‘अहिलेको महसुल संकलन प्रणालीमा सुधार गर्नुपर्ने माग हामीले व्यवस्थापनलाई पेस गरेका छौं,' नेपाल दूरसञ्चार कर्मचारी संघका सचिव लक्ष्मीप्रसाद भट्टराईले भने। संघले महसुल काउन्टर विस्तार गरेर उपभोक्ताले बुझाउन पाउने सुविधा दिन माग गरेको छ।
बैंकका काउन्टरहरुबाट महसुल बुझाउन सक्ने व्यवस्था गर्न र महसुल काउण्टरलाई कुनै पनि दिन छुट्टी नदिन पनि पनि संघले आग्रह गरेको छ। ग्राहक बढेको आधारमा टेलिकमले महसुल काउन्टर बढाउन सकेको छैन।
काउन्टरमा पुगेर मासिक महसुल तिर्नुपर्ने तारवाला टेलिफोन, पोस्टपेड मोबाइल, सिडिएमए फोन ७ लाख ८९ हजार छन्।
कर्मचारी संघले कम मूल्यका मोबाइल रिचार्ज कार्डको व्यवस्था गरेर उपभोक्तासम्म पुर्याउन व्यवस्थापनलाई आग्रह गरेको छ। अहिले टेलिकमले एक सय, दुई सय, पाँच सय र एक हजार रुपैयाँदरका रिचार्ज कार्डहरु मात्र बजारमा उपलब्ध छन्। कर्मचारीले १०, २०, ५० खुद्रादरका रिचार्ज कार्ड उपलब्ध गराउन व्यवस्थापनसँग माग गरेका हुन्।
अहिले जिएसएम र सिडिएमए प्रिपेड मोबाइलको निम्ति छुट्टै रिचार्ज कार्ड रहेकोमा त्यसमा एकरुपता ल्याउन माग गरिएको छ।
संघले टेलिकमको सेवालाई गुणस्तरीय बनाउनुपर्ने, उपकरण निर्माताको कमजोरीले आम्दानी गुमेको अवस्थामा ती कम्पनीहरुबाटै क्षतिपूर्ति तिराउनुपर्ने, टेलिकमसँग भएको कोषलाई प्रभावकारी रुपमा लगानी गर्नुपर्ने, अन्तर्राष्ट्रिय गेटवेहरुलाई हटाएर इन्टरनेट प्रविधि आधारितमा लैजानसमेत माग गरिएको छ।
भत्तासहित भ्रमण बिदा माग
टेलिकम कर्मचारीले भत्तासहित पर्यटन (भ्रमण) बिदा दिनुपर्ने माग व्यवस्थापनसँग गरेका छन्।
टेलिकम कर्मचारीलाई आर्थिक वर्ष २०६५/६६ को नाफाबाट ३० करोड रुपैयाँ बोसन दिने निर्णय अर्थ मन्त्रालयले गरेको छ। हरेक कर्मचारीको भागमा यो रकम सालाखाखा ६० हजार रुपैयाँ पर्न आउँछ।
कर्मचारीलाई प्रोत्साहन भत्ताको रुपमा दिन सञ्चालक समितिले ४६ करोड रुपैयाँ छुट्टाएको छ।
घुम्नको लागि कर्मचारीले छुट्टै बजेट र कार्यक्रम दिनुपर्ने माग गरेका हुन्। धनी मुलुकहरुले आफ्ना कर्मचारीलाई वर्षको निश्चित समय घुम्न जान छुट्टी र रकम दिने गर्छन्।
संघले सबै कर्मचारीलाई एडिएसएल इन्टरनेट, तारवाला टेलिफोन नपाएकालाई सिडिएमए फोन, सेयर नपाएका कर्मचारीलाई सेयर दिन पनि प्रबन्ध निर्देशकसँग माग गरेका छन्। टेलिकम कर्मचारीले स्थानीय टेलिफोन पूरै छुट पाउँछन्। पोस्टपेड मोबाइलमा लाग्ने मासिक न्यूनतम महसुल (तीनसय ७२ रुपैयाँ) छुट पाउँछन्।
प्रकाशित: ११ श्रावण २०६७ १७:४३ मंगलबार





