२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

ह्‍वाट्सएप नि:शुल्क कल र एसएमएस सेवा आईफोनमा

न्यूयोर्क-एन्ड्रोइड अपरेटिङ सिस्टममा नि:शुल्क कल र एसएमएस सेवा दिँदै आएको चर्चित मोबाइल एप ह्‍वाट्सएपले आईफोन प्रयोगकर्तालाई पनि सो सेवा उपलब्ध गराउने भएको छ।

आईओएस अपरेटिङ सिस्टम भएको आईफोनमा ह्‍वाट्सएपले यो सुविधा उपलब्ध गराएपछि स्काइप र फेसटाइम जस्ता सेवालाई चुनौती हुन् बताइएको छ। 'फोर्ब्स'को वेबसाइटमा उल्लेख गरिएको रिपोर्टमा ह्‍वाट्सएपबाट अब आइफोन प्रयोगकर्ताले मोबाइल डाटा तथा वायरलेसको प्रयोगमार्फत फोन वा एसएमएस सेवा नि:शुल्क प्राप्त गर्नेछन्।

ह्‍वाट्सएपको यो सुविधा अबको केही हप्ताभित्र सबै आइफोन प्रयोगकर्ताले उपभोग गर्न पाउने बताइएको छ। ह्‍वाट्सएपले आफ्नो एप्स अपडेटका लागि दिएको सुचनामा भनेको छ, ‘आफ्नो साथी तथा परिवाका सदस्यलाई नि:शुल्क कल गर्नुहोस्। यो सुविधा विदेश वा स्वदेश सबै ठाउँमा उपभोग गर्न सकिनेछ। यसले इन्टरनेट कनेक्शनको उपयोग गर्छ। तर, फोनको ब्यालेन्स कट्दैन।’

ह्‍वाट्सएपबाट कल गर्ने व्यक्तिले कल गरेपछि पाउने व्यक्तिको मोबाइलमा एउटा नोटिफिकेसन पाउँछ। त्यसपछि उसले कल म्यूट वा रिसिव गर्ने बिकल्प पाउनेछ।

अग्रणी सोसल नेटवर्किङ साइट फेसबुकद्वारा सञ्चालित ह्‍वाट्सएपको संसारभर ८० करोड प्रयोगकर्ता छन्।

प्रकाशित: १० वैशाख २०७२ ०१:१३ बिहीबार