३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

पर्यटकका लागि अनिवार्य ‘अनलाइन'

पोखरा-केहि वर्षअघि सम्म पोखरा आउने विदेशी पर्यटकले ट्राभल एजेन्सी मार्फत होटल, बस र जहाजको टिकट बुकिङ गर्दथे। पर्यटकले एजेन्सीमार्फत ‘प्याकेज' किन्दा त्यसको प्रत्यक्ष फाइदा ट्राभल एजेन्सीलाई थियो।अहिले जमाना फेरियो, प्रविधि भित्रियो, पर्यटकले एजेन्सीमार्फत टिकट किन्ने र होटल बुकिङ गर्नैपर्छ भन्ने बाध्यता छैन। पर्यटक आफ्नै देशबाट ‘अनलाईन बुकिङ' गरेर चाहेको सुविधा लिन सक्ने भएका छन्। 
सूचना प्रविधिसँगै भित्रिएको यो सुविधाले हिजो विदेशीलाई प्याकेज बेच्ने ट्राभल एजेन्सीको कार्य बोझ पनि घट्दै गएको छ। यसले ती एजेन्सीको आम्दानी पनि घटाएको छ। नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्टा) पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठ अनलाइन सुविधाले गर्दा ट्राभल एजेन्सी फुर्सदिला हुँदै गएको बताउँछन्। ‘केहि समयअघिसम्म पोखरा आउने पर्यटकले हामीसँग सबै ‘प्याकेज' किन्थे। होटलको कोठादेखि जहाज र बस टिकटको व्यवस्था मिलाउने जिम्मा हाम्रो थियो। अहिले पर्यटकले अनलाइन बुकिङ गर्न थालेका छन्,' उनी भन्छन्, ‘यसले एजेन्सीको व्यापार घटाएको छ।' 
पहिला पर्यटकले एजेन्सीमा इमेल पठाउने र त्यसको सवाल–जवाफ पछि मात्र उसले चाहेको प्याकेज पाउँथ्यो। अहिले इमेल पठाएर जवाफ कुरिरहनुपर्ने अवस्था नरहेको उनको भनाई छ। कुन प्याकेज किन्ने भन्ने निर्णय पर्यटक आफैले गर्न सक्ने भएको छ। पोखरामा अहिले एक सय ४१ वटा ट्राभल एजेन्सी छन्। पोखरामा पुरानो मध्येको एक ब्लु स्काई टुर्स एन्ड ट्राभल एजेन्सीका सञ्चालक केदार शर्मा प्रविधिले अहिले पर्यटकलाई निकै सहज तुल्याएको बताउँछन्। उनले पोखरामा २०५३ सालदेखि ट्राभल एजेन्सी चलाएका हुन्।
उनले ट्राभल एजेन्सी सञ्चालन गर्दाताका पोखरा आएका विदेशी पर्यटकले हवाई टिकट किन्ने मुख्य माध्यम यीनै एजेन्सीलाई बनाउँथे। अहिलेजस्तो पर्यटक बस सञ्जाल विस्तार नभईसकेको त्यो बेला हवाई टिकट बेचेकै भरमा एजेन्सीले राम्रो कमिसन पाएर पर्याप्त नाफा कमाएका पनि थिए। सूचना प्रविधिले अहिले त्यो बेला एजेन्सीमा लाग्ने पर्यटकको भिड निकै कम हुँदै गएको उनले बताए। ‘बस टिकट नबेच्ने हो भने त एजेन्सी चलाउनै सकिन्न। खर्च पुर्या उनै गाह्रो हुन थालेको छ। आन्तरिक पर्यटकलाई टिकट बेचेकै भरमा अहिले जेनतेन खर्च धानिएको छ,' उनले भने, ‘विदेशी भन्दा स्वदेशीले गर्दामात्र खर्च चलाउन सकिएको हो।' 
शर्माका अनुसार अनलाइन प्रविधि विस्तारसँगै एजेन्सीको आम्दानी अहिले करिब ४० प्रतिशत कम भईसकेको छ। विदेशी पर्यटक अग्रिम बुकिङ गरेर आउने भएकाले एजेन्सीको भूमिका कम हुँदै गएको उनले बताए। ‘अनलाइन' मार्फत सबै बुकिङ हुने हुँदा हामीले काम पाएनौ। यसले हाम्रो आम्दानी पनि घटायो। प्रविधिले एजेन्सीलाई फुर्सदिला बनायो,' शर्माले भने, ‘यो कमाई अब बढ्नेवाला छैन। किनकी प्रविधि हातहातमा विस्तार भईसकेको छ। हातहातमा इन्टरनेट पुगेपछि हाम्रा ट्राभल एजेन्सी धाउने पर्यटक हुन छाडे।' 
