३० कार्तिक २०८२ आइतबार
image/svg+xml ५:४० पूर्वाह्न
प्रविधि

प्रविधिको छायाँमा हुलाक

कुनै समय गोश्वारा हुलाक कार्यालयका कर्मचारीलाई घरघरमा चिठी पुर्‍याउन भ्याइनभ्याई हुन्थ्यो। आजभोलि हुलाकमा व्यक्तिगत चिठी एकदमै कम आउँछन्। स्कुल, व्यापारिक क्षेत्र, वित्तीय संस्थाका चिठीमात्र हुलाकमा भेटिन्छन्। सञ्चारको अभिन्न अंग बनेको हुलाकको व्यापकतालाई भने प्रविधिका नयाँनयाँ आविष्कारले खुम्च्याइरहेको छ।सरकारले हुलाकलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने घोषणा गरिसके पनि स्पष्ट नीति बनिसकेको छैन। विनायोजनाको कार्यक्रमले हुलाक चुस्तदुरुस्त हुन नसक्ने कर्मचारी तर्क गर्छन्। अदालतले पठाएको चिठीसमेत म्याद गुजि्रसकेपछि मात्रै पाउने गरेको सेवाग्राहीको गुनासो छ। यस्तै ढिलासुस्तीका कारण सेवाग्राही निजी क्षेत्रबाट सञ्चालित सेवातिर तानिन थालेका छन्।
कुनै जमाना थियो, गाउँमा हुलाकी दाइ देख्दा खुसी हुने। नयाँ खबर लिएर आउने हुलाकी आशाको केन्द्र थिए। समुद्रपारि पुगेको छोरो होस् या घरदेखि टाढा गएका आफन्त। सबैको खबर उनै हुलाकीले झोलामा बोकेर ल्याउँथे। 
केन्द्रीय हुलाक कार्यालयको गेटअगाडि नै पत्र मञ्जुषा छ। तर फाट्टफुट्टमात्रै चिठी खस्छन्। 
के हुलाकको महत्व कम भएकै हो त?
‘चिठी कम भए पनि हुलाकको महत्व घटेको छैन। वित्तीय संस्था, अदालतका चिठी र विदेशबाट आउने आधिकारिक पत्रको माध्यम हुलाक नै हो,' एक कर्मचारी भन्छन्, ‘रेकर्ड, प्रमाणका लागि चाहिने चिठी आदानप्रदानमा हुलाकबाहेक अरू छैन। दुर्गममा यो प्रभावकारी बनेको छ।' 
क्षणभरमै खबर आदानप्रदान गर्न मिल्ने इमेल, इन्टरनेटको प्रयोग र विस्तारसँगै चिठी लेख्नलाई कापी र कलम खोजिराख्नु पर्दैन। भौगोलिक दुरी मेटिदिएको छ, नयाँ प्रविधिले। स्काइप, फेसबुक र मोबाइलबाट छिनछिनमा भर्चुअल भेट भइरहेको हुन्छ। यिनै प्रविधिले हुलाकको महत्व विस्थापित गर्दैछ। 

