२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

वाह ! सोसल मिडिया

वैशाख १२ गते मध्याह्न भूकम्प गएको अठारौं मिनेटमा पत्रकार गुणराज लुइँटेलले आफ्नो घर नजिकैको भग्नावशेष खिचेर ट्वीटरमा पोस्ट गरे । भूकम्पबारे सामाजिक सञ्जालमा देखिएको त्यो तस्बिर सम्भवतः पहिलो थियो, जसले निमेषमै संसारलाई नेपालको तहसनहसबारे जानकारी दियो ।

संसारभरका भूकम्पबारे अपडेट दिइरहने एप्स र सामाजिक सञ्जालका अकाउन्टले तारन्तार खबर दिन थाले । फोन नलागेर हैरान देश र विदेशका नेपाली ट्वीटर र फेसबुकमा आफन्त, साथीभाइ खोज्न थाले । एकैछिनमा ट्वीटरमा नेपालको भूकम्प ट्रेन्ड भयो । सामाजिक सञ्जाल र अनलाइन यसैका खबरले भरिए । सामाजिक सञ्जाल प्रयोगकर्ता हरेकले हरेकको खबर सोधे, बुझे र ढुक्क भए ।

बिहान ११ बजेर ५६ मिनेटमा गएको भूकम्पको एक घन्टा नबित्दै मोबाइलबाटै भए पनि भूकम्प प्रभावित क्षेत्रमा बसेकाहरूले आफ्नो खबर ट्वीटर र फेसबुकमा छरिसकेका थिए । कतिपयले आफू सकुशल रहेको जनाउ दिएका थिए भने कतिले चाहिँ आफू कुनै ठाउँमा अड्किएको वा रोकिएको भनेर खबर दिए । प्रधानमन्त्री सुशील कोइरालाले समेत आफ्नै मुलुकको भूकम्पबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटबाट थाहा पाए । यिनै सामाजिक सञ्जालको माध्यमबाटै विदेशमा रहेका आफन्तले प्रियजन सकुशल रहेको खबर पाए । गाउँ–सहरमा रहेका आफ्ना घरका तस्बिरले उनीहरूलाई ढुक्क बनायो ।

ठिक यही बेला सामाजिक सञ्जाल र एप्लिकेसनहरूले नयाँ विशेषता ल्याए । नेपालमा भूकम्प गएको केही घन्टा नबित्दै फेसबुकले 'सेफ्टी चेक फिचर' थप्यो । परिवार र साथीभाइलाई आफू ठिक भएको जानकारी गराउन सकिने यो विशेषताले धेरैलाई सजिलो बनाएको फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले भनेका थिए । 'जब विपत् पर्छ, मानिसहरूलाई आफन्त सुरक्षित छन् भन्ने थाहा पाउनु जरुरी हुन्छ,' उनले यो विशेषताको बारेमा स्टाटस लेखे ।

गुगलले पनि हराएका मानिस भेटाउनका लागि 'गुगल पर्सन फाइन्डर' सार्वजनिक ग¥यो । विपत्का बेला हराएका मानिसको सूचना दिन वा आफूले भेटाएका मानिसको सूचना दिने यो प्रविधि गुगलले यसपटक नेपालमा पनि प्रयोग गर्यो । इन्टरनेट पहुँच नभएकाले एसएमएस गरेर पनि जानकारी दिन सक्ने यो प्रविधिबाट भूकम्प गएको चार साता बित्दासम्म आठ हजार छ सयभन्दा धेरै जनाको बारेमा जानकारी संकलन भएको छ ।

त्यस्तै, 'इन्स्ट्यान्ट मेसेजिङ' तथा भीओआइपी सेवा दिने भाइबरले पनि विदेशमा रहेका व्यक्तिलाई नेपालमा र नेपालबाट बाहिर निःशुल्क कल गर्न सक्ने सुविधा दियो । त्यसबाहेक, विभिन्न 'क्राउडफन्डिङ' वेबसाइट र पेपलले पनि नेपालको भूकम्पलाई सहयोग गर्न भन्दै आफ्नो साइटकै होमपेजमा अनुरोध गरे । यसबाट पनि करोडौं रुपैयाँ संकलन भएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७२ २३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App