१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

मुगुमा भरपर्दो दूरसञ्चार सेवा दिन सञ्चार मन्त्रीको ध्यानाकर्षण

 

कर्णाली प्रदेशको मुगु जिल्लामा अहिलेसम्म पनि भरपर्दो दूरसञ्चार सेवा नपुगेको भन्दै त्यहाँका युवाले गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्न माग गरेका छन् ।  

दीर्घकालीन समस्या समाधानका लागि स्थानीय युवाहरू राजधानी काठमाडौं आएर सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलको ध्यानाकर्षण गराएका छन् । मुगुको सोरु गाउँपालिकाका युवाहरूले नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री जगदीश खरेललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

मुगुका स्थानीय नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशिष देवकोटाको नेतृत्वमा गएको टोलीले कर्णालीजस्ता दुर्गम क्षेत्रहरूमा आधारभूत मोबाइल नेटवर्कसमेत नपुग्दा स्वास्थ्य, शिक्षा, बैंकिङ, अनलाइन सेवा र आपतकालीन सूचनामा कस्तो समस्याको सामना गर्नुपरेको छ भन्ने विषयमा मन्त्री खरेलको ध्यानाकर्षण गराएका थिए ।

युवाहरूले सरकार शहरी केन्द्रमा प्रचारमुखी कार्यक्रम जस्तै आर्यघाटसम्म फ्री वाइफाइ–लाई प्राथमिकता दिँदै आएको, तर कर्णालीका गाउँमा अझै पनि नेटवर्क नपुगेको वास्तविक समस्या बेवास्ता भएको दुखेसो पोखे । ‘सेवा सबैका लागि बराबर हुनुपर्छ। ग्रामीण पहुँच विस्तार हुनु देशको समग्र विकासको आधार हो,’ टोलीका सदस्यहरूले भने ।

युवाले सोरु गाउँपालिकाको कार्यपालिकाको सिफारिस पत्र पनि मन्त्रीलाई बुझाएका थिए । सोरु गाउँपालिकाका ११ वटै वडामा दुरसञ्चार सेवा अत्यन्त कमजोर रहेको वा कतै पूर्ण रूपमा अवरुद्ध रहेको उल्लेख छ । स्थानीयका अनुसार स्वास्थ्य सेवा, शिक्षा, बैंकिङ कारोबार, अनलाइन सेवा तथा आपतकालीन सूचनाको पहुँच अहिले गम्भीर रूपमा प्रभावित छ । युवाहरुले सोरु गाउँपालिका-७  बड्डीसल्यानी लेकमा नयाँ टावर स्थापना गर्न, वडा नं. ३  लामाकाँद लेक अवस्थित नेपाल टेलिकमको टावर स्तरोन्नति गर्न, वडा नं.८  कच्चेकोट लेक अवस्थित सेवा स्तरोन्नति गर्न, वडा नं. १० वडा कार्यालयमा नयाँ सेवा सञ्चालन गर्न माग गरेका छन् ।  

ज्ञापनपत्र बुझेपछि मन्त्री खरेलले कर्णाली प्रदेश सरकारका लागि अत्यन्त प्राथमिकतामा रहेको बताउँदै छिट्टै तत्काल तथा दीर्घकालीन कार्ययोजना अघि बढाइने आश्वासन दिए । उनले भने, ‘यो समस्या मैले यति स्पष्ट रूपमा पहिलोपटक सुनेँ। कर्णालीमा दूरसञ्चार सेवा विस्तारका लागि अब सरकारले तीव्रता दिन्छ। नागरिकले वास्तविक रूपमा सरकार भएको अनुभूति पाउने वातावरण बनाउने प्रतिबद्धता लिएको छु ।’

 

प्रकाशित: ६ मंसिर २०८२ १८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App