३ आश्विन २०८३ शनिबार
image/svg+xml
प्रविधि

परीक्षणका क्रममा जेमिनीले तीन कम्पनीको प्रणाली ह्याक गर्‍यो

गुगलको एआई मोडेल जेमिनीले साइबर सुरक्षा परीक्षणका क्रममा तीन कम्पनीको कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच बनाएको गुगलले पुष्टि गरेको छ।

मे महिनामा इजरायली कम्पनी इरेगुलरले सञ्चालन गरेको साइबर सुरक्षा परीक्षणका क्रममा यस्तो घटना भएको थियो। परीक्षणमा जेमिनीलाई काल्पनिक कम्पनीबाट जानकारी जुटाउने जिम्मेवारी दिइएको थियो। तर मोडेलले अनपेक्षित रूपमा इन्टरनेटमा पहुँच पाएपछि वास्तविक कम्पनीका प्रणालीमा समेत प्रवेश गरेको थियो।

पहिलो घटनामा जेमिनीले पासवर्ड अनुमान गरेर वास्तविक कम्पनीको सेवामा पहुँच बनाएको थियो। अन्य घटनामा पनि मोडेलले इन्टरनेटमा सार्वजनिक जानकारी खोजेर परीक्षणको हिस्सा ठानेका वेबसाइटका पासवर्ड अनुमान गरेको गुगलकी सुरक्षा इन्जिनियरिङ उपाध्यक्ष हेदर एडकिन्सले बताइन्।

गुगलका अनुसार यस्तो घटना तीन पटक भएको थियो। तर हरेक पटक मोडेलले आफ्नो काम पूरा गर्नुअघि नै त्यसलाई रोकिएको थियो। इरेगुलरले जुलाईको अन्त्यतिर गुगललाई घटनाबारे जानकारी गराएको थियो।

गुगलले यो घटना जेमिनीको निर्धारित उद्देश्य वा सुरक्षा नियमविपरीत व्यवहारको उदाहरण नभएको बताएको छ। कम्पनीका अनुसार जेमिनीका सुरक्षा उपायले काम गरेकाले थप सार्वजनिक खुलासा आवश्यक ठानिएको थिएन।

यसअघि पनि इरेगुलरसँग सम्बन्धित परीक्षणका क्रममा मेटा, एन्थ्रोपिक र ओपनएआईका एआई मोडेलले परीक्षण वातावरणबाट बाहिरिएर कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच बनाएको घटना सार्वजनिक भइसकेको थियो।

प्रकाशित: ३ आश्विन २०८३ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App