२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अपराध

ममता ह'त्याकाण्डमा नरेशको बयान : आफूले ह'त्या नगरेको तर श'व व्यवस्थापन गरेको स्वीकार, अरु के-के भने ?

नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकाको भर्जिनियामा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले अदालतमा सनसनीपूर्ण बयान दिएका छन्। उनले श्रीमतीले आत्महत्या गरेको र आफूले उनको शव फेला पारेपछि व्यवस्थापन गरेको दाबी गरेका छन्।

अदालतमा बयान दिने क्रममा भट्टले सन् २०२४ जुलाई २९ को रात आफू दम्पतीकी सानी छोरीसँग अर्को कोठामा सुतेको बताएका थिए। राति पटक–पटक छोरी ब्युँझिएकाले आफू पनि उठेको र भोलिपल्ट बिहान करिब ४ बजे शयनकक्षमा जाँदा ममता भुइँमा लडिरहेको अवस्थामा फेला परेको उनको भनाइ छ।

भट्टका अनुसार ममता उत्तानो अवस्थामा थिइन्। उनको शरीर र भुइँमा बान्ता देखिएको थियो। बान्तामा औषधिका क्याप्सुल तथा नजिकै औषधिको बोतल पनि रहेको उनले बताएका छन्। त्यस्तै, नजिकै विषादीका केही खुला प्याकेटसमेत देखिएको र त्यसको अवशेष बान्तामा रहेको उनको दाबी छ।

उनले ममतालाई बचाउन करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको बताए। तर, ममता नबोलेको र साससमेत नफेरेको उनको भनाइ थियो।

अदालतमा उनका वकिलले प्रश्न गरे, ‘तपाईंले प्रहरीको आपत्कालीन नम्बर ९११ मा किन फोन गर्नुभएन?’

जवाफमा भट्टले भने, ‘त्यतिबेला म निकै डराएको थिएँ। किन फोन गरिनँ भन्ने मलाई आफैँलाई थाहा छैन। फोन गर्ने प्रयास गरेको थिएँ, तर म अत्यन्तै आत्तिएको थिएँ। के भयो, किन त्यस्तो भयो भन्ने कुरा दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि बुझ्न सकेको छैन। मैले ३ हजार ५०० घण्टाभन्दा बढी ध्यानसमेत गरिसकेको छु, तर पनि त्यसको जवाफ पाएको छैन।’

त्यसपछि वकिलले सोधे, ‘ममताले आत्महत्या गर्नुको कारण तपाईंलाई बनाइन्छ भन्ने डर थियो?’

भट्टले छोटो जवाफ दिए, ‘हो।’

शव फोहोर फाल्ने डस्टबिनमा राख्ने प्रयास गरेको दाबी

अदालतमा बयान दिँदै भट्टले ममताको शव घरबाहिर राखिएको फोहोर फाल्ने कन्टेनरमा लैजाने प्रयास गरेको पनि बताएका छन्।

उनका अनुसार उनले छोरीको हेरचाह गर्ने व्यक्तिलाई सन्देश पठाएर छोरीलाई उनको घरमा पुर्‍याए। त्यसपछि शव लुकाउन आवश्यक पर्ने सामान खोज्न होम डिपो नामक पसल पुगे।

वकिलले त्यहाँबाट पञ्जा किन किनेको भनेर सोध्दा उनले आफूलाई त्यसको कारण थाहा नभएको जवाफ दिए।

भट्टले त्यसपछिका करिब एकदेखि डेढ दिनभित्र घरमै रहेको फोहोर फाल्ने डस्टबिनमा शवका टुक्राहरू राखेको स्वीकार गरेका छन्।

वकिलले सोधे, ‘घर फर्किएपछि तपाईंले के गर्नुभयो?’

उनले जवाफ दिए, ‘फोहोर फाल्ने डस्टबिनमा राखेँ। आकार सानो बनाएर झोलामा राखेर डस्टबिनमा हालेँ।’

‘त्यसका लागि के प्रयोग गर्नुभयो?’ वकिलको अर्को प्रश्न थियो।

‘मसँग आरा थियो। त्यही प्रयोग गरेँ,’ भट्टले भने।

‘चक्कु पनि प्रयोग गर्नुभयो?’

