केन्द्रमा स्मार्टफोन
सन् २०१२ स्मार्टफोनकै लागि महत्वपूर्ण रह्यो। यसको प्रभाव यो वर्ष पनि कायम रहनेछ। यो वर्ष स्मार्टफोन उत्पादकहरूले आफ्नो प्रोसेसरको क्षमता बढाउनेमा आफूलाई तल्लीन पार्नेछन्। यसले ग्याजेट्स उत्पादकबीच चर्को होडबाजी चल्नेछ। र, यसको प्रत्यक्ष फाइदा तपाईंहामी उपभोक्ताले पाउनेछौँ। बढ्दो बजारसँग प्रविधि सस्तिँदो छ। विश्वमा सबैभन्दा ठूलो बजार समेट्ने भएकाले पनि ग्याजेटस्को मूल्य ओरालोतिर लाग्नेछ।
यो वर्ष ब्ल्याकबेरी, एप्पल र सामसुङ स्मार्टफोनको प्रतिस्पर्धामा सबैभन्दा धेरै सक्रिय हुनेछन्। सामसुङ र एप्पलबीच २०१२ मा चर्को भिडन्त नै चल्यो। यो भिडन्त यो वर्ष पनि मत्थर हुनेछैन। सँगै, स्मार्टफोन बजारमा केही पछाडि परेको व्ल्याकबेरीलाई आफूलाई बजारमा उठाउन थप मेहनत गर्नेछ।
टेलिभिजनको भविष्य
टेलिभिजनको भविष्य पनि २०१३ मा फरक रूपमा परिभाषित हुने अपेक्षा गरिएको छ। सन् २०१२ मा एलसिडीबाट टेलिभिजन स्मार्ट टेलिभिजनको पुस्तामा छिर्यो। इन्टरनेट चलाउन र थि्रडी सिनेमा हेर्न सकिने प्रविधि २०१२ मै आए। यही वर्ष ओएलइडी पनि भित्रियो तर व्यापक हुने अवस्थामा पुगेन। हो, २०१३ मा ओएलइडीको प्रवर्द्धनको शुरुवात हुनेछ। यो वर्ष लस भेगासमा आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक्स शोमा यो प्रविधिको टेलिभिजनले महŒवपूर्ण स्थान लिनेछ। त्यस्तै फोर के प्रविधि पनि यो वर्ष चर्चामा रहनेछ। सामसुङ र एलजी कम्पनीले ‘दी फ्युचर' भनेर ओएलइडी उत्पादनलाई प्राथमिकताका साथ अगाडि सारिसकेका छन्। लस भेगासमा यी दुई कम्पनीले टेलिभिजनमा आफूलाई अब्बल देखाउन कुनै पनि कसर छाड्नेछैनन्। तर, हाम्रा लागि भने यी दुवै कम्पनीका टेलिभिजन भने उपभोग्य मूल्यमा पाउन केही समय लाग्नेछ। ५५ इन्चको ओएलइडी टेलिभिजनको शुरुवाती मूल्य १० हजार डलर तोकिएको छ। थि्रडी टेलिभिजन प्रविधिमा पनि विशेष सुधार हुनेछ यो वर्ष।
तोसिवा कम्पनीले अल्ट्रा एचडी अर्थात् फोर के प्रविधिको टेलिभिजन ल्याउने घोषणा गरिसकेको छ। एलजी, सोनीजस्ता कम्पनीले पनि यो प्रविधिमा हात हालिसकेका छन्। यो प्रविधिको ८४ इन्च आकारको टेलिभिजनको मूल्य २० हजार डलरबाट शुरु हुने भएकाले हाम्रो पहुँचमा आइपुग्न केही समय लाग्नेछ। चिनियाँ कम्पनीहरूले पनि यो प्रविधिको टेलिभिजन ल्याउने तयारी गरिरहेकाले मूल्य प्रतिस्पर्धा पनि राम्रैसँग हुनेछ।
एप्सको बिगबिगी
स्मार्टफोन र ट्याब्लेटको दबदबा हुनेछ २०१३ मा। जति धेरै ग्याजेट्सको प्रयोग बढ्छ, यस्ता ग्याजेटमा प्रयोग हुने एप्सहरू पनि उत्पादन हुने क्रम बढ्ने निश्चित छ। प्रविधि उद्योगमा हार्डवेयरको उत्पादनले जहिले पनि सफ्टवेयरको बजार बढाउने काम गरिरहेको हुन्छ। यो वर्ष निश्चित रूपमा एप्लिकेसन्सहरूको उत्पादन माथितिर उकालिनेछ। बजारमा आउने ग्याजेट्सको अपरेटिङ सिस्टमहरू थपिन सक्छन् तर बजारमा स्थापित भइसकेका अपरेटिङ सिस्टम विस्थापित भइहाल्ने स्थिति तयार हुनेछैन। किनकि चलिरहेका सफ्टवेयरमा सुधार र त्यसको कार्य क्षमता बढाउन कम्पनीहरू जुटिरहेका छन्।
एप्सहरूमध्ये सबैभन्दा बढी ठाउँ भने गेमिङले लिने निश्चित छ। अनलाइनबाट खेलिने खेलहरू अब ट्याब्लेट र स्मार्टफोनमा आधारित हुन थालिसकेका छन्। त्यस्तै मानिसका दैनिकीसँग जोडिने एप्सहरू पनि तयार हुनेछन्। शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा आधारित एप्लिकेसन्सहरूले मानिसको दैनिकीमा सहजता थप्दै लैजानेछ।
स्मल इज ब्युटिफुल
ग्याजेट्स सानो अथवा स्लिम हुने क्रम यो वर्ष पनि जारी रहनेछ। टेलिभिजनहरू थप पातला हुनेछन्। ल्यापटपहरू थप हलुका हुनेछन्। ट्याब्लेटको आकार पनि मसिनो हुने होडमा जानेछ। आकार जति सानो हुँदै जान्छ, यस्ता ग्याजेटको क्षमतामा भने कुनै कमी आउनेछैन। क्षमता बढ्नु र आकार घट्नु प्रविधिको विशेषता नै हो। यसैअनुरूप यो वर्ष पनि ‘स्मल इज ब्युटिफुल' भन्ने अवधारणा कायम रहनेछ। ग्याजेटका चिप्सहरू सानो तर बढी क्षमताको हुने भएकाले मानिसहरूलाई बोक्न थप सुविधा हुनेछ।
नेटबुकलाई बाई
ल्यापटपभन्दा सानो तर लामो समयसम्म ब्याट्री खप्ने भएकाले बजारमा राम्रो हिस्सा लिएको नेटबुकको बजार यो वर्षबाट ओरालोतिर जाने निश्चत छ। आकारमा सानोकै आधारमात्र मान्ने हो भने यसको बजार हिस्सा ट्याब्लेटले खोस्ने छ। ठूलो आकारको ल्यापटपको बजार यथावत रहनेछ। किनकि व्यावसायिक काम गर्न अहिलेसम्म तयार भएका नेटबुक र ट्याब्लेटहरूको क्षमताले पुग्दैन। त्यसैले ठूला आकारका व्यावसायिक ल्यापटपको बजार यथावत रहन्छ। ब्रान्डका आधारमा एप्पलको म्याकबुकले सबैभन्दा बढी ठाउँ पाउने र अन्य धेरै कम्पनीहरू सस्तो उत्पादनको होडमा रहने छन्। तर, ट्याब्लेटको बढ्दो प्रयोगले ल्यापटपको बजार हिस्सा भने केही हदसम्म खोसिनेछ।
प्रकाशित: १९ पुस २०६९ १२:३३ बिहीबार





