२२ चैत्र २०८२ आइतबार
image/svg+xml
प्रविधि

मैथिली भाषाको विकिपिडिया बन्यो

काठमाडौं-मैथिली भाषाको विकिपिडिया बनाउने परीक्षण सफल भएको छ। विगत छ वर्षदेखि परीक्षणका रूपमा रहेको मैथिली विकिपिडिया फाउन्डेसनको भाषा समितिबाट पारित भएको विकिमिडिया नेपालले जनाएको छ।विकिपिडियाको मैथिली पृष्ठको निर्माणबाट मैथिली भाषामा पनि अनलाइन विश्वकोशको सुरुवात भएको छ। विकिपिडिया सबैले लेख्न र सम्पादन गर्न मिल्ने अनलाइन विश्वकोष हो।
विकिमिडिया नेपालका अध्यक्ष गणेश पौडेलले सन् २००८ देखि मैथिली भाषाको विकिपिडिया परीक्षण गरिरहेकामा छ वर्षपछि यसले स्वीकृति पाएको बताए।
राजविराजका विप्लव आनन्दले मात्र यसमा ८०० भन्दा बढी शीर्षकमा लेख बनाएका छन्। विकिपिडिया पृष्ठमा राख्ने लोगो लगायतका केही सामान्य व्यवस्था मिलाएर यो हप्ताभरिमा नै मैथिली विकिपिडिया सार्वजनिक गरिने विकिमिडिया नेपालले जनाएको छ। 
इन्टरनेटमा mai.wikipedia.org टाइप गरेर मैथिली विकिपिडिया पढ्न र त्यसमा नयाँ जानकारी थप्न सकिने छ।
‘पहिले आवेदन दिने बित्तिकै विकिपिडिया सुरु हुन्थ्यो तर अहिले यसले निश्चित मापदण्ड र प्रक्रिया पूरा गर्नु पर्दछ,’पौडेलले भने, ‘एउटा नयाँ भाषामा विकिपिडिया बन्नका लागि त्यस भाषाको विश्व मानक कोडका आधारमा निवेदन दिनुपर्छ र त्यो भाषामा निश्चित सङ्ख्यामा लेखहरू बन्नुपर्दछ।’

भाषा विज्ञानका प्राध्यापक योगेन् यादव, शिवभूषण लाल, पत्रकार धर्मेन् झा लगायतले मैथिली विकिपिडियाको मूल्याङ्कन गरी यसै हप्ता प्रतिवेदन दिएका थिए। हाल विश्वका २८७ वटा भाषामा विकिपिडिया बनिसकेका छन्। रासस

प्रकाशित: २९ आश्विन २०७१ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App