६ वैशाख २०८१ बिहीबार
प्रविधि

शत्रुग्रह राहु र सूर्यको भ्रमण

सम्पूर्ण आकाशलाई सत्ताईस बराबर भागमा बाँडेर प्रत्येक १३ अंश, २० कलाको भागलाई नक्षत्र भनेर सबै भागलाई भिन्नाभिन्नै अश्विन्यादि नाम दिइएको छ। यो एक नक्षत्रात्मक आकाश प्रदेश धेरै लामो र ठूलो हुन्छ। यस नक्षत्र प्रदेशमा धेरै ताराहरु हुन्छन्। ती असंख्य ताराहरूमध्ये सरलताबाट देखिन योग्य चम्किला तारालाई गनेर ऋषिहरूले प्रत्येक नक्षत्रको तारा संख्या भनेका छन्।  

सबै नक्षत्र प्रदेशमा ताराको स्थितिबाट कुनै न कुनै आकृति बनेको प्रतीत हुन्छ। यी आकारलाई ऋषिहरूले स्वाभाविकतया सांसारिक पदार्थको रूपबाट नै थाहा पाएका थिए। उदाहरणका लागि अश्विनी नक्षत्रको स्वरूप घोडाको मुख जस्तै, कृत्तिकाको चक्कुको जस्तो, रोहिणीको गोरूगाडा जस्तो, मृगशिराको मृगको मुख जस्तो, आदि प्रकारले बुझ्नुपर्दछ। रोहिणी मण्डलका पाँच ताराको स्थिति केही यस्तो छ, जसरी वर्णमालाको अक्षर ख केही तेस्रो र उल्टो लेखिएको होस् । यसलाई प्राचीन पूर्वीयहरूले शकट वा रथका रूपमा चिन्दथे।  

देवतामा ब्रह्मा र ग्रहमा चन्द्रमा स्वामी मानिएको तथा कछुवारूपी पृथ्वीको ब्रह्मस्थान (मध्यभाग) मानिएको रोहिणी नक्षत्रमा सूर्यले हरेक वर्ष जेठमा भ्रमण गरेकै हुन्छ। तर यो नक्षत्रमा सूर्यको कट्टर शत्रु मानिने  छायाँ रूपी राहु ग्रहलाई नाघ्न लागेको भने २०४१ सालपछि ३७ वर्षको अन्तरालमा पहिलो पल्ट हो। चलनमा रहेको पात्रो हेर्दा गएको ७७ भदौ २५ गते राहु वृष राशिमा प्रवेश गरेको हो र आउने ७८ चैत १६ गते वृष राशि त्यागेर मेषमा राशिमा सरेको देखिन्छ। गएको ७७ पुष २९ गतेदेखि ७८ असोज ६ गतेसम्म राहु रोहिणी नक्षत्रमा देखिन्छ। जेठ ११ गते रोहिणीमा प्रवेश गरेको सूर्य २५ गते रोहिणीबाट बाहिर निक्लेर अगाडिको मृगशिरा नक्षत्रमा प्रवेश हुन्छ।  

संहिता ज्योतिषमा जुन ग्रह र नक्षत्र पाप ग्रहद्वारा पीडित हुन्छन्, त्यो ग्रह, नक्षत्र र नक्षत्रको स्वामी ग्रहको पदार्थहरूलाई कष्ट हुनसक्ने मानिन्छ।

आजभन्दा लगभग १५ सय वर्ष अगाडि छैठौं शताब्दीका वराह मिहिरले रचना गर्नु भएको बृहत्संहितामा उल्लेख गरिएको सूर्य ग्रहको ज्योतिषीय आधिपत्य भएका भौगोलिक क्षेत्र र पदार्थहरूका विशेषगरी देशहरूको प्राचीन कालकै नाम उल्लेख गरिएको छ। यी नामहरूलाई आजको समकालीन सन्दर्भ स्थिति र नाम अनुसार आफैँले बुझ्नु पर्ने हुन्छ।  

सूर्यको आधिपत्य भएका धेरै ठाउँहरूमध्ये केही बुझ्न सकिने नामहरू यस प्रकार छनः नर्मदा नदीको पूर्वार्ध, सोन नदी, कलिंग, शक, यवन, मगध, शबर देश, प्राग्ज्योतिषपुर (असम) चीन, काम्बोज। मेकल पर्वत (नर्मदा नदीको उद्गम) किरात देश, सबै पर्वतहरुको भित्री र बाहिरी प्रदेश, द्रविड देशको पूर्वार्ध, यमुना नदीको दायाँ किनारा लगायतका भौगोलिक ठाउँहरू पर्दछन्। त्यसैगरी बीज पदार्थ, ठूलो अन्न र भूसबाट निकालेर प्राप्त हुने अन्न, खोर्सानी आदि पिरो पदार्थ, रुख, सुन,अग्नि पदार्थ, विषैलो पदार्थ एवं रासायनिक पदार्थ, योद्धा या सैनिक बल, चिकित्सा, चिकित्सक, खेती, पशु, राजा, हिंसक व्यक्ति, आक्रामक स्वभाव भएका वा युद्ध गर्नेहरु, चोर, सर्प, निर्जन देश, प्रसिद्ध व्यक्ति, पिरो पदार्थ वा तीक्ष्ण नामक प्रदेश। यी सबै स्थानहरू र पदार्थहरूको स्वामी सूर्य हो।  

