२३ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रविधि

घोडा जस्तो कार

जमाना फेरि फर्केर घोडचढीकै युगतर्फ लम्किन लागेको हो ? विख्यात जापानी मोटर निर्माता टोयटाले २१ औं शताब्दीमा घोडाजस्तो कार ल्याएर संसारलाई त्यही सन्देश दिन खोजेको छ । टोयटाले एफभी टू कनसेप्टमा बनाएको यो कार चालकको सन्तुलनद्वारा चल्छ र यसलाई सिधा उभ्याएर घोडा जसरी नियन्त्रण गर्न सकिन्छ ।सेन्सरको इसारामा चल्ने यो कारले चालकको हाउभाउ, आवाज पहिचान गरी उसको मुड पत्ता लगाउँदै गन्तव्य अनुमान लगाउन सक्छ । घोडाले झैँ यसले पहिला कुन–कुन ठाउँमा गएको थियो भन्ने कुराका आधारमा गुड्ने बाटो र गन्तव्य सुझाउँछ । चालकको इच्छाअनुसार कारको रंग र बाहिरको सिसा तत्कालै फेर्न सकिने यो कार टोकियो मोटर प्रदर्शनमा देखाउने तयारी भइरहेको छ ।

यात्रामा रहँदा यो कारको एयरप्रुफ सिसामा अगाडिको बाटोको जानकारी देखिनेछ । यसको अगाडि, पछाडि र दायाँ, बायाँ मोड्न सेन्सर लगाएपछि स्टेरिङ ह्वीलले छुट्टी पाउनेछ । यो प्रविधिले चालक र कारको सम्बन्धलाई घोडा र मालिकको जस्तो बनाउने विश्वास टोयटाको छ । 'अहिलै यो प्रविधि व्यवसायिक उत्पादनमा आउन लागेको हैन', टोयटाका प्रवक्ताले भनेका छन्—'आगामी वर्षहरुमा यसलाई नकार्न सकिँदैन ।' अटो विश्लेषकहरुले टोयटाको यो प्रविधिमा धेरै सुरक्षा चुनौती भएको बताएका छन् । सुरक्षाकै कारण यो कारले सञ्चालन अनुमति नपाउने अनुमान उनीहरुको छ । तर काल्पनिक उपन्यास जस्तो लाग्ने यी कुराहरुलाई टोयटा आगामी दिनमा आफ्ना उत्पादनमा समावेश गर्ने सुरमा छ ।

प्रकाशित: २७ कार्तिक २०७० ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App