लन्डन–लन्डनको एवेलिना चिल्ड्रेन अस्पतालका चिकित्सकले शिशुलाई राम्ररी निद्रा दिन सक्ने नि:शुल्क एप सार्वजनिक गरेका छन्। शिशु नसुतेर हैरानी व्यहोरी रहेका बेलायतका २० लाख अभिभावकलाई उक्त एपले राहत दिने चिकित्सकहरुको विश्वास छ।
उक्त एपले बच्चालाई राम्ररी सुताउन सकेमा राष्ट्रिय स्वाथ्य योजना(एनएचएस)लाई परिरहेको दबाब पनि कम हुने बताइएको छ। राम्ररी निदाउनु शिशुका सर्वाङ्गिण विकासमा महत्वपूर्ण रहेको विशेषज्ञहरु बताउँछन्।

अस्पताले बनाएको उक्त एपले नवजात शिशुदेखि १६ वर्षका किशोरसम्मका अभिभावकलाई उनीहरुको बच्चाको विषयमा फरक फरक उमेरसमुहका बच्चाहरुलाई फरक-फरक सल्लाह पनि दिनेछ। त्यस्तो सल्लाहले बच्चाको निद्रालगायतका विषयमा अभिभावकले भोगिरहेका समस्या समाधान हुने चिकित्सकहरुले बताएका छन्। तर, नारकोलेप्सी, अब्स्ट्रयाक्टिव स्लिप जस्ता रोगले पीडित बालकलाई उक्त एपले काम नगर्ने उनीहरुको भनाई छ।
व्यवसायीकताका लागिभन्दा पनि अस्पतालमाथि परिरहेको दबाब कम गर्न उक्त एप निर्माण गरिएको हो। हाल यो आईओएसमा निशुल्क उपलब्ध हुने चिकित्सकहरुले बताएका छन्। यसपछि एन्ड्रोइड र विण्डोज संस्करणमा पनि उक्त एप जारी गरिने अस्पतालले बताएको छ।
प्रकाशित: २४ चैत्र २०७१ २३:४५ मंगलबार





