२९ मंसिर २०८२ सोमबार
image/svg+xml
प्रविधि

टेलिकमको वाचा धेरै, काम थोरै

रामचन्द्र भट्ट, काठमाडौं, कात्तिक १४- वाचा गरेरै हुने भए नेपालको मोबाइल सेवा संसारकै उत्कृष्ट भइसक्ने थियो। प्राविधिक मात्र खटेर सुध्रने भए नेपाल टेलिकमले ग्राहकबाट धेरै स्यावासी पाइसक्थ्यो।

  मोबाइल सुरु भएको एघार वर्षमा टेलिकमले जति गुणस्तरीय सेवाको बाचा सायदै कुनै संस्थाले गरेको छ। प्रत्येकचोटि नयाँ हाकिम आएपछि उसको एजेन्डै मोबाइल फोनको सुधार हुन्छ। उनीहरु 'दस दिनमा ठिक पार्छु,' 'बीस दिनमा ठिक पार्छु' भन्दै बाचा गर्छन्। समस्या जस्ताको तस्तै।

यतिमात्र होइन, गुणस्तर सुधार्न टेलिकम व्यवस्थापनले दुई वर्षयता चारपटक मोबाइल सेवा निर्देशनालयको प्रमुख फेर्‍यो। यसबीच लोकराज शर्मा, विश्वनाथ गोयल, विष्णु कसजु निर्देशक भए। र, चौथा निर्देशक जीवनरत्न शाक्य पनि आफूले सक्दो प्रयास गरिरहेकै बताइरहेका छन्।

'मोबाइलको काम साह्रै्र अपजसी रहेछ, दिनमा १८ घन्टा खटेको छु, तर कहीँ न कहीँ समस्या आइहाल्छ,' उनले भने, 'कहिल्यै सन्तुष्ट पार्न सकिएन।'

एकपछि अर्को वाचा असफल हुँदा पनि मोबाइल सेवा फिटिक्कै नसुध्रिनुमा त्यहाँका अधिकारी सस्तो र कमसल चिनियाँ उपकरणलाई दोष दिन्छन्।

चार वर्षअघि टेलिकमले सस्तो प्रस्तावलाई स्वीकृत गरेर चिनियाँ जेडटीईको उपकरण जडान गर्नुले स्तरीय मोबाइल सेवाबाट उपभोक्ता वञ्चित भएको उनीहरूको राय छ।

प्राविधिकहरूका अनुसार चिनियाँ कम्पनी जेडटिईले अरू देशभन्दा सस्तोमा बेचेको उपकरण किनेपछि नै सेवाको स्तर खस्केको हो। टेलिकमको तत्कालीन सञ्चालक समिति र व्यवस्थापनले पनि सस्तोमा पाइयो भनेर दंग पर्दै उसको भित्री रणनीति नबुझेकोले अहिले समस्या आएको लामो समयदेखि कार्यरत एक प्राविधिकले बताए।

त्यतिखेर ३५ लाख मोबाइल विस्तार गर्न विश्वव्यापी बोलपत्र आह्वान गर्दा दुई चिनियाँ कम्पनी जेडटिई र हुवाईबीच होडबाजी चलेको थियो। जेडटिईले बोलपत्र हात पार्न गुणस्तरमा सम्झौता गर्दै 'अवास्तविक रूपमा सस्तो मूल्य' राखेको अधिकारीहरूको भनाइ छ। उसको मूल्य एक लाइन मोबाइलको झन्डै चार डलर थियो। तर अहिले बिभिन्न भित्री हिसाब किताव गर्दा प्रति लाइन २७ डलरको हाराहारीमा टेलिकमले तिरिसकेको स्रोतले बतायो।

'त्यतिखेर हामीले सोचेभन्दा निकै कम मूल्यको प्रस्ताव आयो,' टेलिकम स्रोतले भन्यो, 'त्यही उपकरण जडान गरेदेखि नै मोबाइल सेवाको स्तर खस्कन थालेको हो।'

तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने 'तोकिएको मापदण्ड पुरा गर्दै अरूभन्दा सस्तोमा पाएपछि त्यसको विकल्प नभएको' बताए।

यसअघि टेलिकमले अमेरिकी नोर्टेल कम्पनीसँग १० हजार लाइन मोबाइल उपकरण किनेको थियो। दोस्रो चरणमा चिनियाँ हुवाई कम्पनीको उपकरण राखेर ५० हजार लाइन विस्तार गर्‍यो। त्यसयता दुईपटक गरी जेडटिईसँग उपकरण किनेको छ। देशभर ४० लाख जिएसएम मोबाइल सञ्चालनमा छन्।

