२३ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रविधि

सुधारिएको पानीघट्टबाट विद्युतीकरण

काठमाडौं– राष्ट्रिय प्रसारण लाइन नपुगेका ग्रामीण क्षेत्रमा सुधारिएको पानीघट्टमार्फत गरिएको विद्युतीकरण सुविधा प्रभावकारी बन्दै गएको छ। विद्युतीय सुविधा र आर्थिक उपार्जनसमेत हुने भएपछि दुर्गम क्षेत्रमा यस्तो प्रणालीले प्रभावकारी बन्दै गएको हो।
राजधानीमा बुधबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेदरल्यान्ड सहयोग नियोगको संयुक्त आयोजना भएको गोष्ठीमा विद्युत सुविधा पुर्‍याउन नसकिएका जिल्लामा सुधारिएको पानीघट्टबाट सर्वसाधारणले सेवा पाइरहेको जनाइएको थियो। ग्रामीण क्षेत्रमा ऊर्जाका लागि मटितेलको अधिक प्रयोग हुने गरेको भन्दै केन्द्रका कार्यकारी निर्देशक गोविन्दराज पोख्रेलले पानीघट्टबाट उत्पादित विद्युतले महँगो मटितेल प्रयोगलाई न्यूनीकरण गरेको बताए। उनले भने, 'परम्परागत पानीघट्टले कुटानी पिसानीको मात्र काम गर्थ्यो भने सुधारिएको घट्टले बत्ती बाल्न पनि सकिन्छ।'
केन्द्रका अनुसार ३७ जिल्लामा घट्ट सुधारका कार्यक्रम सुरु गरिएको छ भने यसबाट ४ लाख ४० हजार व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन्। २३ वटा घट्टबाट हालसम्म विद्युत उत्पादन भएको र यसबाट ८ सय ७१ घरमा विद्युतीकरण गरिएको छ। ग्रामीण क्षेत्रका साना तथा मझौला उद्योग सञ्चालन गर्न यो प्रविधि बढी प्रभावकारी भइरहेको ग्रामीण प्रविधि केन्द्र नेपालका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले बताए।
सन् १०९० देखि पानीघट्टको सुधार सुरु गरिएको थियो। हालसम्म ३० हजार घट्ट सुधार गरेर सञ्चालन गर्न सकिने केन्द्रले जानकारी दिएको छ। यस्ता घट्टबाट हालसम्म ७ हजार युनिट विद्युत उत्पादन भएको छ। यसरी उत्पादित विद्युतले ठूला उद्योगका आवश्यक विद्युत उपलब्ध गराउन नसके पनि दुर्गमा गाउँमा छरिएर रहेका घरमा बत्ती बाल्न सहयोग पुग्ने श्रेष्ठको भनाइ छ। केन्द्रका अनुसार यस्ता घट्टबाट विद्युत उत्पादन गर्न प्रतिकिलोवाट २ लाख ४० हजार रुपैयाँ लाग्छ।

प्रकाशित: १५ माघ २०७० ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App