नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो हुने बताएका छन्।
फाइन प्रिन्टद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा. नवराज केसीसँगको अन्तरङ्गमा महानायक हमालले नायक-नायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गरे। उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको सुनाए।
मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी हुने जनाउँदै उनले भने, ‘भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायतका सबै रस पाइन्छन्। कला र साहित्यले समाजका सबै खाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकेल्छ।’
आफ्नो पुस्तक युगदेखि युगसम्मले कला, साहित्य, कलाकारिता र सिने क्षेत्रका अन्तरवस्तुलाई उल्लेख गरेको महानायक हमालले बताए।
डा. केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु र दिगोपन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा उनीकासँग अन्तसंवाद गरेका थिए।
प्रकाशित: २९ कार्तिक २०८२ २२:०२ शनिबार





