विश्वभर स्वास्थ्यकर्मीको कमी छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०३० सम्ममा ४५ लाख नर्सको अभाव हुनेछ । विश्वका करिब एकतिहाइ नर्स मानसिक थकानबाट पीडित छन् भने पेशा छाड्ने दर पनि उच्च छ ।
यो सन्दर्भमा एआई–सञ्चालित नर्सिङ रोबोट ‘नुराबोट’ले आशाको सञ्चार प्रवाह गरेको छ । बिरामीलाई औषधि पुर्याउने र वार्डमा बाटो देखाउने कार्य यी रोबोटले गर्ने गर्दछन् । नुराबोटको निर्माण गर्ने ताइवानको बहुराष्ट्रिय कम्पनी फक्सकनका अनुसार यस ह्युम्यान्वाईड रोबोटले नर्सको कामको बोझ ३० प्रतिशत सम्म घटाउन सक्छ ।
‘यसले नर्सको प्रतिस्थापन गर्ने होइन, काममा सहयोग गर्ने हो,’ फक्सकनकी निर्देशक एलिस लिन भन्छिन् ।
दोहोर्याएर गर्नुपर्ने कार्य सम्हालेर नुराबोटले नर्सलाई बिरामीको हेरचाह गर्ने वा बिरामीको अवस्थाको मूल्याकन गर्ने जस्ता महत्वपूर्ण कार्य गरेर समयको बचत र बिरामीलाई उचित ध्यान दिन मद्दत गर्छ,’ लिनले अमेरिकी टेलिभिजन सीएनएनलाई भनिन् ।
नुराबोटको विकासमा १० महिना मात्र लागेको हो र सन् २०२५ अप्रिलदेखि अस्पतालमा यसको परीक्षण हुँदै आएको छ । कम्पनीले यसलाई अर्को वर्षको सुरुमा व्यावसायिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

फक्सकनले नुराबोटको हार्डवेयर निर्माण गर्न जापानी रोबोटिक्स कम्पनी कावासाकी हेवी इन्डस्ट्रिजसँग साझेदारी गरेको छ । कम्पनीले कावासाकीको ‘न्योके’ सेवा रोबोट मोडेललाई रूपान्तरण गरेको हो । यसको पाग्रा स्वचालित रूपमा चल्छन् भने दुईवटा रोबोटिक हातबाट सामान उठाउँने वा समाउँने गर्छन् । वरिपरिको वातावरण पहिचान गर्न क्यामेरा र सेन्सरहरू प्रयोग गरिएको छ ।
नर्सहरूको दैनिक दिनचर्या र औषधी र परिक्षणका नमूना पुर्याउन वार्डमा लामो दूरी हिँड्न पर्ने दैनिकीको आधारमा फक्सकनले यो रोवोटलाई बोतल र भाएल्स सुरक्षित रुपमा राख्ने कार्य गर्न सक्ने बनाएको छ । नुराबोटमा औषधि र नमूना सुरक्षित रूपमा नर्सिङ स्टेशनसम्म ल्याउने र लैजाने छुट्टै कम्पार्टमेन्ट बनाइएको छ ।
यो रोबोटले सञ्चारका लागि फक्सकनको चिनियाँ भाषा प्रयोग गरेकोछ भने अमेरिकी प्रविधि कम्पनी एनभिडियाले यसको मूल एआई र रोबोटिक्स पूर्वाधार उपलव्ध गराएको छ । एनभिडियाका अनुसार यसले आफ्ना धेरै एआई प्लेटफर्महरू मिलाएर नुराबोटको प्रोग्रामिङ गरेको हो, जसका कारण स्वतन्त्र रूपमा अस्पताल हिडडुल गर्न, कार्य तालिका बनाउन र आवाज तथा शारीरिक संकेतमा प्रतिक्रिया दिन यो सक्षम हुनेछ ।
