४ माघ २०८२ आइतबार
image/svg+xml
प्रविधि

वाइफाईभन्दा तेज लाइफाई

एक समय इन्टरनेट कल्पनाभन्दा बाहिरको विषय हुन्थ्यो। तर, यसको पहुँच र वायरलेस इन्टरनेटको माध्यमबाट विश्वभरिका मानिसले प्रत्यक्ष लाभ लिइरहेका छन्। अहिले विश्वमा नयाँ–नयाँ प्रविधिका विकास भइरहेका छन्। यसैक्रममा वाइफाईभन्दा तीव्र गतिमा चल्ने लाइफाईको परीक्षण गरिएको छ।

एस्टोनियामा परीक्षण गरिएको लाइफाई वाइफाईभन्दा सय गुणा तेज रहेको बताइएको छ। यसले क्षणभरमै डाटा ट्रान्सफर गर्न सक्छ। स्टार्टअप कम्पनीले परीक्षण गरेको लाइफाई प्रतिसेकेन्ड एक गिगाबाइटको स्पिडमा चाल्ने बताइएको छ।

कम्पनीका सहसंस्थापक एवं कार्यकारी निर्देशक दीपक सोलान्कीले बीबीसीसँगको कुराकानीमा भने- 'कल ड्रपजस्ता समस्याका लागि यो रामवाण साबित हुन सक्छ।'

उनले यसबारे साढे दुई वर्ष पहिल्यै अध्ययन गरे पनि वैज्ञानिकहरूले यो काल्पनिक भन्दै इन्कार गरेका थिए।

लाइफाई चलाउनका लागि तीन चिज जरुरी रहेको कम्पनीले बताएको छ। कम्पनीका अनुसार एलईडी बल्ब, इन्टरनेट कनेक्सन र फोटो डिटेक्टरले लाइफाई कनेक्सन गर्न सकिन्छ।

परीक्षणमा एक गिगाबाइट प्रतिसेकेन्ड रफ्तारमा डाटा ट्रान्सफर गर्न बल्बको प्रयोग गरिएको थियो। यो परीक्षण अफिस र औद्योगिक क्षेत्रमा गरिएको थियो। जसको माध्यमबाट त्यहाँका कर्मचारीहरूले इन्टरनेट प्रयोग गरेका थिए।

सोलान्कीका अनुसार अबको तीन–चार वर्षपछि यो प्रविधि उपभोक्तामाझ पुग्नेछ। स्मार्टफोन प्रयोगकर्तालाई लाइफाई चलाउनका निम्ति भने एउटा डिभाइस जरुरी पर्ने उनले बताए। जुन ब्लुटुथ जस्तै मोबाइलमै समावेश गरिन्छ।

लाइफाईको फाइदा भनेको यसले अर्को रेडियो सिग्नललाई बेफाइदा नगर्नु हो। त्यसैले यसलाई विमानमा पनि प्रयोग गर्न सकिने विज्ञहरूको भनाइ छ।

यसका बेफाइदा पनि छन्। घाम लागेको बेला यो प्रयोग गर्न सकिँदैन। किनकि, सूर्यको किरणले यसलाई हानि पुर्याउँछ।

प्रकाशित: १७ मंसिर २०७२ २३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App