आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जितको आत्मविश्वास भए पनि एलेक्जेन्डर जेरेभले युएस ओपनको यात्रा पहिलो चरणमै टुङ्गिने अवस्था सामना गर्नु परेको छ।
यद्यपि, फ्रेन्च ओपन च्याम्पियन एलेक्जेन्डरले निर्णायक समयमा उत्कृष्ट पुनरागमन गर्दै लोरेन्जो सोनेगोमाथि जित रचे।ग्रान्ड स्लाममा पहिलोपल्ट शीर्ष वरीयताका खेलाडी बनेका जेरेभले लोरेन्जोलाई ६–४, ३–६, ६–७ (७), ७–५, ६–४ ले हराए।उक्त खेल बुधबार बिहान सबेरै चार घण्टा ५२ मिनेट चल्यो।जहाँ जेरेभ हारनजिक पुगेर बचेका थिए।
चौथो वरीयताका तथा २४ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिच पाँच सेटको खेलमा पराजित हुँदै युएस ओपनबाट बाहिरिएका थिए। त्यसको दुई दिनपछि जेरेभ पनि अर्को शीर्ष खेलाडीका रूपमा पहिलो चरणमै बाहिरिने संघारमा पुगे।यद्यपि, उनले उत्कृष्ट पुनरागमन गरे।शीर्ष वरीयताका यानिक सिनर दायाँ घुँडाको चोटका कारण युएस ओपनमा सहभागी थिएनन्।
दोस्रो वरीयताका जेरेभ शीर्ष वरीयतामा उक्लिएका थिए।सोनेगोविरुद्ध पराजित भएको भए उनी सन् २००३ को विम्बल्डनपछि ग्रान्ड स्लामको पहिलो चरणबाटै शीर्ष वरीयता खेलाडी बाहिरिएको पहिलो व्यक्ति हुन सक्थे।
सन् २००३ मा लेटन हेविटलाई इभो कार्लोभिचले पराजित गरेका थिए।उता कोको गौफले भने युएस ओपनमा सहज सुरुआत गरिन्। दोस्रोपल्ट युएस ओपन उपाधि जित्ने लक्ष्यमा रहेकी गौफले जेनिप सोनमेजलाई ६–३ र ६–४ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाइन्। दोस्रो सेटको मध्यतिर टर्कीकी सोनमेजले आफ्नो खेलको स्तर बढाएपछि उनीमाथि दबाब परेको थियो।
तर अमेरिकी खेलाडीले पुनः आफ्नो लय समात्दै खेल आफ्नो पक्षमा पारिन्।अब गौफले दोस्रो चरणमा पाउला बादोसा वा डारिया कसाट्किनामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछिन्। न्युयोर्कमा वर्षाले दिनलाई प्रभावित पारे पनि लुइस आर्मस्ट्रङ स्टेडियमभित्रको माहोल भने उत्साहपूर्ण नै रह्यो। सबैभन्दा पहिले फ्रान्सेली स्टार गेल मोनफिल्सले आफ्नो ४०औं जन्मदिनकै दिन जित निकाल्दै आफ्नो ग्रान्ड स्लाम यात्रालाई निरन्तरता दिए ।
खेलपछि समर्थकहरूले उनलाई जन्मदिनको शुभकामना दिँदै ‘ह्याप्पी बर्थडे’ गीत गाएका थिए।त्यसपछि कोर्टमा उत्रिएकी १७औं वरीयताकी एलेक्स एला पनि समर्थकलाई निराश पारिनन्। ठूलो संख्यामा उपस्थित फिलिपिनो समर्थकको समर्थनबिच एलाले मेरी स्टोइयानालाई ६–१, ६–२ ले हराइन्।
गत वर्ष फ्लसिङ मेडोज पुग्दा गौफको सबैभन्दा ठूलो समस्या उनको सर्भिस थियो।प्रतियोगिता सुरु हुनुअघि नै उनले नयाँ प्रशिक्षकसँग काम गर्न थालेकी थिइन् तर समस्या सुधार गर्न पर्याप्त समय थिएन। त्यसैले पहिलो खेलमै संघर्ष गर्नुपरेको थियो र चौथो चरणमा नाओमी ओसाकासँग सहजै पराजित हुँदै उनी प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।
यसपटक भने गौफ निकै फरक आत्मविश्वासका साथ युएस ओपनमा फर्किएकी छन्।उनले विम्बल्डन र टोरन्टोमा सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन्। युएस ओपनअघि सिनसिनाटीको उपाधि पनि जितेकी थिइन्। यी प्रदर्शनले उनलाई प्रतियोगिताको गम्भीर दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
गौफले सन् २०२३ मा पनि सिनसिनाटीको हार्ड कोर्ट प्रतियोगिताको उपाधि जितेकी थिइन्। त्यसपछि युएस ओपनको फाइनलमा आरिना साबालेन्कालाई पराजित गर्दै उनले करिअरको पहिलो ग्रान्ड स्लाम उपाधि जितिन्। त्यो उपाधिसँगै गफ सन् १९९९ मा सेरेना विलियम्सपछि यूएस ओपन जित्ने पहिलो अमेरिकी किशोरी बनेकी थिइन्।
प्रकाशित: १८ भाद्र २०८३ ०७:५९ बिहीबार