एआईको प्रयोगमार्फत अस्पतालको ‘भर्चुअल’ संस्करणमा रोबोटलाई प्रशिक्षण र परीक्षण गरिएको थियो, जसको कारण यसको छिटो विकासमा सहयोग पुगेको थियो ।
‘एआईले नुराबोटलाई मानिसले जस्तै बुझ्न, विचार गर्न र कार्य गर्न’ सक्षम बनाउँछ र बिरामी तथा अन्य सन्दर्भ र अवस्थाअनुसार अनुकुल व्यवहार गर्न मद्दत गर्छ,’ एनभिडियाका स्वास्थ्य व्यवसाय विकास निर्देशक डेविड नियोवोल्नीले सिएनएनलाई इमेलमा भने।

स्वास्थ्य क्षेत्रमा कर्मचारीको अभाव मात्र समस्या होइन । विश्वको वृद्ध जनसंख्या तीव्र गतिमा बढ्दैछ । सन् २०१९ को तुलनामा सन् २०३० सम्ममा ६० वर्ष वा माथिका व्यक्तिको सख्या ४० प्रतिशतले बढ्ने डब्लुएओको अनुमान छ । सन् २०३० को दशकको मध्यसम्म नवजात शिशुभन्दा ८० वर्ष वा माथिका व्यक्तिको सँख्या बढी हुने संयुक्त राष्ट्रसंघको पूर्वानुमान छ ।
त्यसो त, विगत दशकमा स्वास्थ्यकर्मीको संख्या बढेको भए पनि जनसंख्या वृद्धि र वृद्धावस्थाको अनुपातमा यो बढन सकेको छैन। दक्षिणपूर्वी एशिया स्वास्थ्यकर्मीको अभावबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्रमा पर्दछ ।
यो दबाबका बीच एआई–प्रशिक्षित प्रणालीले समय र लागतको ठूलो बचत गर्न सक्ने हङकङको टङ वाह कलेजका नर्सिङ र सार्वजनिक स्वास्थ्य विषयका प्राध्यापक रिक क्वान भन्छन् ।
‘एआई-सहयोगी रोबोटहरूले साँच्चै दोहोरिने कामलाई प्रतिस्थापन गर्न सक्छन् र ठूलो जनशक्ति बचत गर्न सक्छन्,’ क्वान थप्छन् ।
तर यसका केही चुनौती पनि छन् । बिरामीलाई मानवीय अन्तर्क्रिया खोज्छन् र हालका अस्पतालमा विद्यमान पूर्वाधारमा परिवर्तनको आवश्यकता पर्दछ ।
‘तपाईं हङकङ लगायत अन्य देशका अस्पताल हेर्न सक्नुहुन्छ जहाँ धेरै भीडभाड हुन्छ र ठाउँ साँघुरो हुन्छ, यसले रोबोटलाई सजिलै घुमफिर गर्न अनुमति दिंदैन,’ क्वान भन्छन् । उनका अनुसार अस्पतालहरू मानिसलाई अनुकूल हुने हिसाबले डिजाइन भएका हुन्, रोबोटलाई केन्द्रमा ल्याउन समग्र डिजाइनमै फेरबदल गर्नुपर्नेछ।
यसैगरी बिरामीको सुरक्षा पनि अत्यन्त महत्त्वपूर्ण भएकाले सुरक्षासम्बन्धी मापदण्ड विकास गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनी बताउँछन् ।
त्यसो त, स्वास्थ्य क्षेत्रमा रोबोट नयाँ विषय होइन । शल्यक्रिया गर्ने ‘दा भिन्ची’ जस्ता रोबोट दशकौँदेखि प्रयोगमा छन् र शल्यक्रियामा सटिकता बढाउँछन्।

तर हाल बढ्दो रुपमा स्वतन्त्र रूपमा हिडडुल गर्न सक्ने ह्युमन्वाइडले अस्पताल कर्मचारी र बिरामीलाई सहयोग गर्न थालेका छन् ।
