प्राधिकरणले सार्वजनिक गरेको टेलिफोन गुणस्तर अध्ययन प्रतिवेदन झण्डै एक वर्ष पुरानो भएको टेलिकमले उल्लेख गरेको छ। 'कल गर्दा बीचमै काटिने दर अहिले निकै कम भएको छ,' टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। उनका अनुसार कलड्रप दर अहिले शून्य दशमलव ९ प्रतिशत मात्र छ। यो भनेको एकसय टेलिफोनमध्य एउटामात्र बीचमा काटिन्छ।
'प्राधिकरणको सूचकांकको आधारमा हामीले पनि नियमित रुपमा अनुगमन गरिरहेका छौं, प्रतिवेदनले औंल्याएजस्तो टेलिकमको सेवा गुणस्तरहीन भन्नेमा हाम्रो आपत्ति छ,' थिकेले नागरिकसँग भने। प्राधिकरणले टेलिकमको जिएसएम मोबाइलको कलड्रप दर ३ दशमलवल ७३ (एकसय कलमा झन्डै चार) र ल्यान्डलाइनमा ३ दशलमव २३ प्रतिशत (एक सयमा तीनभन्दा केही बढी) भइरहेको प्रतिवेदन सार्वजनिक गरेको छ।
टेलिकमकै सिडिएमए मोबाइलको कलड्रप दर शून्य रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।
टेलिकमको मोबाइलबाट कुराकानी हुँदा स्पष्टसँग कुनै अवरोध कुराकानी गर्न सकिने दर अहिले ७० प्रतिशत रहेको टेलिकमको दावी छ। प्राधिकरणले यो दर ५५ प्रतिशतमात्र रहेको जनाएको छ। 'अरु सेवा प्रदायकहरु र हाम्रै नेटवर्कमा अन्तरआवद्धता बढाएकोले कल कम्प्लिसन (कुराकानी स्पष्ट) हुने र सजिलै कनेक्सन हुने दर ७० प्रतिशत पुगेको छ,' उनले भने।
टेलिकमले गुणस्तर बढाउन एक वर्षदेखि टावरहरु थप गर्ने, अप्टिमाइजेसनको काम अघि बढाइरहेको छ। अहिले टेलिकमको जिएमएम मोबाइलका टावरहरुमात्र एकहजार सातसय पुगेको छ।
टेलिकमले मोबाइलको गुणस्तर कुन मापदण्डका आधारमा अध्ययन गरियो त्यसको जानकारी सेवा प्रदायकलाई दिनुपर्ने जनाएको छ। प्राधिकरणले त्रिभुवन विश्वविद्यालयको सेडालाई टेलिफोनको गुणस्तर अध्ययन गर्ने जिम्मा दिएको थियो।
प्रतिवेदन अनुसार युटिएलको सिडिएमए फोन सबै मापदण्डमा अगाडि देखिएपछि प्राधिकरणभित्रै यो प्रतिवेदनको विश्वसनियताको विषयमा टिप्पणी भइरहेका छन्।
प्रकाशित: २२ मंसिर २०६७ २१:५० बुधबार





