१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

हेटौंडामा क्यान इन्फोटेक सुरु

क्यान इन्फोटेकको उद्घाटन गर्दै मन्त्री मोक्तान लगायत।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मकवानपुरको आयोजनामा हेटौंडामा विहीबारबाट सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु भएको छ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विहिबार प्रविधिको प्रयोग गर्दै इन्फोटेकको उद्घाटन गरेकी हुन्। ६ गतेसम्म सञ्चालन हुने मेलामा सूचना प्रविधि सम्बन्धी ४० वटा स्टल रहेका छन्।

कृषिमा प्रविधिको प्रयोग, नेटवर्किङ र सिसी टिभी सम्बन्धि तालिमसँगै शिक्षक, विद्यार्थी तथा युवा लक्षित साइबर सुरक्षा लगायतको आइसिटी सेमिनार हुनेछ। प्रदेशका सामाजिक विकास मन्त्री मोक्तानले बागमती प्रदेशमा पैसाको अभावमा प्रविधि र अनुसन्धानात्मक काम नरोकिने बताएकी छिन्। यसका लागि बागमती प्रदेश सरकारले लगानी गर्ने उनको भनाइ थियो। अहिले पनि अनुसन्धानको क्षेत्रमा सरकारले लगानी गरिरहेको जानकारी दिँदै उनले राम्रा कामका लागि मन्त्रालयको ढोका सधैं खुला रहने मन्त्री मोक्तानले जानकारी दिइन्।

चालु आर्थिक वर्षमा विभिन्न ५ शीर्षकमा करोडौंको लगानी गरेर सरकारले अनुसन्धानको काम गरिरहेको उनले बताइन्। माछा, कृषि, मानव, अटोपार्टस् लगायतको क्षेत्रमा अनुसन्धानका लागि सरकारले लगानी गरेको जानकारी दिँदै उनले केही कामको सकारात्मक नतिजा आएको दावी गरिन्। हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले प्रविधिसँग जोडिँदै पालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्न आवश्यक योजना बनाइएको जानकारी दिइन्। प्रविधिलाई सकारात्मक सदुपयोग गर्न जरुरी रहेको उनको सुझाव थियो।

कम्प्युटर एशोसिएसन महासंघ नेपाल मकवानपुरका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा भएको इन्फोटेकको उद्घाटनमा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, क्यान महासंघका केन्द्रीय अध्यक्ष रञ्जित पोदार, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलान, बागमती युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाई, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, प्रदर्शनीको मुख्य प्रायोजक आइकन सफ्टका प्रबन्ध निर्देशक श्यामकल श्रेष्ठ लगायतकाले इन्फोटेक सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए। इन्फोटेकमा १० स्थानका वैज्ञानिकहरुले बनाएको रोवट प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा हेटौंडा, बुटवल, काठमाण्डौं, बिराटनगर, चितवन लगायतका जिल्लाबाट सहभागी युवा वैज्ञानिकहरुले बनाएको रोवटको प्रतियोगिता हुँदैछ। यस्तै १६ वटा टोलीको सहभागितामा ‘पव्जी’ प्रतियोगिता हुनेछ। प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको इन्फोटेकका संयोजक पुष्पराज पुडासैनीले जानकारी दिए। प्रदर्शनीमा मोवाईल सहित अन्य इलेक्ट्रोनिक्स सामग्रीको फ्रि–सर्भिसिङ क्याम्प समेत रहेको छ।

प्रकाशित: २ चैत्र २०७९ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App