सिगापुरको चांगी जनरल अस्पतालमा अहिले ८० भन्दा बढी रोबोट कार्यरत छन् जसले डाक्टर र नर्सलाई प्रशासनिक कामदेखि औषधि पुर्याउनेसम्मका काममा सहयोग गर्छन् ।
उता, संयुक्त राज्य अमेरिकामा पनि स्वतन्त्र रुपमा काम गर्न सक्षम झण्डै १०० बटा “मोक्सी” रोबोटले अस्पताल वेडमा औषधि पुर्याउने, नमूना र अन्य सामान पुर्याउने कार्य गर्छन ।
तर नर्सिङ रोबोटहरू कत्तिको उपयोगी छन् भन्ने प्रश्नमा अझै बहस जारी छ। हालै गरिएको समीक्षाका अनुसार यसले दक्षता बढाएको र कामको बोझ घटाएको भए पनि यसलाई पुष्टि गर्ने प्रत्यक्ष अनुभवजन्य प्रमाणको कमी छ । साथै, प्राविधिक समस्या, सञ्चार कठिनाइ र निरन्तर तालिम आवश्यकताको चुनौती पनि छँदैछ ।
तर यसको सम्भावनालाई देखेर प्रविधि कम्पनीले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । एनभिडिया बाहेक अमेजन र गुगलजस्ता ठूला कम्पनीहरूले स्वास्थ्य क्षेत्रमा ९.८ ट्रिलियन अमेरिकी डलरभन्दा बढी लगानी गर्ने हिसाबले नयाँ अवसर खोजिरहेका छन् ।
‘स्मार्ट अस्पताल’ क्षेत्र हाल सानो भए पनि यो तीव्र गतिमा विस्तार भइरहेको छ। बजार अनुसन्धान कम्पनी मोर्डर इन्टेलिजेन्सका अनुसार सन् २०२५ मा यसको मूल्य ७२.२४ अर्ब डलर थियो र यसको तीब्र हिसाबले बढ्दो बजार एशिया–प्रशान्त क्षेत्रमा छ ।
ताइवानको ताइचुङ भेटेरान जनरल अस्पतालमा फोक्सो, अनुहार र घाँटीसँग सम्बन्धित रोग, फोक्सोको क्यान्सर र दमको उपचार गर्ने वार्डमा अहिले नुराबोटको परीक्षणमा भइरहेको छ।
परीक्षणको यो चरणमा रोबोटलाई अस्पतालको डेटा प्रणालीमा सीमित पहुँच छ, र फक्सकनले यसको कार्यसम्पादनको क्रममा हुने तनाव परीक्षण ‘स्ट्रेस टेस्ट’ गर्दैछ । यस अन्तर्गत नर्सको हिँडडुल गर्ने दूरी, औषधि आपूर्तिमा सटिकपन तथा बिरामी र नर्सको प्रतिक्रिया समेत परीक्षण भइरहेका छन् । प्रारम्भिक नतिजाले नुराबोटले दैनिक नर्सिङ कार्यभार करिब २० देखि ३० प्रतिशतसम्म घटाइरहेको देखिएको छ ।
लिनका अनुसार यस वर्षको अन्त्यसम्ममा दैनिक नर्सिङ सञ्चालनमा नुराबोट औपचारिक रूपमा समायोजित गरिनेछ । त्यतिबेलासम्म अस्पतालको सूचना प्रणालीसँग जोडने र स्वतन्त्र रूपमा काम गर्ने सुविधा पनि यसमा समावेश हुनेछ । सन् २०२६ को सुरुमा व्यावसायिक रूपमा सार्वजनिक गरिनेछ
नर्सको कमीलाई समाधान गर्न नुराबोट पूर्ण रुपमा सक्षम नभए पनि यसले बुढो हुँदै गएका समाज र प्रतिभावान जनशक्तिलाई गुमाउँदै गएका अस्पतालका समस्या कम गर्न मद्दत गर्न सक्छ,’ फक्सकनकी निर्देशक एलिस लिन भन्छन् । (सीएनएनमा आधारित)
प्रकाशित: २९ भाद्र २०८२ १५:३० आइतबार





