फोन उठाएको पनि पैसा लाग्थ्यो त्यो बेला। ‘एक कल फोन उठाएकै तीन रुपैयाँ जति लाग्थ्यो,' सुमनले भने।
यो कुरा अहिलेका केटाकेटीलाई कथाजस्तो लाग्छ। दस वर्षको अन्तरालमा समयले ‘युटर्न' गरिसक्यो। मोबाइल नबोक्ने हो भने काममा बाधामात्र होइन, चल्दै नचल्ने भइसक्यो। त्यो बेला मोबाइल बोक्ने मान्छे देख्दा अचम्म लाग्थ्यो, अहिले मोबाइल नबोक्ने देख्दा अचम्म लाग्छ।
छोटो समयमा नेपालीको जीवनशैली फेरिनुमा नेपालीको पहुच पुग्ने प्रविधि हो भन्छन् व्यवसायी। सुमनले मोबाइल बोक्दा प्रविधि महँगो थियो। हत्तपत्त कसैले पनि मोबाइल किन्ने आँट गर्दैनथे। अहिले यो अवस्था रहेन। पाको न्युरोडको ताम्राकार हाउसमा सामसङ मोबाइल्स इलेक्ट्रोनिक्स चलाइरहेका गुरुदत्त शर्मा भन्छन्, ‘सामान्य नेपालीले किन्नसक्ने मोबाइल बजारमा उपलब्ध छन्।'
दस वर्ष अवधिमा नेपालीको क्रयशक्ति त्यति धेरै बदलिएको छैन। यहाँ उद्योग, कलकारखाना स्थापित हुन सकेका छैनन्। रोजगारी सिर्जना हुन सकेको छैन। तैपनि नेपाली विश्वमै रहेका प्रविधि अंगाल्नसक्ने भएका छन्।
यसका दुई कारण भएको व्यवसायीको तर्क छ। पहिलो कुरा त मोबाइल नै यति धेरै सस्तोसम्म पाइने भयो कि संसारका कुनै गरिब मुलुकका बासिन्दाले किन्न सक्ने भए।
अर्को कारण हो यस दस वर्षको अवधिमा लाखौंै नेपाली विभिन्न मुलुकमा पुगे। अर्बौं रेमिटेन्स भित्याइरहेका छन्। रेमिटेन्ससँगै मोबाइलका सेट पनि भित्रिरहेका छन्। विदेशमा पुगेका आफन्तसँगको सम्पर्कमाध्यम भनेकै मोबाइल बनेको छ। प्रत्येक घरमा उतैबाट मोबाइल आउँछ, या त नेपालमै पनि जुनसुकै मूल्यमा किन्न पाइने भएको छ।
नेपालमै सस्तो र राम्रो मोबाइल पाइने भएपछि विदेश पुगेका पनि काठमाडौंमै आएर मोबाइल किन्न सुरु गरेको टेली टु कम्पनीका म्यानेजर रोशन विष्ट बताउँछन्। ‘काठमाडौंमै सम्पूर्ण नेपालीले किन्नसक्ने खालका मोबाइल छन्,' विष्टले भने, ‘विदेशबाट आएकाले पनि पाको न्यूरोड आएर मोबाइल किन्न थालेका छन्।'
व्यवसायीका अनुसार अहिले बजारमा मध्यमस्तरका मोबाइलको माग धेरै छ। बजारमा १ हजार देखि १ लाख रुपैयाँसम्मका हरेक ब्रान्डका मोबाइल उपलब्ध छन्। सामसुङ, सोनी, नोकिया, कलर्स, हुवावे, जियोनी, एप्पल, इन्टेक्स, डिटिसी, माइक्रोम्याक्स, माइक्रोसफ्ट, एचटिसी, ब्ल्याकबेरी, पानासोनीक, लेनोभो, सेलकोन, लाभा, बिक्यु, जोलो, विनकम, फ्लाई, भिडियोकन, बर्डलगायत मोबाइल ब्रान्ड नेपाली बजारमा उपलब्ध छन्।
यीमध्ये १० हजारदेखि १६ हजारसम्मका मोबाइलमा नेपालीको रुचि छ भन्छन् व्यवसायी। ‘१० देखि १६ हजारसम्मका मोबाइल धेरै बिक्री भएका छन्,' विष्टले भने, ‘६० प्रतिशत मोबाइल यही रेन्जमा बिक्री भइरहेका छन्।'
विष्टकै पसलको तथ्यांक हेर्ने हो भने पनि यो कुरा पुष्टि हुन्छ। उनको पसलबाट अहिले सबैभन्दा धेरै बिक्री भएको मोबाइल ‘हुवाइ अनर होली' हो। जसको अधिकतम खुद्रा मूल्य १४ हजार रुपैयाँ छ। विभिन्न फिचर भएको यो स्मार्ट मोबाइलको डिमान्ड राम्रो भएको उनी बताउँछन्। ‘यो मोबाइल १० हजार पिस बिक्री भइसकेको छ,' उनले भने, ‘मध्यम वर्गका लागि उपयुक्त मूल्य भएकाले यसले धेरै बजार लिएको हो।'
