अंकारा– भ्रष्टाचार आरोपमा मुछिएका टर्कीका प्रधानमन्त्री तेइप इरोडगनले सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएलगत्तै शुक्रबार राजधानी अंकारामा टि्वटर एकाउन्टहरु बन्द गराइएको छ।
मार्च ३० मा हुने स्थानीय चुनाव प्रचारप्रसारका लागि निकालिएको र्यालीमा उनले सामाजिक सञ्जाल टि्वटर प्रयोगको आलोचना गर्दै भनेका थिए, 'मेराविरुद्ध दुष्प्रचार गर्ने विपक्षीलाई यो चुनावमा धूलो चटाइनेछ।'
केही दिनयता टि्वटर प्रयोगकर्ताको एक समूहले प्रधानमन्त्री इरोडगन मातहतका विभागमा भएको भ्रष्टाचारसम्बन्धी दस्तावेज र अडियो रेकर्ड सार्वजनिक गरेपछि उनी सामाजिक सञ्जालमाथि खनिएका थिए।
टि्वटर एकाउन्टहरु बन्द गराइएपछि टि्वटर कम्पनीले यसबारे छानबिन भइरहेको बताए पनि अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। यद्यपि टर्कीवासीलाई एसएमएसमार्फत टि्वट गर्न सकिने भन्दै नयाँ टि्वटर ह्यान्डलहरु जारी गरेको छ।
टर्कीको विपक्षी पार्टी रिपब्लिकन पिपुल्सले टि्वटरमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध अदालतमा चुनौती दिने जनाएको छ। सो पार्टीका वरिष्ठ उपप्रमुख अकिफ हमजासेवीले भने, ‘पार्टीले सर्वसाधारणको व्यक्तिगत स्वतन्त्रतामा बाधा पुर्याएको आधारमा प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर गर्नेछ।'
प्रकाशित: ८ चैत्र २०७० ०१:४३ शनिबार





