१६ चैत्र २०८० शुक्रबार
प्रविधि

ऐसेलुखर्कमा महिनौंदेखि ल्याण्डलाईन फोन ठप्प

ऐसेलुखर्कबजारमा सडकमै अलपत्र परेको ल्याण्डलाईन फोनको तार । तस्बिर सौजन्य : खेमराज पुरी

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा महिनौंदेखि ल्याण्डलाईन टेलीफोन सेवा ठप्प भएको छ । ऐसेलुखर्क बजारमा विस्तार गरिएको ल्याण्डलाईन फोन सूचारु गराउनका लागि नेपाल टेलीकमलाई पटक–पटक आग्रह गरेपछि बेवास्ता गरेको उपभोक्ताको गुनासो छ । लकडाउन सुरु हुनुभन्दा हप्ता दिनअघिको चट्याङका कारण ठप्प बनेको ल्याण्डलाईन फोन सूचारु गराउनमा टेलीकमले चासो नदिएको स्थानीय टेकेन्द्र राजभण्डारीले बताए ।  

ऐसेलुखर्कस्थित ल्याण्डलाईन फोनको टावरमा चट्याङले अशर पु¥याउँदा फोन अवरुद्ध भएको हो । त्यसमाथि ऐसेलुखर्कबजारमा केन्द्रिय विद्युत प्रशारणलाईन विस्तारकाक्रममा टेलीकमको तार बजारमा यत्रतत्र छरिएका छन् । स्थानीय लिदिङ खोला लघुजलविद्युत योजनाको पोलमा टाँगिएको ल्याण्डलाईन फोनको तार हाल केन्द्रिय विद्युत विस्तारकाक्रममा भुँईमा यत्रतत्र छरिन पुगेको छ । ‘पहिला लघुजलविद्युत योजनाको पोलमा ल्याण्डलाईनको तार टाँगिएको थियो, अहिले राष्ट्रिय प्रशारण विस्तारका लागि विद्युतको नयाँ पोल राखिएको छ,’ राजभण्डारीले भने, ‘विद्युतको नयाँ पोल राख्नेक्रममा ल्याण्डलाईनको तार भने बजार क्षेत्रमा जमिनमै मिल्काइएका छन् । टेलीकम बेखबर छ ।’ ऐसेलुखर्क बजार ऐसेलुखर्क गाउँपालिकाको केन्द्र हो ।  

ल्याण्डलाईन फोनको तार बजारका सडकमा यत्रतत्र छरिँदा गाडी आवत–जावतमै समस्या सिर्जना हुने गरेको छ । ल्याण्डलाईन फोन नचल्दा ईन्टरनेट सेवा समेत ठप्प छ । फोन नचल्दा ल्याण्डलाईन फोन र इन्टरनेटको रिचार्ज खेर गएको उपभोक्ताको गुनासो छ । ऐसेलुखर्क बजारमा करिब सयको हाराहारीमा ल्याण्डलाईन विस्तार गरिएका छन् । टेलीकमको ईन्टरनेट नचल्दा कतिपय उपभोक्ता निजी कम्पनीका ईन्टरनेट उपयोग गर्न थालेका छन् । ल्याण्डलाईन फोनमा आएको समस्या समाधानका लागि नेपाल टेलीकम शाखा खोटाङको कार्यालयलाई गुनासो गर्दा टेलीकमको ओखलढुंगा शाखालाई देखाउने गरिएको राजभण्डारीले बताए । टेलीकमको ओखलढुंगा शाखाले पनि ल्याण्डलाईन फोन मर्मतका लागि ‘आउने’ भन्दै उपभोक्तालाई टार्ने गरेका छन् ।

प्रकाशित: २० असार २०७७ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App