‘अलिअलि, तर धेरै होइन,’ उनले जवाफ दिए।

अभियोजन पक्षले देखाएको भिडियोबारे पनि बयान

मुद्दाको सुनुवाइका क्रममा यसअघि अभियोजन पक्षले अदालतमा विभिन्न निगरानी क्यामेराका भिडियो प्रस्तुत गरेको थियो। ती भिडियोमा भट्टले पञ्जा लगाएर विभिन्न फोहोर फाल्ने कन्टेनरमा झोलाहरू फालिरहेको देखिएको थियो।

तर, बिहीबार बयान दिँदै भट्टले ती झोलामा ममताको शव नभई उनका व्यक्तिगत सामानहरू रहेको दाबी गरे।

उनको बयान सुनेपछि अदालतमा उपस्थित केही व्यक्तिहरू आश्चर्यचकित भएका थिए। ममताकी आमा पनि एकपटक अदालत कक्षबाट बाहिरिएकी थिइन्। केही न्यायाधीशका लागि मुद्दा सुनिरहेका जुरी सदस्यहरूले भने भट्टको बयानप्रति असन्तुष्टि देखाएको समाचारमा उल्लेख छ।

‘तपाईं झुट बोल्दै हुनुहुन्छ’ भन्दै अभियोजन पक्षको प्रश्न

भट्टको पछिल्लो बयानले उनी यसअघि प्रहरी र सञ्चारमाध्यमसँग बोलेका कुरासँग विरोधाभास देखाएको छ।

ममता बेपत्ता भएपछि उनले श्रीमती घर छाडेर गएको र सम्भवतः न्युयोर्क वा टेक्सास पुगेको बताएका थिए। तर अहिले अदालतमा उनले ममताको मृत्यु भइसकेको र आफूले शव व्यवस्थापन गरेको बयान दिएका छन्।

अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले प्रतिपरीक्षणका क्रममा भट्टलाई सीधै भने, ‘तपाईं झुट बोल्दै हुनुहुन्छ।’

भट्टले जवाफ दिए, ‘हो।’

त्यसपछि अभियोजन पक्षका वकिलले फेरि भने, ‘तपाईंले झुट बोल्नुभएको थियो।’

यो कुरा सुनेपछि अदालतमा उपस्थित केही व्यक्तिले ताली बजाएका थिए। त्यसपछि न्यायाधीशले अदालतमा शान्ति कायम गर्न निर्देशन दिएका थिए।

ममताका साथीहरूले पनि भट्टको बयानप्रति आक्रोश व्यक्त गरेका छन्। एक साथीले सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी थिइन्, ‘उनमा कुनै भावना देखिँदैन। उनले अहिले भनिरहेका सबै कुरा बनावटी हुन्। विगत दुई वर्षदेखि के बोल्ने भनेर सबै कुरा कण्ठ पारेजस्तो लाग्छ।’

सेनामा रहँदा मानसिक स्वास्थ्य समस्या भएको भट्टको दाबी

भट्टका वकिलले यसअघि बुधबार उनलाई अदालतमा बयानका लागि बोलाएका थिए। त्यस क्रममा उनको बाल्यकाल, नेपालमा बिताएको जीवन र अमेरिकासम्मको यात्राबारे प्रश्न गरिएको थियो।

भट्टले नेपालमा बाल्यकालमा भिरालो ठाउँमा बनेको सामान्य घरमा अन्य परिवारसँगै बसेको बताएका थिए। घरमा हिटर र एसीको सुविधा नभएको तथा धेरैजसो समय पर्याप्त खाना पनि नपाउने अवस्था रहेको उनको भनाइ थियो।

पछि अमेरिका पुगेपछि उनले विभिन्न सामान्य काम गरेको र त्यसपछि अमेरिकी सेनामा भर्ती भएको बताएका थिए।

सेनामा रहँदा आफूले मानसिक स्वास्थ्यसम्बन्धी समस्या अनुभव गर्न थालेको पनि उनले अदालतमा बताएका छन्।

वकिलले सोधे, ‘सेनामा रहँदा तपाईंलाई मानसिक स्वास्थ्यसम्बन्धी लक्षण देखिन थालेका थिए?’

भट्टले भने, ‘हो। सुरुमा मलाई थाहा थिएन। राति विभिन्न सपना देख्थेँ।’

वकिलले फेरि सोधे, ‘तपाईं राति चिच्याउँदै ब्युँझिनुहुन्थ्यो?’