यस सूचीमा सूर्यको न्यूनाधिक सबै चीजहरू आएको छ। समान प्रकृति, शील र स्वभाव भएका चीजहरूलाई त्यै अनुरूप बुझ्नु पर्दछ । ग्रहहरूको कारकत्व यसै आधारमा उत्तरकालामृतमा पनि बताइएको छ। सबै आचार्यहरूको आधार ऋषिहरूको वचन नै हो। देश प्रदेशहरूको विषयमा माथि जनाइएको छ।  

यही कुरा काश्यप ऋषिले भनेका छन् तर उनले पुरुष जीव जन्तु, र बालक यी दुई चीजहरू पनि सूर्यको अधिन भन्नुभएको छ।

अरण्यवासिव्यालाश्च कार्षका बालकास्तथा।

गौरपत्यं च किञ्जल्कं पुंसंज्ञा ये च जन्तवः।।

सर्वेषां भास्करः स्वामी तेजस्तेजस्विनामपि।। (काश्यप)  

तत्कालको समयमा अहिले सूर्य ग्रह रोहिणी नक्षत्र एवं सूर्यको शत्रु मानिने शुक्रको राशि बृषमा राहुको साथ गोचर गरिरहेकाले सम्बन्धित पक्ष सजग रहनु राम्रो। फलित ज्योतिषमा यो प्रकारको संयोगलाई ग्रहण योग भनिन्छ। त्यसैगरी फलितमा सूर्यलाई पिता, आरोग्य, राज्य, आत्मा, आँखा हृदय र हड्डीको कारक ग्रह मानिन्छ। सूर्यको कारक दिशा पनि पूर्व नै मानिन्छ।

संहिताअनुसार जुन नक्षत्र पाप ग्रहहरुद्वारा पीडित हुन्छन् ती नक्षत्र र नक्षत्रको स्वामी ग्रहका पदार्थहरुलाई पनि कष्ट हुने मानिन्छ।

सूर्यद्वारा पीडित रोहिणी नक्षत्रः  

दिनकरकराभितापादृक्षमवाप्नोति सुमहती पीडाम् ।

भवति तु पश्चाच्छुद्धं कनकमिव हुताशपरितापात्।।(बृ।स।,३,३६)

जुन नक्षत्रमा सूर्य हुन्छ, त्यो नक्षत्र सूर्यद्वारा पीडित भएको कारण अत्यन्त पीडित हुन्छ। तर त्यही नक्षत्र सूर्यबाट मुक्त भएपछि आगोमा तताएर शुद्ध पारिएको सुनको समान कुन्दन बन्दछ। अर्थात् सूर्यले युक्त नक्षत्र र सूर्यको गम्य नक्षत्र, यी दुवैको अधिन जुन पदार्थ, देश, स्थान र व्यक्ति पर्दछन्, उनीहरूलाई उक्त विकारहरुको विशेष व्यापक फल हुनसक्छ।

जेठ ११ देखि २५ गतेसम्म सूर्य रोहिणी नक्षत्रमा देखिन्छ।

रोहिणी नक्षत्रको पदार्थः

रोहिण्यां सुव्रतपण्यभूपधनियोगयुक्तशाकटिकाः।

गोवृषजलचरकर्षकशिलोच्चयैश्वर्यसम्मपन्नाः।।(बृ।सं,१५,२)

श्लोकको भावार्थः सुव्रत अर्थात् उच्च चरित्रवान व्यक्ति, नियम अनुशासनमा रहनेहरु, व्यापारी, राजा (राष्ट्र प्रमुख), धनवान् व्यक्ति, योग साधनामा रत, सवारी साधनहरूबाट जीविका चलाउने, ट्रावल एजेंसी, जहाजको कप्तान (ड्राइभर, पाइलट), पशुधन, श्रेष्ठ र प्रतिष्ठित व्यक्ति, जलचर प्राणी, कृषक, ढुंगाको खानी, पर्वत खण्ड एवं अत्यधिक राजसी ऐश्वर्यले सम्पन्न व्यक्ति – यी सबै पदार्थ रोहिणी नक्षत्रगत मानिएका छन्।  

