क्यान इन्फोटेकमा दर्शक र प्रदर्शकको संख्या बढेपनि जेन्युइन सफ्टवयरको प्रयोग भने त्यसरुपमा बढ्न सकेको छैन। इन्फोटेकमा कम्प्युटर बेच्न राख्ने व्यापारीदेखि लिएर किन्नेले समेत पनि नक्कली (पाइरेटेड) अपरेटिङ सिस्टमै खोज्छन्।
इन्फोटेकमा राखिएका ल्यापटप र नेटबुकमध्य ९० प्रतिशतमा अपरेटिङ विन्डोज सफ्टवयरनै 'पाइरेटेड' छन्। ...जेन्युइन सफ्टवयर राख्दा कम्प्युटरको मूल्य कम्तीमा ८ देखि १० हजारसम्म बढी पर्छ,' मर्कन्टाइलका सेल्स एन्ड मार्केटिङमा कार्यरत प्रकाश ज्ञवालीले भने। कम्तीमा ८ हजार रुपैयाँ महँगो पर्ने भएपछि ल्यापटप किन्न खोज्नेले समेत ...चलिहाल्छ' भन्ने धारणाले पाइरेटेड अपरेटिङ सिस्टमनै किन्ने गरेका छन्।
जेन्युइन किन्न खोज्नेलाई बिक्रेताहरुले इन्स्टल गरेर दिने गर्छन्। तर, जेन्युइन किन्न खोज्ने ग्राहक पनि निकै कम छन् भने जेन्युइन प्रयोग गर्दा हुने फाइदाबारे जानकारी दिने पनि निकै कममात्र छन्।
क्यानका अध्यक्ष सुरेशकुमार कर्ण जेन्युइन सफ्टवयरलाई तिनुपर्ने चार्जले गर्दा पाइरेटेडको प्रयोग बढिरहेको स्वीकार गर्छन्। 'नेपालीको क्रयशक्ति निकै कम भएकाले पनि यो समस्या आएको हो, विस्तारै अब जेन्युइन खोज्नेहरु बढेका छन्,' उनले भने।
'जेन्युइन प्रयोग गर्दा कम्प्युटरले दुःख दिने सम्भावना ज्यादै कम हुन्छ,' आइड्रिम इन्टरनेसनलका सुशील पौडेलले भने। तर, जेन्युइन खोज्ने ग्राहक नै ज्यादै कम भएको उनले बताए। इन्फोटेकमा उपयुक्त मूल्यमा ल्यापटप पाइन्छ भनेर आएका बताउने विद्यार्थी सरिता अधिकारी समेत सस्तो खोज्दै थिइन्। 'चलिहाल्छ, किन चाहियो र जेन्युइन सफ्टवयर?' उनले नागरिकसँग उल्टै प्रश्न गरिन्।
कम्प्युटर र सूचना प्रविधिलाई जनस्तरसम्म पुर्याउन क्यानले जिल्ला जिल्लामा आयोजना गर्ने इन्फोटेकले निकै ठूलो योगदान गरेको छ। तर, जेन्युइन अपरेटिङ सिस्टम र सफ्टवेयरबारे भने चासो जगाउन कम्प्युटर बेच्नेदेखि लिएर सबैभन्दा चल्ने अपरेटिङ सिस्टम विन्डोजको स्थानीय अधिकृत बिक्रेताको समेत प्रयास पुगेको छैन।
'कार्यालयले अहिले जेन्युइन अपरेटिङ सिस्टम खोज्छन्, तर घरको निम्ति किन्नेमा भने पाइरेटेड भए पनि चल्छ भन्ने सोचाइ हाबी छ,' फुजित्सु ल्यापटपका बिक्रेता सुमित अग्रवाल भन्छन्। उनले बेच्न राखेका ल्यापटपमध्य अधिकांशमा जेन्युइन विन्डोज छैनन्। 'कसैले जेन्युइन चाहियो भन्छ भने हामी सफ्टवेयरको पैसा लिएर राखिदिन्छौं,' उनले भने।
