काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका दैनिक प्रशासनिक काम अब कम्प्युटरको किबोर्ड र माउसको सहारामा सञ्चालन हुने भएको छ। कार्यालयभित्र स्वचालित कार्यालय प्रणाली (अटोमेसन प्रविधि) जडान भएपछि कलम र कागजले गर्ने कामलाई किबोर्ड र माउसले विस्थापित गरेको हो।
सो कार्यालयका सबै कामलाई 'पेपरलेस' बनाउन अटोमेसन प्रविधिको सुरुवात गरिएको हो। सो प्रविधिमा कार्यालयमा आउने सबै चिट्ठीपत्रलाई मूलढोका नजिक रहेको दर्ता शाखामा रहेका कर्मचारीले कम्प्युटरमा दर्ता गर्छन्। कुन मिति र समयमा पत्र दर्ता भएको हो, यसको जानकारी पत्रवाहकलाई दिइन्छ।
त्यसपछि पत्रलाई स्क्यान गरिन्छ। स्क्यान गरेपछि स्वतः कोड नम्बर आउँछ। स्क्यान गरेको पत्र डाटामा सुरक्षित रहन्छ र स्क्यान गरिएको पत्र मुख्य सचिवको कम्प्युटरमा जाने व्यवस्था मिलाइएको छ। यसका लागि कार्यालयले बिहीबारदेखि कार्यालय समय पनि परिवर्तन गर्दै बिहान ९ देखि ४ बजेसम्म निर्धारण गरेको छ। अहिले परीक्षणका लागि एक महिना अटोमेसन प्रविधि लागू गरिएको कार्यालयले जनाएको छ।
'कार्यालयका आन्तरिक सबै कामलाई विद्युतीय सञ्जालका माध्यमबाट सम्पन्न गर्ने लक्ष्यअनुरूप यो प्रविधिको सुरुवात गरेका हौं,' उपसचिव नेपालले भने।
कार्यालयमा कार्यरत सबै कर्मचारीलाई अझ बढी जिम्मेवार बनाउने, कार्यालयको कामलाई कागजविहीन बनाउने, पत्र अन्यत्र पर्ने समस्या हटाउनेजस्ता फाइदा यो प्रविधिबाट हुने कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जनाए। 'मन्त्रालयहरूको माउ कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भएकाले 'रोल मोडल'का रूपमा अटोमेसन प्रविधि सुरु गरेका हौं,' उनले भने, 'अब जिम्मेवार व्यक्तिले लामो समयसम्म पत्र रोक्न सक्दैनन्।'
सरकारले यो प्रविधिलाई सबै २७ वटै मन्त्रालयमा पनि लागू गर्ने आन्तरिक तयारी गरिरहेको छ। सिंहदरबारभित्र अप्टिकल फाइबर जडानको कार्य अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्षमा २१ वटा राष्ट्रिय गौरवका आयोजनाका प्रगति विवरण पनि सम्बन्धित आयोजनाका प्रमुखहरूले मासिक रूपमा अटोमेसन प्रविधिद्वारा नै आफ्ना मन्त्रालयका सचिव, मुख्य सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षकहाँ पठाइरहेका छन्।
मुख्य सचिव लीलामणि पौड्यालले अटोमेसन प्रविधिको सुरुवात गर्दै यसलाई नमूना कार्यालयका रूपमा विकास गर्न प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रकाशित: २ माघ २०७० ०४:५१ बिहीबार