त्यस्तै हुवाइ एस्सेन्ड वाइ ५२० र हुवाइ एस्सेन्ड जि ६२० धेरै बिक्री भएका छन्। यी मोबाइलको मूल्य क्रमशः ११ हजार र १३ हजार रुपैयाँ छ। हुवाइ एस्सेन्ड जि ६३० मूल्य १५ हजार, हुवाइ एस्सेन्ड जि ६१० मूल्य १४ हजार ५ सय, हुवाइ एस्सेन्ड जि ५२५ मूल्य ११ हजारलगायत मोबाइल धेरै बिक्री भएका छन्। अधिकतम खुद्रा मूल्यमा हरेक पसलले केही न केही छुट पनि दिँदै आएका छन्।
त्ााम्राकार हाउसका अर्का व्यवसायी प्रदीप बानियाले पनि यही रेन्जमा धेरै मोबाइल बिक्री भएको बताए। ‘हामीसँग १ हजारदेखि १ लाखसम्मका मोबाइल छन्,' बानियाले भने, ‘यसमा पनि १० हजारदेखि १६ हजारसम्मका मोबाइलको बिक्री धेरै हुने गरेको छ।' सामसङ, कलर्स, माइक्रोम्याक्सका एभरेज मूल्यका मोबाइल धेरै बिक्री भएको उनले बताए।
अहिले सामसङले बजारमा ल्याएका सामसङ ग्यालेक्सी कोर २, सामसङ ग्यालेक्सी कोर प्राइम, सामसङ ग्यालेक्सी जे वानजस्ता मोबाइल धेरै बिक्री भइरहेको बानियाले बताए। यी मोबाइलको मूल्य १० देखि १५ हजार बीचमा छ।
नोकिया जी टुका श्रीभगवन गुप्ताले नेपालीको तबलले धान्नेखालका मोबाइल बिक्री धेरै भएको बताए। ‘धेरै नेपालीको कमाइ मध्यमस्तरको छ,' गुप्ताले भने, ‘मोबाइल बिक्री पनि त्यसैअनुसार भएको छ।' ७ हजारदेखि १४ हजारसम्मका मोबाइल धेरै बिक्री भएको अनुभव छ उनीसँग।
सामसङ मोबाइल तथा इलेक्ट्रोनिक्सका शर्माले नेपालीको मोबाइल किन्ने एभरेज रेन्ज १० देखि २० हजार भएको बताए। यो मूल्यमा राम्रा स्मार्ट फोन बजारमा उपलब्ध छन्। ‘यी स्मार्ट मोबाइलको रोजाइ धेरै छ,' शर्माले भने, ‘नेपाली बजारमा बाहुल्यता पनि यिनै मोबाइलको छ।'
अहिले डिटिसी मोबाइलले बजार लिँदै गएको बताए। ‘भारतमा उत्पादन हुने मोबाइलमा सामसङपछि डिटिसीको मार्केट छ,' शर्माले भने, ‘राम्रो इन्टरनेट चल्ने, थ्रीजीलगायत फिचरले डिटिसीको मार्केट बढ्दो छ।'
एक्स्चेन्ज अफरले गर्दा पनि नेपाली मोबाइल बजार सधैं ‘भाइभरेन्ट' भइरहेको बताए। हरेक दिनजसो बजारमा नयाँ मोडलका मोबाइल आइरहेका छन्। सबैलाई नयाँ मोडल बोक्ने रहर हुन्छ तर सबैले किनिरहनसक्ने कुरा भएन। यसैले गर्दा एक्स्चेन्ज अफरले नेपालीको माग पूरा भइरहेको उनको तर्क छ।
ताम्राकार हाउसमा एक्सचेन्ज अफरले मोबाइल बजारलाई तताइरहेको शर्माले बताए। यसलाई निरन्तरता दिँदै ताम्राकार हाउसले ग्राहकको सुविधालाई सधैं ध्यान दिएको उनको भनाइ छ। अरु ठाउँमा भन्दा भाडा सस्तो र डुब्लिकेट मोबाइल छिर्न नदिने व्यवसायीको प्रतिबद्धताले मध्यम वर्गका नेपाली उपभोक्तालाई राहत मिलेको उनी बताउँछन्।
हरेक दिन बजार विस्तार भइरहेको छ। माग पनि बढ्दो छ। दश वर्षको अवधिमा नेपाली मोबाइल बजारले धेरै फड्को मारिसकेको छ। त्यो बेला मोबाइल बोक्ने सपना थियो। अहिले सपना पूरामात्र भएको छैन, जीवनशैलीको अनिवार्य अंगसमेत बनेको छ। त्यो बेला सुमनजस्ता मोबाइल बोक्ने खोज्नुपर्थ्यो, अहिले मोबाइल नबोक्ने मान्छे खोज्नुपर्ने अवस्था छ।
प्रकाशित: २८ चैत्र २०७१ ०१:१५ शनिबार