भट्टले जवाफ दिए, ‘हो। त्यसपछि अरूले के भयो भनेर सोध्थे। म केही भएको छैन भन्थेँ। तर उनीहरूले मेरो शरीर पसिनाले भिजेको र मुटुको धड्कन तीव्र भएको देख्थे। मैले नराम्रो सपना देखेको भनेको थिएँ।’

ममताका परिवार र साथीहरूले पनि दिए महत्वपूर्ण बयान

मुद्दाको सुनुवाइका क्रममा ममताका साथी तथा परिवारका सदस्यहरूले पनि महत्वपूर्ण बयान दिएका छन्।

दम्पतीका एक नजिकका साथीले ममता बेपत्ता भएको केही सातापछि नरेशले आफूलाई ममताका सबै गरगहना र आफ्नो विवाहको औँठीसमेत दिएको बताएकी छन्।

उनका अनुसार नरेशले ममता बेपत्ता हुनुभन्दा करिब सातदेखि आठ महिनाअघि नै सम्बन्धविच्छेद गर्ने सम्भावनाबारे कुराकानी गरेका थिए।

त्यस्तै, ममताका भाइ महेश काफ्लेले अदालतमा भावुक बयान दिएका थिए। उनले नरेशसँग पहिलोपटक भेटेपछि नै बहिनीलाई उनीसँग विवाह नगर्न सुझाव दिएको बताएका थिए।

महेशका अनुसार ममता बेपत्ता हुनुभन्दा केही महिनाअघि उनले गोप्य रूपमा एउटा तस्बिर पठाएकी थिइन्। उक्त तस्बिरमा ममताको आँखानजिक चोट लागेको देखिन्थ्यो। ममताले उक्त चोट नरेशले दिएको बताएकी थिइन्।

उनले उक्त तस्बिर भविष्यमा आवश्यक पर्न सक्ने भन्दै सुरक्षित राख्न भाइलाई आग्रह गरेकी थिइन्। नरेशले फोनमा तस्बिर नभेटून् भनेर आफूले मोबाइलबाट हटाउने जानकारीसमेत गराएको महेशको बयान छ।

फरेन्सिक प्रमाणले पनि अभियोजन पक्षलाई बल

अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेको फरेन्सिक प्रमाणले पनि घटनाबारे थप प्रश्न उठाएको छ।

फरेन्सिक विज्ञले शयनकक्षको कार्पेटमा भेटिएको रगतको अधिकांश भाग ममताकै भएको सम्भावना अत्यन्त उच्च रहेको बताएका छन्।

त्यस्तै, अनुसन्धानकर्ताहरूले शयनकक्षमा रहेको खाट पहिलेको स्थानबाट सारिएको र रगत लागेको कार्पेटको केही भाग त्यसले छोपेको हुन सक्ने बताएका छन्।

फरेन्सिक विश्लेषक आइरिस डेली ग्राफले कार्पेटको माथिल्लो भागमा रगतका केही दाग नभेटिनु सरसफाइ गरिएको संकेत हुन सक्ने बताएकी छन्।

अर्कोतर्फ, विद्युतीय आरामा भेटिएको डीएनए तथा रगतको नमुना ममताकै भएको सम्भावना अत्यधिक रहेको फरेन्सिक वैज्ञानिकले बताएका छन्।

अभियोजन पक्षका अनुसार नरेशले ममताको हत्या भएको दाबी गरिएको समयभन्दा केही महिनाअघि नै उक्त आरा किनेका थिए। पछि उनले उक्त आरा एक ल्यान्डस्केपरलाई दिएका थिए र ती व्यक्तिले प्रहरीलाई बुझाएका थिए।

मुद्दा अझै विचाराधीन, शव भने भेटिएको छैन

नरेश भट्टमाथि प्रथम श्रेणीको हत्या, मृत शरीरको अपमान तथा शव लुकाएको अभियोग लगाइएको छ। उनले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।

ममता काफ्लेको शव अहिलेसम्म फेला परेको छैन। सन् २०२४ अगस्टमा पक्राउ परेयता नरेश भट्ट हिरासतमा छन्।

अदालतमा उनले दिएको पछिल्लो बयानले घटनाबारे नयाँ विवरण सार्वजनिक गरे पनि उनको दाबी र अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणबीचको विरोधाभास अब न्यायिक प्रक्रियामा महत्वपूर्ण विषय बनेको छ।

प्रकाशित: २० कार्तिक २०८३ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App