सर्लाही प्रहरीले एक कुखुरा फर्मबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ७ डुमरियास्थित एक कुखुरा फर्मबाट प्रहरीले ३३० केजी लागूऔषध गाँजासहित एक जना कारोबारीलाई समेत नियन्त्रणमा लिएको हो।
सर्लाहीको बलरा नाका हुँदै सीमावर्ती भारततर्फ गाँजा तस्करी भएर जाँदै गरेको गोप्य सूचनाका आधारमा डुमरियास्थित भोला सिंहको कुखुरा फर्मबाट बा.प्र.०१–०२६ च २८८६ नम्बरको पिकअपसहित ३३० केजी गाँजा बरामद गर्नुका साथै डुमरिया निवासी सुरेन्द्र राउतका २८ वर्षीय छोरा अमरजित राउतलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको गाँजा, पिकअप र पक्राउ परेका राउतमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा सम्भावित तस्करी सञ्जालबारे समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १० श्रावण २०८३ ०६:२१ आइतबार





