गत वर्षको सुरुवाती समय खान परिवारका लागि त्राशपूर्ण रह्यो। मुम्बईस्थित आफ्नै निवासमा एक व्यक्तिले अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार गरेका थिए। आक्रमणमा परेका सैफले मुस्किलले ज्यान जोगाएका थिए।
बलिउड अभिनेत्री करिना कपूरले गत वर्ष जनवरीमा उनकै घरमा सैफ अली खानमाथि आक्रमण भएपछि आफू सडकमा चिच्याउँदै अटो रिक्सा रोक्न खोजिरहेको खुलासा गरेकी छन्।
हालै प्रसारण भएको 'कफी विथ करण'को नयाँ एपिसोडमा सैफ र उनकी पत्नी तथा अभिनेत्री करिना कपूरले उक्त पीडादायी रातबारे खुलेर कुरा गरेका छन्। करिनाले आफूले महिनौंसम्म राम्रोसँग सुत्न नसकेको बताइन् भने उनीहरूका छोरा तैमुरलाई आफ्ना बुबा मर्न लाग्नुभएको हो कि भन्ने डर लागेको खुलासा पनि गरिन्।
घटनाका बेला घरमा चालक किन थिएनन् ? भन्ने प्रश्नमा सैफले चालक साँझ आफ्नो परिवारकहाँ घर जाने भएकाले त्यतिबेला घरमा नभएको स्पष्ट पारे।
सैफलाई अस्पताल कसरी पुर्याइएको थियो भन्ने प्रश्नमा करिनाले भनिन्, “उहाँ आफैँ अस्पताल जानुभएको होइन। उहाँका छोरा र हरिले उहाँलाई अस्पताल पुर्याएका थिए।”
घटनापछि सामाजिक सञ्जालमा फैलिएका अनौठा हल्लाप्रति करिनाले असन्तुष्टि व्यक्त गरिन्।
त्यसपछि सैफले रातको समयमा करिनाले अटो रिक्सा रोकेको क्षण सम्झँदै भनिन्, 'म राति लगाउने टी सर्टमै थिएँ। भाग्यवश, कसैले त्यसको भिडियो खिचेनछ, करण म सडकमा चिच्याइरहेका थियौं। ‘रुको, रुको’ भन्दै थिएँ। त्यो त कुनै फिल्मको दृश्यजस्तै थियो। मलाई पाइजामा लगाउने समयसमेत थिएन। म त्यसै सडकमा दौडिएको थिएँ। यो कुरा कसैलाई थाहा छैन। म पहिलोपटक भन्दै छु।'
'मैले घुँडासम्म आउने टी सर्ट मात्र लगाएकी थिएँ। उहाँ रगतले लतपतिनुभएको थियो र म पागलजस्तै भएर अटो रिक्सा खोज्दै सडकमा दौडिरहेकी थिएँ,' उनले थपिन्।
रिपोर्टअनुसार ती आक्रमणकारीले एक करोड भारु माग गरेका थिए र सैफ-करिनाका कान्छा छोरा जेहको कोठामा प्रवेश गरेका थिए।
छोरालाई बचाउने प्रयासमा सैफले आक्रमणकारीको सामना गरेका थिए। सोही क्रममा उनीमाथि पटकपटक चक्कु प्रहार भएको थियो।
घटनापछि सैफलाई अटो रिक्सा मार्फत लीलावती अस्पताल पुर्याइएको थियो। त्यहाँ उनको करिब छ घण्टा लामो शल्यक्रिया गरिएको थियो।
प्रकाशित: २० कार्तिक २०८३ १३:२७ शुक्रबार





