सामसङले हालै विश्वबजारमा बिक्री सुरु गरेको यो स्मार्टफोनमा ५ इन्चको एमोलिड टचस्त्रि्कन छ। यसको रिजोलुसन १०८०-पी रहेको छ। ग्यालेक्सनी एसथ्रीको ४.८ इन्चभन्दा केही ठूलो स्त्रि्कन यसमा रहेको छ।
गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम यसमा प्रयोग भएको छ। नयाँ स्मार्टफोनमा एक्स्यनोस फाइभ ओक्टा-५४१० चिपसेटसहितको १.६ गिगाहर्जको ओक्टा कोर वा १.९ गिगहर्जको क्युड कोर प्रोसेसर प्रयोग भएको छ। यसमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा छ।
दुई गिगाबाइट र्याम रहेको ग्यालेक्सी एस फोरका १६, ३२ र ६४ गिगाबाइट आन्तरिक मेमोरी रहेका मोडल छन्। यसमा ६४ गिगाबाइटसम्मको मेमोरी विस्तार गर्न सकिन्छ। यसमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा छ। अगाडिपट्टि भने २ मेगापिक्सेलको क्यामेरा छ। यसमा डुअल सट, एचडी भिडियो र तस्बिर रेकर्डिङ, जियो-ट्यागिङ, टच फोकस, फेस र स्माइल डिटेक्सनलगायत विशेषता छन्।
२ हजार ६ सय एमएएचको ब्याट्री रहेको यो फोनमा आई ट्रयाकिङ, गेस्टचर क्यापाबिलिटिज, एस हेल्थ, एस भ्वाइस ड्राइभरलगायत थप विशेषता छन्। कम्पनीले 'स्मार्ट स्टे' र 'स्मार्ट पज'लगायत नयाँ सुविधा यसमा थपिएको जनाएको छ।
यस्ता सुविधाले गर्दा उपभोक्ताले यो फोनमा भिडियो हेरिरहेका बेला आँखाको गतिअनुसार प्रतिक्रिया गर्छ। प्रयोगकर्ताले स्क्रिनबाट आँखा अन्यत्र घुमाए चलिरहेको भिडियो रोकिन्छ भने फेरि स्क्रिनमा हेरेमा भिडियो चल्न थाल्छ। यो सुविधा प्रयोग गरेर स्क्रोल तलमाथि सार्न पनि सकिन्छ।
एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि र एस भ्वाइसले सवारीमा फोन गर्नलाई सहायता गर्नेछन्। विभिन्नखाले एप्लिकेसनको माध्यमबाट उपभोक्ताले विशेष सुविधा लिन सक्नेछन्। यो स्मार्टफोनमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्सलगायत सुविधा पनि छन्। यसैगरी एस ट्रान्सलेटरको सुविधा पनि छ।
नेपाली बजारमा सामसङ ग्यालेक्सी एसफोरको मूल्य ७२ हजारको हाराहारीमा हुनसक्ने कम्पनीले जनाएको छ। यसको मूल्य भने अहिले तोकिसकिएको छैन।
प्रकाशित: १३ चैत्र २०६९ १३:२३ मंगलबार





