पेस गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्।
सूचना प्रविधिको क्षेत्रमा क्रियाशील नीमा एजुकेसन फाउन्डेसनले यस वर्ष पनि विभिन्न विद्यालयहरूसँग समन्वय गरी आठ वर्षदेखि १८ वर्षसम्मका ९८ विद्यार्थीलाई सो प्रतियोगितामा समावेश गराएको थियो। यसै सन्दर्भमा नीमा एजुकेसन फाउन्डेसनले जाकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढाउने विद्यालय तथा विद्यार्थीलाई आइतबार यहाँ सम्मान तथा पुरस्कृत गरेको छ।
सो अवसरमा काठमाडौं विश्वविद्यालयका आइटी विभाग प्रमुख प्रा डा सुदन झाले नेपाली परिवेशमा ३० वर्षअघिको कम्प्युटर शिक्षाजस्तै अहिले सूचना प्रविधि क्षेत्रअन्तर्गत एआई, रोबास्टिक र कोडिङले बजार लिएको बताए। सूचना प्रविधिको क्षेत्रमा अहिले समग्र विश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् जनशक्ति नेपालमा उत्पादन भएकामा गर्व गर्दै प्रा डा झाले समयको चापलाई दृष्टिगत गरी विद्यालय शिक्षामा आइटीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान र निर्देशक किरणकुमार श्रेष्ठले विद्यालय तथा कलेजहरूसँग समेत समन्वय गरी सूचना प्रविधिसँग सम्बन्धित सीप तथा शिक्षा प्रदान दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिए। हरेक वर्ष विद्यालयहरूसँगको सहयोग र सहकार्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि फाउन्डेसनले आवश्यक शैक्षिक गतिविधिसहित तालिम प्रदान गर्दै आएको बताउँदै उनले यस किसिमको सिकाइ र प्रतियोगिताबाट नेपाली विद्यार्थी लाभान्वित भई समग्र आइटी क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे।
फाउन्डेसनले अर्को वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको स्थान अझ राम्रो बनाउन आगामी महिनादेखि नै चरणबद्ध रूपमा सिर्जनात्मक तथा नवप्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। आयोजकका अनुसार जाकार्तामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका करिब एक हजार ५०० विद्यार्थीको सहभागिता रहेको थियो। रासस
प्रकाशित: २५ जेष्ठ २०८३ ०७:१७ सोमबार





