मार्च २०१५ मा निर्माण कार्य सम्पन्न हुने सो सडकलाई नेपालकै नमुना बनाउने उद्देश्यले सूचना प्रविधिमा आधारित यस्तो सेवा दिन लागिएको उनले बताए।
यस प्रणालीअन्तर्गत विभिन्न चार केन्द्रमा स्थापना भएका 'अटोमेटिक रेनफल अब्जर्भेसन सिस्टम' ले निरन्तर रूपमा वर्षातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ। यस्तो केन्द्र काठमाडौंस्थित उपआयोजना कार्यालय, भक्तपुर र बर्दिवासस्थित सडक विभागका कार्यालय र सिन्धुलीबजारस्थित जिविसमा रहने व्यवस्था मिलाइएको छ।
डाटा सेन्टरमा निरन्तर प्राप्त भइरहने यस्ता विवरण मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा निरन्तर अपडेट हुने व्यवस्था मिलाइनेछ। 'सडकमा रहने तीनवटै बोर्डमा जिपिआरएस मोडेममार्फत निरन्तर सूचना अपडेट हुने व्यवस्था मिलाइएको छ,' देवजुले भने, 'एलइडी डिस्प्लेयुक्त बोर्डमा नेपाली तथा अंग्रेजी भाषामा सूचना उपलब्ध हुने गरी डिजाइन गरिएको छ,' उनले थपे।
चौबीसै घन्टा सूचना तथा जानकारी अद्यावधिक गर्न डाटा सेन्टर, रेनफल स्टेसन र डिस्प्ले बोर्ड सबैमा सोलारबाटै विद्युत आपूर्ति गरिनेछ।
मौसम र सडकको अवस्थासम्बन्धी सूचनासँगै सडक दुर्घटना र बाढी–पहिरोबाट यातायात अवरोध भए तत्कालै उद्धारका लागि पनि यसै प्रणालीबाट सरोकारवालालाई जानकारी गराउने व्यवस्था मिलाइएको छ। 'सडक दुर्घटना भए सूचना तत्कालै डाटा सेन्टरमा आउँछ। सडक विभाग मातहतका कार्यालयबाट उक्त सूचनालाई यकिन र पुष्टि गरेपछि मात्रै मोबाइल, सडक सूचना बोर्ड र वेबसाइटमा उपलब्ध हुने सिस्टम मिलाइएको छ,' उपआयोजनाकी इन्जिनियर शीला श्रेष्ठले भनिन्।
सूचना उपलब्ध गराएलगत्तै उद्धारका लागि सडक बन्द गर्नुपर्ने वा अन्य व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका सिडिओ र ट्राफिक प्रहरीलाई जानकारी हुने व्यवस्था पनि मिलाइएको श्रेष्ठले जानकारी दिए। 'यी सबै प्रक्रियाका लागि एसएमएसबाट तत्कालै सूचना आदान–प्रदान गर्ने गरी आकस्मिक सूचना प्रणाली (इआइएस)तयार गरिएको हो,' उनले थपिन्।
वेबसाइट र इआइएस इन्जिनियरिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले तयार गरेको हो।
धुलिखेल अस्पतालले अरनिको राजमार्ग र बनेपा–सिन्धुली–बर्दिवास सडकका दुर्घटनामा गम्भीर चोटपटक लागेका बिरामीको उपचारका लागि 'ट्रमा केयर सेन्टर' विकास गरेको छ।
'काभ्रे हुँदै जाने दुई ठूला राजमार्गमा दुर्घटना भइहाले बिरामीलाई उपचार गर्न क्षमता विकास गरिरहेका छौं,' अस्पतालको इमर्जेन्सी विभाग प्रमुख एवं ट्रमाविज्ञ डा. सानु श्रेष्ठले भने।
सिन्धुली सडकले सुरु गर्न लागेको आकस्मिक सूचना प्रणालीले दुर्घटनामा गम्भीर चोटकपटकका बिरामी उपचारका लागि स्वास्थ्यकर्मीलाई तम्तयार रहनसमेत मद्दत गर्ने डा. श्रेष्ठको भनाइ छ।
प्रकाशित: ८ फाल्गुन २०७० २१:१० बिहीबार