वृष राशिभित्र पर्ने रोहिणी नक्षत्रको नामाक्षर– वो, वा, वी, वूबाट सुरू हुने देश, प्रदेश तथा प्रसिद्ध व्यक्तिहरूलाई पनि प्रभाव पर्न सक्ने बुझिन्छ। वृष राशिमा पर्ने कृ, रो,मृमध्ये रोहिणी नक्षत्रको मात्रै चारै चरण पर्छ। कृत्तिकाको पछिको ३ र मृगशिराको सुरूको २ चरण बृष राशिमा पर्छ।

बृहत्संहिता अनुसार पृथ्वी रूपी कूर्म (कछुवा)को मध्य भागमा पर्ने कृत्तिका, रोहिणी मृगशिरा नक्षत्रहरूको आधीनमा नेपालको पूर्वतर्फ पर्ने क्षेत्र मत्स्य देश लगायतको पनि नाम उल्लेख छ। कछुवा चक्रअनुसार यी नक्षत्रमा अशुभ ग्रहले भ्रमण गर्दा विश्वको तथा प्रत्येक देश प्रदेशको मध्यभाग र त्यसको छेउछाउमा अलि अप्रिय घटनाहरू घट्न सक्ने बुझिन्छ। हुन त अहिले उत्तर पश्चिम दिशा तर्फको श्रवण नक्षत्रमा पनि अशुभताका नाइके शनिले भ्रमण गरिरहेको छ।

वराह मिहिरका अनुसार रोहिणी नक्षत्रको स्वामी ग्रह चन्द्रमाको देश र पदार्थहरू यस प्रकार छन्–कोशल देश, भरुकच्छ, समुद्री भूभाग, रोमकपुरी या रोमदेश,  

वनवासी देश, स्त्रीराज्य, समुद्रको बीचमा पर्ने सबै द्वीप लगायतका ठाउँहरू पर्दछन्। त्यसैगरी मधुर रस पदार्थ (सबै फल, फूल, खाद्य पदार्थ) पानी, नुन, मणिमुक्ता, शंख, पानीले उत्पन्न पदार्थ, राम्रो अन्न, जौ, औषधिहरू, गहुँ, यज्ञकर्ता, अपेक्षाकृत मध्यम बल भएका राजा, ब्राह्मण, सेतो रंगको पदार्थ, चाँदी, लोकप्रिय जन, घोडा, सुन्दर र प्यारा जीव प्राणी, स्त्रीहरू, सेनापति, खान बनाइएको पदार्थ, कपड़ा, सिङ भएका जानवर, रात्रिचर जीव, कृषिकर्ता, यज्ञवेत्ता–  यी सबैको अधिपति चन्द्रमा हो।

७७ चैत महिनाको प्रारम्भदेखि चैत २२ गतेसम्म रोहिणीमा बसेको राहुलाई मंगलले नाघेको थियो, अहिले सुर्यले नाघ्न लागेको देखिन्छ। ब्रह्मा स्वामी मानिएको रोहिणी नक्षत्रको बीच भागमा राहु भएकै बेला पुरै विश्वको मध्य भागको छेउछाउमा पर्ने इजरायल र प्यालेस्टाइन दुई देशबीचमा  युद्ध चर्किएको थियो। रोहिणीमा सूर्य प्रवेश गर्नासाथ भारतबाट सिंगापुर जान लागेको ठूलो पानीजहाजमा आगलागीको खबर सुनिएको थियो। अहिलेको चलिरहेको परिस्थितिमा सम्बन्धित सबै पक्षले सजगता अपनाउनु शुभ रहन्छ।

रोहिणीका प्रमुख तारा र वृष राशि–

रोहिणी मण्डलको पाँचै तारा वृषराशिको गोरू जस्तो स्वरूपमा अग्रमुखमा शकट रूपमा रहन्छन्। यसमा सबैभन्दा ठूलो र चम्किलो रातो नारंगी तारा अल्देबरान गोरूको बाँया आँखाको भित्रतिर छ। यो हाम्रो सूर्यबाट यस्तै ३० गुणा ठूलो र हामीभन्दा ६५ प्रकाश वर्ष पर छ। यो क्रान्तिवृत्तबाट ५ अंश २८ कला दक्षिणमा छ। बाँकी चार ताराहरू कान्तिमानमा योभन्दा कम छन् र आकाशीय वृषको नासाग्रमा स्थित छन्।

वास्तु–ज्यो. शिव पोखरेल

मो. ९८५१०५९१४३

बत्तिसपुतली

लेखक ज्योतिष हुन् । 

प्रकाशित: १८ जेष्ठ २०७८ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App