१८ चैत्र २०८१ सोमबार
image/svg+xml २१:५५ अपराह्न
प्रविधि

मंगलग्रहमा मानव बस्ती बसाउने मस्कको सपना नजिकिँदै, सन् २०२९ सम्म अवतरणको लक्ष्य

स्पेसएक्सका संस्थापक एलन मस्कले मंगलग्रहमा मानव बस्ती बसाउने आफ्नो महत्वाकांक्षी योजनालाई तीव्रता दिइरहेका छन्। उनले शनिबार सामाजिक सञ्जाल एक्समार्फत सन् २०२६ को अन्त्यसम्ममा टेस्लाको मानव निर्मित रोबोट ‘अप्टिमस’ सहित स्टारशिप रकेट मंगलग्रहका लागि प्रस्थान गर्ने दाबी गरेका छन्।

विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट स्टारशिप (४०३ फिट अग्लो, स्ट्याच्यू अफ लिबर्टीभन्दा करिब १०० फिट अग्लो) मंगलग्रहको उपनिवेशीकरणका लागि मस्कको दीर्घकालीन दृष्टिकोणको आधारस्तम्भ हो। “सन् २०२६ को अन्त्यमा स्टारशिपले अप्टिमसलाई मंगलग्रहमा लैजानेछ। यदि यी प्रारम्भिक अवतरणहरू सफल भए, सन् २०२९ मा मानव अवतरण सम्भव हुन सक्छ, यद्यपि सन् २०३१ सम्म लाग्ने सम्भावना बढी छ,” मस्कले एक्समा लेखेका छन्।

टेस्लाका कार्यकारी प्रमुखसमेत रहेका मस्कले गत वर्ष एक कार्यक्रममा अप्टिमस रोबोट सार्वजनिक गरेका थिए। यो रोबोट सानातिना काम गर्न र मित्रवत व्यवहार गर्न सक्षम हुने उनको भनाइ छ। मस्कले यसलाई २०,००० देखि ३०,००० डलरमा बिक्री गर्न सकिने बताएका छन्।

स्टारशिप पूर्ण रूपमा पुन: प्रयोगयोग्य बनाउन डिजाइन गरिएको छ र नासाको आर्टेमिस कार्यक्रमअन्तर्गत चन्द्रमामा अन्तरिक्ष यात्रीहरूलाई अवतरण गराउने लक्ष्यका लागि पनि प्रयोग हुने अपेक्षा गरिएको छ। तर, स्पेसएक्सले यो रकेट भरपर्दो, चालक दलका लागि सुरक्षित र ‘इन-ऑर्बिट रिफ्युलिङ’ जस्ता जटिल प्रक्रियामा सक्षम छ भनी प्रमाणित गर्नुपर्नेछ। यो गहिरो अन्तरिक्ष अभियानका लागि अत्यावश्यक छ।

यसै महिना (मार्च २०२५ मा) स्टारशिपको एक प्रोटोटाइपको परीक्षण उडान कक्षमा पुगे पनि विस्फोटमा परिणत भएको थियो। यो घटना अघिल्लो असफल प्रयासको दोहोरिएको जस्तो देखिन्छ। यद्यपि, स्पेसएक्सले यस्ता परीक्षणबाट सिक्दै आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको छ। (एएफपी)

प्रकाशित: २ चैत्र २०८१ २०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App