दक्षिण अफ्रिकामाथि ऐतिहासिक जितसँगै पहिलो पटक विश्वकपको अन्तिम १६ मा पुगेपछि सहआयोजक क्यानडाका प्रशिक्षक जेसी मार्सले आफ्ना खेलाडी र प्रशिक्षक टोलीलाई मैदानको बिचमा भेला गरे।
अन्तिम सिट्टी बजेपछि त्यो ठुलो घेराभित्र उनले सम्बोधनमा आफ्ना खेलाडीलाई भने, ‘तपाईंहरू अब क्यानडाका नायक हुनुहुन्छ। तपाईंहरूकै कारण यस देशमा फुटबलको भविष्य अज उज्ज्वल बन्नेछ।’ भावनात्मक अभिव्यक्तिका लागि मार्स परिचित प्रशिक्षक हुन्। उनका भनाइ कहिलेकाहीँ अतिरञ्जित पनि लाग्न सक्छन्। यसपटक उनले व्यक्त गरेको भावना वास्तविकतासँग निकै नजिक देखिन्छ, किनभने विश्वकप २०२६ ले क्यानडामा फुटबलप्रतिको सोच नै परिवर्तन गर्न थालेको संकेत दिएको छ। दक्षिण अफ्रिकाविरुद्धको खेलअघि एक समर्थकले अब क्यानडामा यो खेललाई सकरभन्दा फुटबल भन्न थालिएको भनेका थिए। क्यानडा बिस्तारै फुटबल राष्ट्र बन्दै गरेको उनको आशय थियो।
दुई वर्षअघि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दा मार्सले यही परिवर्तन आफ्नो मुख्य लक्ष्य भएको बताएका थिए। त्यो बेला यस्तो सपना धेरैलाई असम्भवजस्तै लागेको थियो। किनभने क्यानडामा सबैभन्दा लोकप्रिय खेल भनेको आइस हकी नै हो। जारी विश्वकपको उद्घाटन मेक्सिकोमा भयो भने फाइनल अमेरिकामा हुनेछ। सुरुआतदेखि नै सबैको ध्यान अमेरिका र मेक्सिकोतर्पm केन्द्रित रहँदा सहआयोजक क्यानडा केही हदसम्म ओझेलमा रह्यो। तर क्यानडाले प्रचारभन्दा पनि प्रदर्शनमार्पmत आफ्नो उपस्थितिलाई बलियो बनाएको छ। राष्ट्रिय टोलीप्रतिको उत्साह र समर्थन दिन प्रतिदिन बढ्दै गयो। टोलीका कप्तान अल्फोन्सो डेभिस बायर्न म्युनिख र युइएफए च्याम्पियन्स लिगमा हजारौं समर्थकका बिच खेल्न अभ्यस्त छन्। तर आफ्नै देशमा विश्वकप सुरु भएपछि देखिएको माहोलले उनलाई पनि भावुक बनायो।
बोस्निया हर्जगोभिनाविरुद्धको उद्घाटन खेलअघि टोरन्टोमा रातो र सेतो जर्सी लगाएका हजारौं समर्थक देख्दा आफू रोएको उनले उल्लेख गरेका थिए। ‘मैले क्यानडामा फुटबल खेलका लागि यति धेरै समर्थक पहिले कहिल्यै देखेको थिइनँ। त्यो दृश्यले मेरो आँखा रसाएको थियो,‘ड ेभिसले दक्षिण अफ्रिकाविरुद्धको खेलअघि भनेका थिए। यस विश्वकपमा क्यानडाले गरेको प्रदर्शन आपैंmमा ऐतिहासिक रह्यो। विश्वकप सुरु हुनुअघि उसको इतिहास सुखद थिएन। क्यानडाले खेलेका सबै ६ खेल गुमाएको थियो। यसपटक पहिलो खेलमै हर्जगोभिनासँग बराबरी खेल्दै क्यानडाले विश्वकप इतिहासको पहिलो अंक जोड्यो। कतारलाई ६–० को फराकिलो अन्तरले हराउँदै क्यानडाले विश्वकप इतिहासकै पहिलो जित निकाल्यो र नकआउट चरणमा पनि स्थान सुरक्षित ग¥यो।
समूहचरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग पराजित भएपछि क्यानडाले अन्तिम ३२ को खेल आफ्नै भूमिमा खेल्ने अवसर भने गुमायो। त्यसका बावजुद हजारौं समर्थक अमेरिकाको लस एन्जलस पुगे र टोलीलाई साथ दिए। विश्वकप इतिहासमै पहिलोपल्ट आयोजक राष्ट्रले आफ्नो नकआउट खेल अर्को देशमा खेल्नुप¥यो। तर मैदानमा उपस्थित क्यानडेली समर्थकको संख्या र उत्साहका कारण वातावरण भने घरेलु टोलीकै जस्तो देखिन्थ्यो। दक्षिण अफ्रिकाले खेललाई पेनाल्टीसम्म लैजाने रणनीति अपनाए पनि क्यानडाले धैर्य गुमाएन। अन्ततः इन्जुरी समयमा स्टेफन युस्टाकियोले गरेको गोल निर्णायक बन्यो र क्यानडाले ऐतिहासिक सफलता पायो।
‘कतिपयले यसलाई देखावटी व्यवहार भन्छन्। तर मेरो ध्यान टोलीमा छ। खेल सकिएपछि सबै खेलाडी सञ्चारमाध्यम र अन्य गतिविधिमा व्यस्त हुन्छन्। त्यो क्षणलाई सँगै महसुस गर्ने अवसर त्यही बेला मात्र थियो,’ खेलपछि मैदानको बीचमा टोलीलाई भेला गर्नुको कारणबारे मार्सले भने,‘खेलाडीहरूलाई यो जित क्यानडाको फुटबल इतिहासका लागि कति ठूलो छ भन्ने महसुस गराउन चाहन्थें। भ्यानकुभरमा आफ्ना समर्थकमाझ यो सफलता मनाउन नपाउनु दुःखद हो।’ अब क्यानडाको अर्को चुनौती नेदरल्यान्ड्स वा मोरक्कोमध्ये एक टोलीसँग हुनेछ। विश्व वरीयतामा मोरक्को छैटौं र नेदरल्यान्ड्स सातौं स्थानमा रहेकाले आगामी यात्रा सहज हुने छैन। तर क्यानडाले यस विश्वकपमा अपेक्षाभन्दा धेरै राम्रो प्रदर्शन गरिसकेको अवस्थामा उसलाई फेरि अर्को आश्चर्यजनक नतिजा निकाल्न सक्ने टोलीका रूपमा हेरिएको छ।
‘१९९० को दशकमा म बुवासँग क्यानडाको खेल हेर्न जान्थेँ। त्यति बेला आफ्नै देशमा पनि क्यानडेली समर्थक अल्पमतमा हुन्थे। आज हजारौं समर्थक अमेरिका आएर टोलीलाई साथ दिएको देख्दा विश्वास नै लाग्दैन,’ समर्थक ह्यारीले भने। अर्का समर्थक सनको भनाइ पनि यस्तै छ। ‘टोरन्टोजस्ता सहरमा फुटबलको लोकप्रियता पहिलेदेखि नै थियो। अब यो उत्साह अन्य सहरमा पनि फैलियो भने क्यानडा साँच्चिकै फुटबल राष्ट्र बन्नेछ,’ उनले भने। प्रशिक्षक मार्स पनि अब आफ्नो टोलीले कुनै दबाबबिना खेल्ने विश्वास गर्छन्। ‘पछिल्ला वर्ष मोरक्को आधुनिक फुटबलको महाशक्ति बनेको छ। नेदरल्यान्ड्स दशकौंदेखि परम्परागत महाशक्ति हो। अब हामीसँग गुमाउन केही छैन। हामी जितका लागि मैदानमा उत्रिनेछौं। त्यसका लागि सक्दो प्रयास गर्नेछौं, जुनसुकै टोली आए पनि,’ मार्सले भनेका छन्।
प्रकाशित: १६ असार २०८३ ०७:५३ मंगलबार





