३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

न्युरोड र सुन्धारामा मोबाइल महोत्सव

काठमाडौं-राजधानीको सुन्धारा र न्युरोडमा छट्टाछुट्टै मोबाइल मेला सुरु भएको छ। सुन्धाराको सिटिसी मलमा र न्युरोड पाको क्षेत्रमा फरक फरक मोबाइल मेला सुरु भएको हो।

शुक्रबार सिटिसी मलमा मोबाइल मेला सुरु भएको हो भने शनिबार न्युरोड पाको क्षेत्रमा मोबाइल कार्निभल सुरु भएको छ। एकदिन अघिपछि सुरु भएको मोबाइल मेलाको प्रतिस्पर्धाले ग्राहकलाई भने फाइदा पुगेको छ। दुवै आयोजकले आक्रमक प्रचार साथै छुट र विभिन्न स्किम दिएपछि ग्राहकलाई फाइदा भएको हो।
सिटिसी मोबाइल एक्स्पोको उद्घाटन शुक्रबार सञ्चारमन्त्री मिनेन्द्र रिजालले गरे। एक्स्पोको उद्घाटन गर्दै सञ्चार मन्त्री रिजालले सूचना प्रविधिको विकासले परिवर्तनको गतिलाई तीब्र बनाएको बताए। उनले मोबाइल मानिसका लागि अत्यावश्यक वस्तु बन्दै गएको बताउँदै संसारलाई नै हातमा कैद गर्न सकिने मोबाइल प्रविधिको विशिष्टीकृत बजारले उपभोक्तालाई एकिकृत सेवा उपलब्ध गराउने समेत उनले बताए।२२ जना व्यवसायीले संयुक्तरुपमा सञ्चालन गर्ने सिटिसी मोबाइल बजार प्रालीले बजार शुभारम्भको अवसर पारेर छुटैछुट सहितको मोबाइल एक्स्पोमा अन्य स्किम पनि ल्याएको छ। वैशाख ५ गतेसम्म सञ्चालन हुने मेलामा १० वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर, एक सय वटा मोबाइल पसल, फुडकोर्ट लगायतको सहभागिता छ।  
एक्स्पोमा नझुक्याउने, पक्का पर्ने उपहार स्किमसहित  ८ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।  स्क्रयाच कुपनमा ५५ प्रतिशत छुटको अतिरिक्त व्यवस्था छ। प्रत्येक दिन पाँच वटा मोबाइल लक्कि ड्र मार्फत वितरण गरिनेछ। एसएलसी दिएर बसेका विद्यार्थीहरुले विशेष सुबिधा पाउनेछन्।
सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठलेे मोबाइल बजारमा चोरीका मोबाइललाई पूर्णतः निषेध गरिएको जानकारी दिदै सिटिसी मललाई मोबाइल हबका रुपमा विकास गर्नलागिएको बताए।
नयाँ वर्षको अवसर पारेर मोबाइल हबको रुपमा चिनिएको पाको न्युरोड क्षेत्रमा शनिबारदेखि सुरु भएको मोबाइल कार्निभलमा एसिड घट्नाकी पिडित किशोरी सिमा बस्नेतले उद्घाटन गरिन्।
आयोजक पाको युथ क्लबले बस्नेतसँगै अर्की पिडित संगिता मगरकी आमालाई २५/२५ हजार नगद सहयोग गरेको छ। कार्यक्रममा बस्नेतले एसिडबाट आफु पिडित भएपनि आगामी दिनमा अझै सशक्तरुपमा जीवन सुरु गर्ने बताईन्। उनलेसहयोग रकम उच्च शिक्षामा सदुपयोग गर्ने बताइन्।

Mobile Mela Newroad
क्लबका अध्यक्ष अमृत मानन्धर तथा टेलिटूका अध्यक्ष पुरुषोत्तम बस्नेतद्धारा सिमा बस्नेत तथा संगिता मगरका आमालाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ तथा हुवावेको स्मार्टफोन प्रदान गरिएको थियो।
टेलिटूका बस्नेतले कार्निभलमा व्यवसायका साथै सामाजिक कार्यअन्तर्गत एसिड घट्नका पिडित दुईजना किशोरीहरुलाई सहयोग गरिएको बताए। उनले यो कार्निभल तथा महोत्सव अवधिभर पाको, न्युरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजा क्षेत्रका पसलहरुमा ग्राहकहरुले अधिक छुटमा मोबाइल तथा एसेसरिज खरिद गर्न सक्ने जानकारी दिए।
क्लबका अध्यक्ष अमृत मानन्धरले महोत्सवलाई नयाँ वर्षको स्वागत गर्ने अवसरको रुपमा लिएर ग्राहकहरुले मोबाइल खरिदमा अधिक फाईदा लिन सक्ने दाबी गरे।
कार्यक्रममा सामसंग मोबाइल एन्ड इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले महोत्सवको पहिलो दिनदेखि नै विभिन्न ब्रान्डका मोबाइल सेटहरुको बिक्री बढेको जानकारी दिए। उनले हुवावेको अनर होलीको माग अधिक भएको भन्दै अन्य ब्रान्डको मोबाइल सेटको बिक्री पनि सन्तोषप्रद रहेको बताए।
महोत्सवको अवधिभर मोबाइल खरिदकर्ताहरुलाई विभिन्न स्कीममार्फत कुल एक करोड रुपैयाँसम्मको छुट दिइने भएको छ।
एसएलसी दिएका विद्यार्थीहरुमध्ये १ जनाले ५० हजार रुपैयाँसम्मको स्कलरसिप दिइनेछ।उनीहरुलाई लक्की ड्रमार्फत मोबाइल खरिदमा विशेष उपहारसहित छुट पनि दिइने छ।
अन्य ग्राहकहरुलाई महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु उपहारमा दिईने आयोजकले जनाएको छ। महोत्सव अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने अनुमान गरिएको छ। कार्निभल तथा नयाँ वर्षको अवसर पारेर ल्याईने विभिन्न स्कीमहरु भने वैशाख १५ गतेसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्।
कार्निभलमा मोबाइल म्युजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिङ जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समावेश गरिएको छ।
दुई सयभन्दा बढि मोबाइल पसल तथा सोरुमहरु रहेको पाको न्युरोड तथा ताम्राकार कम्प्लेक्स क्षेत्रमा हाल २५ भन्दा बढी मोबाइल ब्रान्डका आधिकारिक सर्भिस सेन्टरहरु सञ्चालनमा छन्।
कार्निभलमा सामसुङ, हुवावे, कलर्स, जियोनी, इन्टेक्स, डिटिसी, सोनी, माइक्रोम्याक्स, माइक्रोसफ्ट तथा नोकिया, एप्पल, एचटिसी, ब्ल्याकबेरी, पानासोनिक, लेनोभो, सेलकोन, लाभा, बिक्यू, जोलो, विनकम, फ्लाई, भिडियोकोन, बर्डलगायतका मोबाइलको सहभागीता छ।

प्रकाशित: २८ चैत्र २०७१ २१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App