पछ्याउँदै प्रविधि
सन् १८७८ मा औपचारिक रूपमा काठमाडौंदेखि सुरु भयो, ‘हुलाक घर'। स्थापनाको तीन वर्षमै देशका ४३ ठाउँमा यसलाई विस्तार गरियो। सन् १८८१ मा एक, दुई, तीन आनामा तोकियो। व्यवस्थित गर्दै सन् १८८७ देखि दुई पैसाको पोस्ट कार्ड चलनचल्तीमा ल्याइएको थियो। 
हुलाकसँग बाहिरी जिल्ला डाँक पुर्‍याउने आफ्नै साधन छैनन्। हुलाक सेवा विभागका निर्देशक रूपनारायण भट्टराई भन्छन्, ‘हुलाकका कर्मचारीलाई कामको भार घटेको छ। सरकारले हुलाकका लागि स्पष्ट नीति लिन नसकेकै कारण समयअनुसार सेवा दिन सकिएको छैन।' सरकारी सिस्टमले सेवा ढिलो भइरहेको उनी तर्क गर्छन्। हुलाकका सेवा दु्रत बनाउन सबै सेवा रिफर्म गर्नुपर्ने उनको सुझाव छ। ‘हुलाकमा कर्मचारीको दरबन्दी घटेको छैन,' उनले भने।
सरकारी सेवालाई निजी क्षेत्रसँग दाँज्न नहुने भट्टराईको भनाइ छ। ‘हुलाक व्यापारिक संस्था होइन। हामीले सुरु गरेको सेवाबाट निजी क्षेत्रले काम गरेका छन्,' उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ।' अप्ठ्यारो भौगोलिक अवस्था, स्रोत, साधन कम भएकाले दु्रत सेवा दिन नसकेकोमा भने उनी सहमत छन्। 
‘हुलाक मन लागेको काम गर्न पाउँदैन। सरकारले हुलाकलाई काम गर भन्नु हात बाँधेर पौडी खेल भनेजस्तै हो,' उनले भने। कतिपय यातायात व्यसायीले सम्झौताविपरीत ढिलाइ गर्दा समयमै सामान पुर्‍याउन नसकेको उनी गुनासो गर्छन्। 
हुलाकलाई दु्रत बनाउन इएमएस सेवा (एक्सप्रेस मेल सर्भिस) सुरु भइसकेको छ। आन्तरिक दु्रत सेवाले रिङरोडभित्र आजको आजै चिठी पुर्‍याउँछ। ‘अस्थायी करारमा कर्मचारी राख्नुपर्दा अप्ठ्यारो आइलागेको छ,' गोश्वारा हुलाक सुन्धाराका वरिष्ठ हुलाक अधिकृत हरि दुलाल भन्छन्, ‘सेवाको प्रकृति फेरिँदैमा हुलाक सेवा कटौती हँुदैन।' 
हुलाकले पनि नयाँ प्रविधिको प्रयोगलाई पछ्याइरहेको छ। इएमएस सेवा यसको उदाहरण हो। ‘हार्ड कपी नभई हुँदैन। यसर्थ हुलाकको महत्व घटिसक्यो भन्न मिल्दैन,' दुलाल दाबी गर्छन्। 
पोस्ट बक्स सेवा १९ हजार ७ सय २५ नागरिकले लिन पाउँछन्। अहिलेसम्म १६ हजार ३ सय ६ जनाले यसको सेवा लिइसकेको उनले जानकारी दिए। 
पुराना तथ्यांक भने हुलाक सेवा विभागमा पाउन गाह्रो छ। सन् २०१० यताको हुलाक सेवा विभागको वार्षिक प्रतिवेदनअनुसार ५ करोड ८९ लाख ६५ हजार ६ सय ९८ वटा चिठी सम्बन्धित व्यक्ति/संस्थालाई पुर्‍याएको तथ्यांक छ। सन् २०१२ मा ५ करोड ४७ लाख ६० हजार १ सय ६ वटा चिठी देशभित्रै आदानप्रदान भएका छन्।
सन् २०१२ मा देशबाहिर ९ लाखभन्दा बढी चिठी पुर्‍याएको र देशभित्र १९ लाख चिठी आएको उल्लेख छ। तर तथ्यांकले चिठी आदानप्रदानको संख्यालाई घटाउँदै लगेको देखिन्छ। 
काठमाडौं उपत्यकामा मात्रै २० वटा हुलाक सञ्चालनमा छन् भने क्षेत्रीय हुलाक निर्देशनालय ५, ७० वटा जिल्ला हुलाक, ८४२ इलाका हुलाक र ३०७४ अतिरिक्त हुलाक देशभर छरिएका छन्।
आन्तरिक तथा वैदेशिक पुलिन्दा, बचत बैंक, धनादेश, बीमा, आन्तरिक–वैदेशिक दु्रत डाँक, अनलाइन पोस्ट, मनी ट्रान्सफर, डाँक टिकटलगायत सेवा हुलाकले प्रदान गर्दैै आएको छ।
टेलिसेन्टर सेवा
हुलाक कार्यालयमा सञ्चालित आधुनिक सेवाको स्वरूप हो, टेलिसेन्टर। सर्वसाधारणलाई फोन, इमेल, इन्टरनेट, फोटोकपी, फ्याक्सजस्ता सुविधा टेलिसेन्टरमा पाइन्छ। तर, टेलिसेन्टरमा पनि सेवाग्राही उपभोक्ताको संख्या उति धेरै छैन। किनकि हातहातमा मोवाइल र इन्टरनेटको सहज पहुँचले सेवाग्राही टेलिसेन्टरसम्म धाउन छाडिसके। 
दुर्गम क्षेत्रका लागि लक्षित यो सेवाका लागि दक्ष कर्मचारी नपाइएको हुलाक सेवा विभागका निर्देशक भट्टराई बताउँछन्। ‘सञ्चालनका लागि स्थानीय समुदायलाई जिम्मा दिइने अवधारणा बन्दैछ,' उनले भने, ‘युवा क्लब र सामुदायिक महिला संस्थामार्फत काम भए अझ प्रभावकारी हुनेछ।' 
खोटाङको हलेसीमा एकप्रति फोटोकपीका लागि २० रुपैयाँ तिर्नुपर्थ्यो। टेलिसेन्टर स्थापनासँगै त्यहाँको हुलाकले फोटोकपी मेसिन राखेपछि दुई रुपैयाँमै फोटोकपी हुन थाल्यो। ‘सर्वसाधारणले निकै राहत पाए,' भट्टराई भन्छन्, ‘सेवाग्राहीलाई आकर्षित गर्न सक्ने हो भने टेलिसेन्टरको महत्व अझै बढ्न सक्छ।'

