२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

‘ब्रोडब्यान्डलाई पूर्वाधार चाहियो'

काठमाडौं-ब्रोडब्यान्ड सेवालाई देशभर विस्तार गर्नका लागि सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने सरोकारहरुले बताएका छन्।शनिबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको उपलक्ष्यमा ‘दीगो विकासका लागि ब्रोडब्यान्ड' विषयमा सेवा प्रदायक र सरकारी अधिकारीबिच भएको छलफलमा ब्रोडब्यान्ड इन्टरनेटको माग बढ्दै गएकाले ग्रामीण क्षेत्रलाई लक्ष्य गर्दै देशभर पूर्वाधार निर्माण गरिनुपर्ने सहभागीहरुले बताएका हुन्। 
सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा सञ्चार सचिव सुमनप्रसाद शर्माले ‘इन्फर्मेसन हाइवे'का लागि सरकारले काम अगाडि बढाएको बताउँदै देशभर ब्रोडब्यान्ड विस्तार गर्न पूर्वाधार निर्माणमा जोड दिने बताए। 
‘हामीले २०१५ भित्रमा देशभर ब्रोडब्यान्ड सेवा पुर्‍याउने लक्ष्य लिएका छौं, यसमा सेवाप्रदायकहरुले पनि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ,' उनले भने। प्राधिकरणको कोषमा जम्मा भएको रकमलाई कसरी प्रयोग गर्ने भन्ने योजना हुनुपर्ने बताउँदै यस विषयमा प्राधिकरणले नै योजना तयार गर्नुपर्ने उनले बताए।
प्राधिकरणले ३ विभिन्न योजनामार्फत काम गर्न लागेको प्राधिकरणका बरिष्ठ निर्देशक तथा निमित्त प्रमुख आनन्दराज खनालले बताए। ‘देशभर ब्रोडब्यान्ड विस्तारका लागि हामी योजनाअनुसार लागेका छौं,' उनले भने, ‘नेटवर्कका लागि टावर बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ,' उनले भने। कोषमा रहेको रकम मोबाइल, इन्टरनेट र प्रविधिकै लागि भएको बताउँदै यसैमा खर्च हुने उनले बताए। 
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले सेवा विस्तारका लागि टेलिकमले काम गरिहेको उल्लेख गर्दै प्राधिकरणले त्यसमा सहयोग गर्नुपर्ने बताए। ‘हामीले ग्रामीण क्षेत्रमा शसक्त रुपमा सेवा पुर्‍याउन पूर्वाधारमा लागिरहेका छौैं, प्राधिकरणले पनि पूर्वाधारमा सहयोग गर्नुपर्छ,' उनले भने। अहिले इन्टरनेट प्रयोग गर्नेको संख्या बढ्दै गएकाले इन्टरनेट कन्टेन निर्माणका लागि आइटी कम्पनी चलाउने तयारी गरिरहेको उनले बताए। 
एनसेलका निर्देशक सल्लाहकार नेसरिन सेरिमले एनसेलले थि्रजी सेवा सुरु गरेपछि यसमा बढेको आकर्षणले पनि नेपालमा ब्रोडब्यान्डको माग कति छ भन्ने पुष्टि भएको बताउँदै ग्रामीण क्षेत्रमा सस्तो सेवा दिनुपर्ने र त्यसका लागि प्राधिकरणले सहयोग गर्नपर्ने बताइन्। ‘हामीहरुले ग्रामीण भेगमा अझै उपस्थिति बढाउन लागि परेका छौं,' उनले भनिन्,’ पूर्वाधार सेयरिङका लागि प्राधिकरणले योजना र नीति ल्याउनुपर्छ।' 
आइएसपी एसोसियसन अफ नेपालका अध्यक्ष विनय बोहोराले सन् २००४ मा आएको नीतिअनुसार प्राधिकरणले काम नगरेको बताउँदै लाइसेन्सअनुसार काम गर्न नपाएको बताए। ‘आइएसपी कम्पनीले पनि विभिन्न सेवा दिनका लागि ओपन लाइसेन्सको व्यवस्था हुनुपर्छ,' उनले भने। सरकारले चाँडोभन्दा चाँडो सडक सञ्जाल फैलाएर फाइबर बिछ्याउनुपर्ने र यसले इन्टरनेट अझ सस्तो हुने उनले बताए। 

कार्यक्रममा ब्रोडब्यान्ड विज्ञ मनोहरकुमार भट्टराईले दीगो विकासका लागि ब्रोडब्यान्ड विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: ३ जेष्ठ २०७१ २२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App