२६ आश्विन २०८३ सोमबार
image/svg+xml
खेल

झेङ छिनवेनले जितिन् चाइना ओपनको उपाधि

चिनियाँ टेनिस खेलाडी झेङ छिनवेनले फ्रेन्च ओपन च्याम्पियन मिरा आन्द्रीएभालाई पराजित गर्दै चाइना ओपनको उपाधि जितेकी छन्। आइतबार भएको फाइनलमा ओलम्पिक च्याम्पियन झेङले आन्द्रीएभालाई ७-५, ६-४ को सोझो सेटमा हराउँदै दुई वर्षपछि पहिलो उपाधि जितेकी हुन्।

झेङले पहिलो म्याच प्वाइन्टमै एस प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेकी थिइन्। निर्णायक प्रहारसँगै उनले कोर्टमै भावुक हुँदै आँसु झारेकी थिइन्।

कुहिनाको चोटका कारण लामो समय संघर्ष गरेकी झेङको विश्व वरीयता गत वर्ष करिअरकै उच्च चौथो स्थानबाट घटेर प्रतियोगिताअघि ५४औँ स्थानमा पुगेको थियो। वाइल्ड कार्डमार्फत घरेलु प्रतियोगितामा सहभागी भएकी उनले उपाधिसँगै पुनरागमन गरेकी छन्। महिला टेनिस संघ (डब्लूटीए) का अनुसार उनी अब शीर्ष ३० भित्र फर्कनेछिन्।

‘मैले निकै कठिन वर्ष बिताएकी छु,’ उपाधि समारोहमा झेङले अंग्रेजीमा भनिन्। त्यसपछि उनले एउटा लोकप्रिय गीत गाएर दर्शकलाई मनोरञ्जनसमेत दिइन्। उनको प्रस्तुतिलाई दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए।

झेङका लागि सन् २०२४ सफल वर्ष बनेको थियो। उनले अस्ट्रेलियन ओपनको फाइनल खेलेकी थिइन् भने पेरिस ओलम्पिकमा महिला एकलतर्फ स्वर्ण पदक जितेकी थिइन्। त्यसै वर्ष अक्टोबरमा जापानमा भएको प्रतियोगिता जित्दै उनले डब्लूटीए टुरमा आफ्नो पाँचौँ उपाधिसमेत हात पारेकी थिइन्।

यस वर्ष अगस्टमा अमेरिकी ओपनमा छनोट चरण पार गरेर मुख्य प्रतियोगितामा प्रवेश गरेकी झेङले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन्। उनले म्याडिसन किज र इगा स्वियातेकविरुद्धको खेलमा ५-० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेकी थिइन्। त्यस प्रदर्शनले उनको पुरानो लय फर्किएको संकेत गरेको थियो।

उपाधि जित्न नसके पनि आन्द्रीएभाले विश्व वरीयतामा करिअरकै उत्कृष्ट तेस्रो स्थानमा पुग्नेछिन्। फाइनलको पहिलो सेटमा उनले ५४ को अग्रता लिँदै तीन सेट प्वाइन्टसमेत पाएकी थिइन्। तर झेङले लगातार ११ अंक जित्दै पहिलो सेट आफ्नो पक्षमा पारिन्।

‘आज उनले वास्तवमै उत्कृष्ट खेलिन्,’ आन्द्रीएभाले झेङको प्रदर्शनबारे भनिन्, ‘उनलाई राम्रो खेलिरहेको र पुनरागमन गरिरहेको देख्नु पनि निकै राम्रो हो।’

प्रकाशित: २६ आश्विन २०८३ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App