
पृथ्वीबाट २० किलोमिटरको दूरीमा आकाशमा उड्ने बेलुनको माध्यमबाट इन्टरनेट सुविधामा सबैको पहूँच पुर्याउने प्रयास गरिरहेको गुगलको दाबी छ। तर, यस्तो बेलुनले कसरी काम गर्छ र यसले दिने इन्टरनेट सुविधा चीर स्थायी हुन्छ वा हुँदैन भन्ने विषयमा आम मानिसको चासो छ। यसै चासोलाई गुगलको लून परियोजनाका रिच डिवालले सविस्तार बताएका छन्।
लून बेलुन परियोजनाका विषयमा रिच डिवालको भनाइः
सायद यस्तो पहिले कहिल्यै भएकै थिएन, कि विश्वका सबै व्यक्तिका लागि समान किसिमले इन्टरनेट सेवा दिने प्रयास गरिएको होस्। यस परियोजनाले कुनै व्यक्ति विषेशलाई मात्रै नभई विश्वका सबै व्यक्तिका लागि समान किसिमले सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने छ। यतिमात्रै होइन, यस सेवासँगै शिक्षा, आर्थिक अवसर र स्वास्थ्यसम्बन्धी सेवा पनि इन्टरनेटमार्फत् नै मानिसहरुले प्राप्त गर्नेछन्।
विश्वका उच्च आर्थिक, सामाजिक र बौद्धिक हैसियतका मात्र नभएर सर्वसाधारण सबैले समान हिसाबले विश्वसँगको सम्बन्ध र सम्पर्क बढाउन सक्नेछन्। लून परियोजना आकाशमा (स्ट्रेटोस्पि्कयर वा समताप मण्डलमा) उड्ने किसिमको एक बेलुनमा रहने नेटवर्क हुनेछ। यो १५ मिटर चौडा हुनेछ र पृथ्वीबाट २० किलोमिटरको उचाइमा उड्नेछ। यसलाई हामीले थोरै तलमाथि वा एक डेढ किलोमिटर तलमाथि लैजान पनि सक्छौं। हावाको दिशा छनोट गरेपछि बेलुनको उडान तय गर्न सकिनेछ।
प्रकाशित: २२ वैशाख २०७२ ०५:२१ मंगलबार