घट्यो डाँकको बोझ
३५ वर्षअघि दैनिक ५ सयवटासम्म चिठी बोकेका पद्मुम्नप्रसाद भण्डारीको डाँकको बोझ विस्तारै घटिरहेको छ। साढे तीन दशक हल्कारा (चिठी लिएर घरघर पुर्‍याइदिने व्यक्ति) को काम सम्हालेका उनको अवकाश हुने बेला भइसक्यो। ‘आजकाल त रित्तो डाँक बोकेर हिँडेजस्तो लाग्छ,' उनी भन्छन्। 
सुन्दरीजल घर भएका भण्डारीले त्रिपुरेश्वर क्षेत्रका चिठीपत्र बोकेर घरघर चहार्थे। बोराभरि चिठी साइकलमा राखेर कुदेका ती दिन सम्झँदा उनी आफैं छक्क पर्छन्। ‘अहिले भए त नसकिने रहेछ। धन्न बुढेसकालमा चिठीको बोझ पनि घट्दै गयो,' उनी हाँस्छन्। 
सम्बन्धित मान्छेलाई चिठी हात लाउँदा उनी थुप्रै स्याबासी पाउँथे। तातो–चिसो खुवाउँथे। ‘चिठी नलिई हामीलाई देख्दा पनि मान्छेहरू सन्तोक मान्थे,' उनी विगत सम्झन्छन्। 
मध्यपुर थिमिका अमृत बुढाथोकीले हल्कारा काम गर्न थालेको २९ वर्ष पुग्यो। बबरमहल क्षेत्रबाट चिठी बाँड्नु उनको जिम्मेवारीभित्र पर्छ। घर नम्बर नलेखेको कारण ठेगाना पत्ता लगाउन नसक्दा कति चिठी फिर्ता आएको उनको अनुभव छ। ‘पहिले चिठी लेख्ने इमेल, इन्टरनेटतिर लागे,' उनले भने, ‘आजभोलि सरकारी चिठी धेरै हुन्छन्।'

प्रकाशित: ६ वैशाख २०७१ ००:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App