२२ चैत्र २०८२ आइतबार
image/svg+xml
प्रविधि

एनसेलको एप्लिकेसन प्रतिस्पर्धी छानिए

काठमाडौं– एनसेलले आगामी मंसिर २३ देखि २५ गतेसम्म आयोजना गर्ने नेपालकै ठूलो मोबाइल एप्लिकेसन प्रतिस्पर्धा, एनसेल एप क्याम्पमा १ सय ५० वटा समूह छानिएका छन्।कात्तिक १२ गते आवेदन बन्द भएपश्चात् निर्णायक मण्डलले प्राप्त प्रस्तावनालाई आवेदन, एप्लिकेसनले पुर्या्उने योगदान, एप्लिकेसनको विश्वव्यापी पहुँच, व्यावसायिक पद्धति र प्रस्तावित अवधारणाबारे समग्र प्रस्तुतिका आधारमा उत्कृष्ट समूहहरु छनोट गरेको हो। 
प्रतिस्पर्धाका लागि पर्यटन क्षेत्र अन्तर्गत १ सय ३२ वटा समूहले आवेदन दिएका थिए भने शिक्षा र कर्पोरेटमा क्रमशः १ सय २५ र १ सय २३ वटा समूहले आवेदन दिएका थिए। त्यसैगरी कृषि क्षेत्रसँग सम्बन्धित एप्लिकेसन निर्माणका लागि ७७ वटा समूहले आफ्नो अवधारणा पेश गरेका थिए।
आवेदन दिएका ४ सय ५७ वटा समूहमध्येबाट छानिएका यीप्रतियोगीहरु अब क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा अन्तक्रियामा सहभागी हुनेछन्।
छनोटमा परेका यी समूहलाई यही कात्तिक १८ गतेदेखि विभिन्न तालिम तथा सेमिनारहरुमा सहभागी गराई राष्ट्रिय तथा अन्तराटि्रय स्तरका विषयगत विज्ञहरुबाट आवश्यक ज्ञान प्राप्त गर्ने अवसर समेत दिइनेछ। उक्त अवसरमा सहभागीहरुले बजारीकरण, एप्लिकेसन निर्माण, योजना प्रस्ताव र व्यवसाय विकासजस्ता विषयमा विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
यस्ता सेमिनार तथा तालिममा सहभागीहरुले विषयगत क्षेत्रका विज्ञहरुसँग प्रश्नोत्तर गरी आफ्ना जिज्ञासाहरुको समाधान खोज्न सक्नेछन् भने उनीहरुले प्रस्तुत गरेका अवधारणालाई अझ स्पष्ट र सशक्त बनाउन सहयोग पुग्नेछ। 
मोबाइल बैंकिङको क्षेत्रमा एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वाश ढकालले मोवाइल एप्लिकेसनको बजारीकरणबारे ज्ञान प्रदान गर्ने एनसेलले जनाएको छ। त्यसैगरी निम्बस इन्टरनेशनलका कार्यकारी निर्देशक आनन्द बगारिया, हिमालयन क्लाइमेट इनिसिएटिभका सहसंस्थापक तथा सामाजिक उद्यमी अनिल चित्रकार र एनसेलका कार्यकारी प्रमुख एरिम टायलेनलरले अनुभव तथा प्रेरणादायी विचार प्रस्तुत गर्नेछन्। 
सेमिनारपश्चात् सहभागीहरुलाई तालिममार्फत युजर एक्सपिरिएन्स् र युजर इन्टरफेस, व्यवसाय विकास, अवधारणा प्रस्तुतिकरण लगायत विषयमा जानकारी दिइनेछ। यसअन्तर्गत सहभागीहरुले आइओएस, एनड्रोइड र विन्डोजका लागि एप्लिकेसन डिजाइन तथा निर्माणबारे ज्ञान हासिल गर्नेछन्। 
छनोट भएका १५० समूहहरुमध्ये अब प्रत्येक विषयगत क्षेत्रमा ६ वटा गरी उत्कृष्ट अवधारणा प्रस्तुत गर्ने जम्मा २४ समूहलाई अन्तिम प्रतिस्पर्धाकालागि अवसर दिइनेछ।
यस प्रतिस्पर्धाका विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २०१५ मा हुने अन्तराष्ट्रिय एप्लिकेसन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।

प्रकाशित: १३ कार्तिक २०७१ २१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App