कम्प्युटर प्रयोगकर्ताको आधारमा कम्तीमा ८ हजारदेखि २५ हजार रुपैयाँ तिरेर नेपालमै जेन्युइन विन्डोज सेभेन अपरेटिङ सिस्टम पाइन्छ। विन्डोज स्टार्टर, होम प्रिमियम, बिजनेस जस्ता भर्सनमा नेपालमै अपरेटिङ सिस्टम किन्न पनि पाइन्छ। विन्डोज सेभेनमात्र होइन विन्डोज भिस्टा, एक्सपीसमेत जेन्युइन छैनन्। किन्नेले नै नखोजेपछि पहिले नै इन्स्टल नगरिएको व्यापारीहरु बताउँछन्।
क्यान इन्फोटेकमा ल्यापटप, नेटबुक र डेक्सटप कम्प्युटर बेच्नेहरुले जेन्युइन खोज्नेलाई राखिदिन्छन्। आइड्रिमले १० हजार रुपैयाँ थप लिएर जेन्युइन सफ्टवेयर किन्न खोज्नेलाई इन्स्टलसमेत गरिदिने गरेको छ। इन्फोटेकमा स्टल राखेका अधिकांश कम्पनीहरुले जेन्युइन सफ्टवेयर खोज्नेलाई त्यसको चार्ज लिएर दिने नीति भए पनि ग्राहकले नै जेन्युइन खोज्दैनन्।
कम्प्युटर किन्नेले नै जेन्युइन नखोजेपछि एचपी, डेल जस्ता चलेका ल्यापटप र नेटबुक निर्माता कम्पनीले समेत अधिकांश कम्प्युटरमा राखेका छैनन्। कतिपयमा तीन महिनाको लागि ...ट्रायल भर्सन' राखे पनि त्यसलाई क्र्याक गरेर चलाउँछन्।
कम्प्युटरमा अहिले सबैभन्दा चलेको अपरेटिङ सिस्टम विन्डोज हो। ओपन सोर्स सफ्टवेयरको रुपमा लिनक्स सुरु भए पनि यसप्रति कम्प्युटर प्रयोगकर्ताहरु अभ्यस्त छैनन्। निःशुल्क भए पनि लिनक्सको निकै कममात्र कम्प्युटरमा प्रयोग भएको छ।
कम्प्युटर बिक्रेताका अनुसार आइएनजिओहरुमा काम गर्नेले घरायसी प्रयोगको लागि किन्ने ल्यापटप र नेटबुकमा जेन्युइन सफ्टवयर प्रयोग गर्छन। विद्यार्थीले ल्यापटप र नेटबुक किन्दा ९८ प्रतिशत जेन्युइन खोज्दैनन्। डेक्सटपको अवस्था त झनै कहालीलाग्दो छ। 'ब्रान्डेड भन्दाबाहेकका कुनै पनि डेक्सटपमा जेन्युइन सफ्टवेयर हुँदैनन्,' म्याक्स इन्टरनेसनलका देबेन्द्र कुँबर भन्छन्।
कम्प्युटरमा जेन्युइन अपरेटिङ सिस्टम राख्दा समय समयमा आफैं अपडेट हुने, भाइरसले समेत त्यति दुःख दिदैन। 'जेन्युइन राख्दा माइक्रोसफ्टले बनाएका सफ्टवेयरसमेत नियमित अपडेट हुन्छ,' आइड्रिमका पौडेल भन्छन्। जेन्युइन राख्दा सुरुमा लगानी गर्नुपरे पनि यसको प्रतिफल भने पछिसम्म प्राप्त भइरहन्छ।
माइक्रोसफ्टले नेपालमा जेन्युइन सफ्टवयरको प्रयोग बढाउन गत वर्ष १५ हजार विद्यार्थीलाई विन्डोज सेभेन निःशुल्क बाँडेको थियो। यस पटक क्यान इन्फोटेकमा एकहजार रुपैयाँमै जेन्युइन विन्डोज सेभेन र अफिस २०१० दिन थालेको छ। 'हामीले जेन्युइन सफ्टवयर एन्टिभाइरसकै मूल्यमा दिन सुरु गरेका छौं,' माइक्रोसफ्टका कन्ट्री मेनेजर एलेन तुलाधरले भने।
प्रकाशित: २१ माघ २०६७ ०२:३७ शुक्रबार