आधारभूत उपकरणको गुणस्तरै कमसल परेकाले जति गर्दा पनि स्तर सुधार्न नसकेको टेलिकमका प्राविधिकहरू बताउँछन्।

'केही ठाउँमा बिटिएस (टावर) राखे, अप्टिमाइजेसन गरे अलिअलि सुधार गर्न सकिएला, तर उपकरणै राम्रो नभएपछि पुरै स्तरीय बनाउन सम्भव छैन,' लामो समय टेलिकममा काम गरेर अवकाश पाएका एक विज्ञले भने।

जेडटिईको कमसल उपकरणबाट टेलिकममात्र होइन, उसको प्रतिस्पर्धी एनसेल पनि प्रभावित भएको छ। त्यही कम्पनीको चिनियाँ उपकरण प्रयोग गर्न थालेपछि एनसेलमा गुणस्तर खस्केको गुनासोहरू बढ्न थालेका छन्। नियमन निकाय दूरसञ्चार प्राधिकरणले सोमबार गुणस्तरकै विषयलाई लिएर एनसेललाई पत्र काटिसकेको छ।

'केही महिना अघिसम्म एनसेलको आफ्नै नेटवर्कमा कल गर्दा कुनै समस्या थिएन, अहिले उसकै नेटवर्कमा पनि समस्या देखिएको हामीले पायौं,' प्राधिकरण स्रोतले भन्यो। एनसेलले टेलिकमसँग 'आक्रामक प्रतिस्पर्धा' गर्ने भन्दै जेडटिईको उपकरण हालेको हो।

एनसेलका अधिकारीहरु भने चिनिया सामानलाई दोष दिँदैनन्। 'चिनिया सामान अहिले संसारभरि चलेका छन्, गुणस्तरमा त्यस्तो समस्या भेटिएको छैन,' एनसेलको लगानीकर्ता टेलिया सोनेराका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत लार्स निवर्गले नागरिकसँग भने।

टेन्डर गर्दा मूल्यमात्र नहेरी सामानको गुणस्तरमा पनि ध्यान दिन प्राविधिक तथा व्यवस्थापकहरू सचेत नभएसम्म मोबाइल फोनको स्तर नसुध्रने टेलिकम वर्कर्स युनियनका पूर्वअध्यक्ष शंकर लामिछानेले बताए।

'नेपाललाई सस्तो र कमसल उपकरणको डम्पिङ साइट बनाइएको छ,' उनले भने, 'हिजोका दिनमा दूरदर्शी भएर सोच्न नसक्दा टेलिकमको सेवाप्रति जनविश्वास गुमेको हो। यही क्रम जारी रहे संस्थाको भविष्य छैन।'

निर्देशनालयका निर्देशक शाक्य भने गुणस्तर सुधारमा कानुनी प्रावधान पनि बाधक रहेको बताउँछन्। 'कहिलेकाहीँ मोबाइल सानातिना समस्या आउँछन्, त्यसलाई तुरुन्त सल्टाउन पनि हामीले सारा खरिद नियमहरू पुरा गर्नुपर्छ,' उनले भने, 'यसले सुधार प्रक्रिया ढिला हुन्छ र समस्या झन्झन् बल्झँदै जान्छ।'

'मलाई लाज लाग्छ'


टेलिकमको विज्ञापनमा आवाज दिएका एड एभेन्युजका प्रमुख भाष्करराज राजकर्णिकारले 'मोबाइलको गुणस्तर हेर्दा आफूलाई लाज लाग्ने' बताए।
'मैले मोबाइलको विज्ञापनमा स्वर दिएको छु। त्यो स्वर सुन्दा मलाई आजभोलि आफैंलाई गिज्याएजस्तो लाग्न थालेको छ,' उनले नागरिकसँग भने। उनको आवाजमा टेलिकमको 'हामी जोड्छौं तपाईंलाई तपाईंको संसारसँग' भन्ने विज्ञापन हरेकदिन रेडियो र टेलिभिजनबाट प्रसारण भइरहेको छ।'

'म आफैं पाँचवटा मोबाइल बोकेर हिँड्छु, जुनले जहाँ काम गर्छ त्यही चलाउँछु,' उनले भने।
नागरिकले प्रतिक्रियाका लागि सम्पर्क गर्दा मंगलबार राजकर्णिकार धादिङबेसीमा रहेछन्। टेलिकमको मोबाइलमा धेरैपटक सम्पर्क राख्दा पनि नभएपछि एनसेलको मोबाइलमा कल गर्नुपरेको थियो।

प्रकाशित: १४ कार्तिक २०६७ ००:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App