सुरु–सुरुमा थोरै संख्यामा न्युरोड बजारवरपर मोबाइल पसल खोलिएका थिए। जुन बेला धेरैजसो नेपालीको पहँुचमा मोबाइल फोन थिएन। विस्तारै नेपालीले पनि मोबाइल फोन बोक्न सक्ने अवस्था आयो, न्युरोडमा धमाधम मोबाइल पसल खुल्ने क्रम पनि बढ्यो। आज न्युरोड क्षेत्र मोबाइलका लागि नेपालकै नम्बर वान बन्न पुग्यो।
व्यापारीले हरेक प्रकारका मोबाइल बिक्री गर्नु, सेवालाई चुस्त र दुरुस्त पारेर लैजानु, जस्तोसुकै मोबाइलका लागि पनि आवश्यक पर्ने पार्टपूर्जा सहजरूपमा उपलब्ध गराउन सक्दा ताम्राकार कम्प्लेक्स तथा न्युरोड क्षेत्र मोबाइल हब बन्न सफल भएको हो। व्यापारीले एक हजारदेखि एक लाख रुपैयाँसम्म पर्ने मोबाइल एउटै छानामुनि बिक्री गर्दै आएका छन्।
व्यापारीका अनुसार अहिले न्युरोड तथा ताम्रकार कम्प्लेक्समा २ सयभन्दा बढी मोबाइल पसल छन्। जहाँ ग्राहकले रोजेको मोबाइल चाहेको मूल्यमा पाउँछन्। ताम्रकार कम्प्लेक्समा आएका ग्राहकले कुनै पनि बहानामा फर्किनुपर्ने अवस्था आउँदैन किनकि हरेक प्रकारका मोबाइल न्युरोड तथा ताम्राकार कम्प्लेक्समा सहजै उपलब्ध हुन्छ।
यस क्षेत्रबाट दैनिक एक हजार थान मोबाइल बिक्री हुने गरेको व्यवसायी बताउँछन्। १४ अञ्चल ७५ वटै जिल्लाबाट ताम्रकार कम्प्लेक्समा मोबाइल बनाउन आउने मानिसको लर्को नै लाग्ने गरेको छ। सहज, सरल सेवा र सस्तो मूल्यका मोबाइल बनाउने भएकाले यो क्षेत्र हबका रूपमा स्थापित भएको हो।
व्यापारी–व्यापारीबीच स्वच्छ प्रतिस्पर्धा हुनु ग्राहकलाई फाइदा हो। एक पसलको विकल्पमा धेरै भएकाले ग्राहकको रोजाइ न्युरोड क्षेत्र पर्नु स्वाभाविक भएको अध्यक्ष बस्नेतले बताए। अहिले पनि कुल मोबाइल बजारको २५ प्रतिशत हिस्सा न्युरोडका मोबाइल पसलले ओगटेका छन्।
सुरुवातका बेला एक–दुईवटा मात्रै मोबाइल पसल थियो न्युरोड क्षेत्रमा तर आज सबै घर–घरमा मोबाइल पसल खोलिएको छ। ताम्राकार कम्प्लेक्स पाँच वर्षदेखि मोबाइल हबका रूपमा स्थापित भएको व्यापारी बताउँछन्।
न्युरोड क्षेत्रका दुईसय हाराहारी पसलमा मोबाइलका लागि आवश्यक पर्ने पाटपूर्जा, नयाँ मोडलका मोबाइल तथा नयाँ पुराना मोबाइल साटफेरसमेत हुँदै आएको छ। यो ग्राहकले पाएको सुविधा हो। ताम्राकारभित्र नै ३५ वटा मोबाइल सोरुम छन्। १५ वटाभन्दा बढी सर्भिस सेन्टर छन्। जसबाट सबै प्रकारका मोबाइलको मर्मत गरिने अध्यक्ष बस्नेतको भनाइ छ।
हरेक वर्ग र समुदायका मानिसलाई मूल्य सुहाउँदो मोबाइल उपलब्ध हुँदै आएको छ ताम्रकार कम्प्लेक्समा। न्यूरोड क्षेत्रबाट मात्रै दैनिक एक हजार थान नयाँ मोबाइल सेट बिक्री हुने व्यवसायीको अनुमान छ। एकदिनमै डेढ करोडभन्दा बढी कारोबार हुने क्षेत्रले अहिले नयाँ–नयाँ स्किमसमेत ल्याएको छ। त्यसैगरी, सर्भिस र पार्टपूर्जा बिक्रीको हिसाबले पनि यस क्षेत्रलाई निकै राम्रो मानिन्छ।
नयाँ पुस्ता होस् वा बूढाबूढी सबैको रोजाइमा स्मार्टफोन पर्ने गरेको छ। धेरै सुविधा एउटै स्मार्टफोनमा हुँदा त्यसको सदुपयोग बढी हुने र आवश्यक कुरा समावेश गर्न सकिने यसको विशेषता हो।
संसारभर नै मोबाइलका उपभोक्ता र बिक्री उल्लेख्य रूपमा बढेको देखिन्छ। अझै स्मार्टफोनको विकास र सुलभ उपलब्धताले त छलाङ नै मारेको छ। सूचना प्रविधि सबैभन्दा छिटो प्रवाहित हुने गरेको पाइन्छ। नेपालमा पनि पछिल्ला वर्ष मोबाइल फोन (स्मार्ट) का प्रयोगकर्ता ह्वात्तै बढेका छन्। यो सँगै विभिन्न ब्रान्ड तथा गैरब्रान्डका फोन बजारमा उपलब्ध छन्। ताम्राकार कम्प्लेक्सका व्यापारीले ब्रान्डेड कम्पनीको मोबाइल बिक्रीलाई मात्र होइन, सेवालाई समेत उच्च प्राथमिकतामा राखेका छन्। मोबाइल कम्पनीले पनि बिक्रीपछिको सेवालाई महत्व दिन थालेका छन्। प्रतिस्पर्धा बढेसँगै मोबाइल कम्पनीले बिक्रीमा मात्र नभई बिक्रीपछि आउने समस्यालाई ध्यान दिने गरेकाले उपभोक्ताले राहत महसुस गर्न थालेका छन्।
धेरैजसो मोबाइल कम्पनीले आफ्नो सर्भिस सेन्टर ताम्रकारमै राख्ने गरेका छन् किनकि महँगा र धेरै मोबाइल बोक्नेको जमात यहीं आउने गरेको व्यापारीको भनाइ छ। पछिल्लो समय मानिसको आयस्तर बढेको र विप्रेषण प्रवाहका कारण ग्रामीण क्षेत्रमा समेत सबैखाले (सामान्यदेखि स्मार्टसम्म) मोबाइल बोक्ने जमात बढ्दै गएको स्वयं मोबाइल बिक्रेता बताउँछन्।
प्रकाशित: २८ चैत्र २०७१ ०१:०७ शनिबार