पर्यटन व्यवसायीका अनुसार अहिले अनलाइनबाटै पर्यटकले अन्तर्राष्ट्रियस्तरका हवाई टिकट र होटलका कोठा बुकिङ गर्न थालेका छन्। अनलाइनबाटै सबै जानकारी पाउने भए पनि प्याकेजबारे सोध्न फोन गर्नुपर्ने बाध्यता पनि टर्दै गएको छ। प्रविधि विस्तारका कारण अबका केही वर्षपछि एजेन्सीको संख्या नै आधा घट्ने उनले बताए। ‘प्रविधिले पर्यटकलाई निकै फाईदा पुगेको छ। त्यसको मार पर्यटन व्यवसायीलाई परेको छ,' उनले भने, ‘व्यवसायीलाई घाटा भयो भन्दैमा हामीले प्रविधि विस्तार नगरी भएन।'
विदेशी हवाई कम्पनि मात्र नभई स्वदेशभित्रै गुड्ने पर्यटक बसका टिकट पनि अहिले अनालाइनबाटै बुकिङ हुन थालेका छन्। नाट्टा अध्यक्ष श्रेष्ठका अनुसार अनलाइनमार्फत अधिकांश पर्यटक बसका टिकट बिक्री हुन्छन्। पर्यटकले एयरलाइन्स र एजेन्सीका कार्यालय खोज्दै हिड्नुपर्ने झन्झट कम भएको छ। ‘पैसा तिर्न सम्बन्धित एयरलाइन्स र बस कम्पनीसम्म पुग्न जरुरी छैन। केही समयअघि देखि आन्तरिक पाहुनाका लागि मात्र रहेको अनलाइन बुकिङ अब विदेशी पर्यटकले समेत प्रयोग गर्न सक्ने गरी एयरलाइन्सले सहज बनाइदिएका छन्,' एक एयरलाइन्सका पोखरास्थित स्टेसन म्यानेजर भन्छन्, ‘हाम्रै बोझ पनि घट्दै गएको छ। विदेशीले आफ्नै मुलुकबाट हवाइ टिकट काट्छ। अनि उतैबाट पैसा तिरेर सिधै विमानस्थल आउँछ। समयको सदुपयोग पनि यसले गरेकेा छ।' 
दौड्दैछ, सूचना प्रविधि 
अनलाइन र सूचना प्रविधिले यति सहज बनाएको छ कि अहिले वाइफाइ नहुने बसमा पर्यटक चढ्न समेत रुचाउन छाडेका छन्। नाट्टाका अनुसार पोखराबाट काठमाडौं, चितवन, लगायतका विभिन्न रुटमा चल्ने अधिकांश पर्यटक बसमा वाइफाइ सुविधा छ। पर्यटक मात्र नभई अन्य समितिले सञ्चालन गर्ने सार्वजनिक बसमा पनि वाइफाइ सुविधा दिन थालिएको छ। यसले पर्यटकलाई आफु कुन ठाउँमा यात्रा गरिरहेको छु भन्ने जानकारी दिलाउन सहज भएको छ। 
नाट्टा अध्यक्ष श्रेष्ठका अनुसार अहिले वाइफाइ नहुने बसमा पर्यटकले यात्रा गर्न रुचाउँदैनन्। यो बानी विदेशी मात्र नभई स्वदेशी पर्यटकलाई पनि पर्न थालेको छ। ‘टिकट काट्दा पर्यटकले बसमा वाइफाइ सुविधा छ कि छैन भनेर सोध्न् थालेका छन्। विदेशीले मात्र नभई स्वदेशीका लागि बसमा यो सुविधा झनै जरुरी भएको छ,' उनी भन्छ्न, ‘पहिले पहिले यात्रुले सवारी मात्र खोज्थे। तर, अहिले सुविधा पनि खोज्न थालेका छन्। हिड्दा समय बितेको पत्तै नहुने गरी वाइफाइ चलाउन अधिकांश यात्रु हुन थालेका छन्।'
व्यवसायीले होटल, हवाईजहाज र बसका लागि मात्र नभई अब रेस्टुरेन्टको जानकारी पनि खोज्न थालेका छन। पर्यटकले कुन रेस्टुरेन्टमा के खान पाईन्छ र आफुले चाहे अनुसारको रेस्टुरेन्ट छन छैनन भन्ने जानकारी पनि अनलाइनको सहयोग लिन थालेका छन्। रेस्टुरेन्ट व्यवसायी सूर्यबहादुर भुजेल अनलाइनबिना रेस्टुरेन्ट कल्पनै गर्न नसकिने अवस्था आउँदै गएको बताउँछन्। ‘अब कुन रेस्टुरेन्टमा के खान पाइन्छ भनेर अनलाइनमा खोज्न थालेका छन्। आफुहरुले चाहेको खाना कुन रेस्टुरेन्टमा पाईन्छ भनेर खोज्न थालेका छन्। हामी व्यवसायीले पनि त्यो जानकारी अब अनलाइन मार्फत दिने बेला भएको छ' भुजेल भन्छन् ‘यसले पर्यटकलाई रोजाईको खाना खुवाउन सकिन्छ। पर्यटकको आकर्षण थप्ने यो गतिलो माध्यम बन्नेछ।'

प्रकाशित: १४ माघ २०७१ ००:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App