२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

फेसबुकमा असन्तुष्टि पोख्दा ‘अन्तरघाती'

सिन्धुपाल्चोक-गएको संविधानसभा निर्वाचनअघि एमाले केन्द्रीय लेखा आयोग सदस्य सुरेश नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए– व्यक्ति हेरेर भोट हालौं, अब एक महिना मामाघर गएर बिताइन्छ।फेसबुकमा लेखिएका उनका स्टाटसलाई धेरैले उम्मेदवारको टिकट नपाएको असन्तुष्टिको रूपमा बुझे। त्यही आधारमा चुनाव सकिएको तीन महिनापछि उनलाई पार्टी जिल्ला कमिटीले अन्तरघात गरेको ठहर गर्‍यो। ‘फेसबुक स्टाटसलाई नै उल्लेख गरेर प्रतिवेदनमा नेपाललाई अन्तरघाती ठहर्‍याइएको रहेछ,' एक सदस्यले भने। पार्टीले उनलाई नेपाललाई कारबाहीस्वरुप ‘गम्भीर आत्मालोचना' गर्न भनेको छ। 
एमाले जिल्ला कमिटीले नेपालसँगै जिल्लाका अन्य चार नेतालाई पनि चुनावमा अन्तरघात गरेको आरोप लगाएको छ। नेतामाथि अन्तरघातको आरोप लागेपछि एमालेमा असन्तुष्टि र विवाद भने चुलिएको छ। 
चौतारामा शुक्रबार बसेको जिल्ला कमिटी बैठकमा छानबिन समितिले नेपालसँगै बागमती अञ्चल सदस्य सोम सापकोटा, पूर्वजिल्ला अध्यक्ष हस्त पण्डित र २ नम्बरका अध्यक्ष होमनारायण श्रेष्ठले अन्तरघात गरी पार्टीका उम्मेदवारलाई हराएको प्रतिवेदन पेस गरेको थियो। संविधानसभा निर्वाचनका उम्मेदवारको उपस्थितिमा बसेको बैठकमा छानबिन समितिका संयोजक डम्बर अर्यालले प्रतिवेदन सार्वजनिक गरेपछि जिल्ला नेतृत्व र आरोप लागेका नेताबीच चर्काचर्की भएको थियो। 
आरोप प्रमाणित गर्न चुनौती दिँदै नेता सापकोटा र श्रेष्ठ बैठक बहिष्कार गरी बाहिरिएका थिए। आरोप लागेका पूर्वअध्यक्ष पण्डित भने प्रतिवाद गर्दै बैठकमै बसिरहे पनि जिविस पूर्वसभापति समेत रहेका नेता नेपाल भने अनुपस्थित थिए।
प्रतिवेदन नेपालप्रति बढी लक्षित छ। उनले कारबाहीस्वरुप गम्भीर आत्मालोचना गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ। 
क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार अरुण नेपाल पराजित भएपछि चुनावलगत्तै बसेको जिल्ला कमिटी बैठकले पराजयको कारण पत्ता लगाउन अर्यालको संयोजकत्वमा कृष्णराज श्रेष्ठ र केदार क्षेत्री सदस्य रहेको समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अन्तरघातमा मात्र सीमित भएको असन्तुष्ट पक्षको भनाइ छ।
अघिल्लो निर्वाचनमा पनि जिल्लाबाट नाम सिफारिस भए पनि सुरेशले टिकट पाएका थिएनन्। त्यतिबेला पनि अन्तरघात गरेको आरोप उनीमाथि लागेको थियो। तर, यसपटक भने उनैले पाउने धेरैको अनुमान थियो।

प्रकाशित: ८ चैत्र २०७० २१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App